नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेल पोखरेल दोस्रोपटक शिक्षा मन्त्री बनेका छन् । पहिलोपटक शिक्षामन्त्री हुँदा शिक्षा ऐन संशोधन गरेर चर्चामा आएका पोखरेलको अहिले मन्त्री हुँदा के कस्ता योजना छन् त ? अहिले उनी शिक्षा र विज्ञान तथा प्रविधी मन्त्री हुन् । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले पोखरेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाई व्यस्त हुनुहुन्छ । तर शिक्षा क्षेत्र त अस्तव्यस्त छ नि ?
यो अस्तव्यस्तालाई सही दिशातर्फ लैजानका लागि म प्रयत्नरत छु । जनताका मागअनुसारका शिक्षा क्षेत्रमा गर्नुपर्ने कामहरु गर्नुपर्ने छ । संविधानले निर्दिष्ट गरेका कामहरु गर्नुपर्छ । नेपालको राजीतिक परिवर्तनअनुसारको शैक्षिक परिवर्तन भएको छैन । त्यसैले योजनाबद्ध ढंगले अगाडि बढ्दैछु । अहिले माध्यमिक शिक्षा परीक्षा एसइइको अनुगमनमा व्यस्त छु ।
पहिलाको एसएलसी, अहिलेको माध्यमिक शिक्षा परीक्षा एसइइप्रति उत्साह घटेको हो ?
हाम्रो दिमागमा परीक्षा भनेपछि चिट चोराउन जाने, भिडभाड गर्ने, अवाञ्छित काम गर्ने भन्ने हुन्छ । विद्यार्थी तथा निरिक्षकलाई नै निष्कासन गर्नुपर्ने जस्ता नकारात्मक पक्षको रौनक बढि हुने गर्दथ्यो । अहिले यस्ता विकृति कम हुँदै गएकाले र परीक्षा प्रणाली पनि परिवर्तन भएकाले रौनक घटेको जस्तो लागेको हो ।
भनेपछि एसइइको परीक्षामा चिट चोर्ने प्रवृत्ति घटेको हो ?
विद्यार्थी, अभिभावक र चिट चोराउने पक्षहरु परिवर्तन भएका छन् । परीक्षाको वातावरण पनि बदलिएको छ । तर परीक्षासँग सम्बन्धित भन्दा पनि समग्र शैक्षिक वातावरण निर्माणका लागि म केन्द्रित छु । अर्कोतिर लेटर ग्रेडिङ प्रणालीले माग गरेअनुसारको परीक्षा प्रणाली स्थापित भइसकेको छैन । यसका लागि अझै धेरै मिहिनेत गर्नुपर्ने छ । पढाउने पद्धतिमा पनि सुधार गर्नपर्ने छ ।
तपाईले भनेजस्तै पठनपाठन प्रणाली त निकै कमजोर छ नि । यसलाई कसरी सुधार गर्नुहुन्छ ?
पढ्ने र पढाउने कुरामा म सचेत छु । अहिले जस्तो हुनुपथ्र्यो, त्यस्तो छैन । पठनपाठनको जुन स्तर छ, जति बढ्नुपर्ने हो, जति मिहिनेत गर्नुपर्ने हो, त्यो भएको छैन । यसतर्फ म केन्द्रित छु । अहिले हामीले २८ सालको नीतिलाई टालटुल गर्दै यहाँसम्म आएका हौँ । हामीले सामान्य शिक्षालाई बढि जोड दियौँ । सिप र प्रविधिमा आधारित शिक्षालाई जोड दिन सकेका छैनौँ । अहिले पनि नेपालमा प्राविधिक धारको शिक्षाको योगदान सात प्रतिशत मात्रै छ । उत्पादन र रोजगारीसँग सम्बन्धित पढाई हुन पाएको छैन । अब हामीले नयाँ रणनीति बनाउनुपर्छ । माध्यमिक शिक्षा सकेको विद्यार्थीले कुनै एउटा काम गर्न सक्ने हुनुपर्छ । उच्च शिक्षा पढ्ने कि काम गर्ने भन्ने निर्णय लिन सक्ने अवस्था बनाउनुपर्छ ।
तपाईहरुले चुनावका बेला शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि विभिन्न योजना सार्वजनिक गर्नुभएको थियो । ति योजना पूरा गर्न सक्नुहुन्छ ?
हामी शिक्षा क्षेत्रको परिवर्तनका लागि रणनीतिक रुपमा अगाडि बढ्छौँ । सबै तहका शिक्षाको परिवर्तनका लागि म प्रतिवद्ध छु । निजी, सरकारी, गैर सरकारी, औपचारिक, अनौपचारिक लगायतका सबैखाले शिक्षालाई नीतिगत र संरचनागत रुपमा नै परिवर्तन गर्नुपर्ने हुन्छ । कपितपय अधिकारहरु प्रदेश सरकारलाई दिइएको छ । यसका लागि कानुनहरु पनि बनाउनुपर्ने छ । नयाँ नीति र व्यवस्थाका साथ हामी काम गर्छौँ ।
तपाई यसअघि पनि शिक्षामन्त्री भइसक्नुभएको हो । तपाईले शिक्षा क्षेत्रमा केके सुधार गर्नुभयो ?
म अघिल्लोपटक शिक्षामन्त्री हुँदा शिक्षा ऐन आठौँ संशोधन भयो । प्रारम्भिक वालशिक्षाको नाम दियौँ । ११ र १२ कक्षालाई विद्यालय शिक्षामा ल्यायौँ । प्राविधिक शिक्षालाई पनि १२ कक्षामा ल्यायौँ । कम्पनीअन्तरगर्न खोलिने विद्यालयलाई गुठीमा लग्यौँ । यही शिलशिलामा हामीले लेटर ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्ने व्यवस्था गर्यौँ । यसले विद्यार्थी आफैँ पढ्नुपर्ने, शिक्षकले विद्यार्थीको प्रतिभालाई प्रष्फुटन गर्नुपर्ने अवस्था सृजना गर्यौँ । शैक्षिक वातावरण त्यही अनुकूलको बनाउनुपर्ने भयो । यो दिशातर्फ गएपछिको समय सकारात्मक ढंगले अगाडि बढ्यो ।
पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुको मागका विषयका केही सोच्नुभएको छ ?
अघिल्लो पटक शिक्षा ऐन परिवर्तन हुँदा हामीले शिक्षकको अधिकारलाई सम्मान गरेका छौँ । तर एउटा युगबाट नयाँ युगमा प्रवेश गरेका छौँ । समय बदलिएको छ । यसमा सबैले साथ दिनुपर्छ । पुरानै तरिकाले जान सकिदैन । गुणमा आधारित शिक्षाको सम्भाहक त शिक्षकहरु नै हुन् । अहिलेको आवश्यकताअनुसारको शिक्षक तयार गर्नुपर्छ । आवश्यकताअनुसारको भूमिका शिक्षकलाई कसरी पुर्याउन सकिन्छ भन्ने नै हाम्रो उद्देश्य हो ।
अहिले शिक्षकहरुले गरेका मागहरु पूरा हुन नसक्नुका कारण के हुन् ?
शिक्षकका कुन कुन माग पूरा भएका छैनन् भन्ने विषयमा म मन्त्रालयमा बसेर छलफल गर्छु । योग्य, सुयोग्य, पढाउन सक्ने शिक्षकलाई शिक्षा प्रणालीमा राखौँ, नसक्नेहरुका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था लिएर आएका छौँ । मैले मेरो कार्यकालमा शिक्षाको आधारभूत र रणनैतिक परिवर्तन गरेर शिक्षकहरुलाई पनि साँच्चै शिक्षक बनाउने गरी काम गर्छु ।
शिक्षकको परीक्षा हुने नहुनेमा पनि विवाद छ । कसरी सुल्झाउनुहुन्छ ?
सबै सरकोकारवालासँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णयमा पुग्छु । मेरो कार्यकालमा सबैखाले समस्या समाधान गर्ने विषयमा म सचेत छु ।
पाठ्यपुस्तक समयमा विद्यार्थीको हातमा नपुग्ने समस्या वर्षौँदेखि दोहोरिने गरेको छ । यसपटक के छ अवस्था ?
हामी समयमा नै पाठ्यपुस्तक सबै ठाउँमा पुर्याउँछौँ । विद्यार्थीको हातमा पुर्याउनका लागि स्थानीय निकायले समन्वय गरिदिनुपर्छ । स्थानीय निकायले विद्यार्थी भर्ना भएकै दिन हातमा पुस्तक राखिदिनुपर्छ । यसका लागि म अनुरोध पनि गर्छ । हिजोको दिनमा जस्तो एजेन्टले चलखेल गर्ने र विद्यार्थीले पुस्तक नपाउने अवस्था आउँदैन ।
विद्यालय बाहिर रहेका तर विद्यालय जाने उमेरका बालबालिकाका बारेमा के सोच्नुभएको छ ?
विद्यालय जाने उमेरका बालबालिकाकालाई विद्यालयमा लैजानका लागि अभियान सुरु हुन्छ । प्रधानमन्त्रीदेखि सबै जनप्रतिनिधीलाई अभियानमा सहभागि गराउँछु । नयाँ दायित्वका लागि तयार हुन सबैलाई आग्रह गर्छु ।