Logo

प्रचण्डद्धारा पत्रकार धमला सम्मानित



काठमाडौं, १० चैत्र । चक्रपथ सरसफाई अभियानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई आज सम्मान गरिएको छ ।

ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औँ हप्ताको विशेष समारोहमा आज यहाँ आयोजित एक कार्यक्रममा पत्रकार धमला सम्मानित भएका हुन् । धमलालाई पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताउनुभएको छ ।

उक्त कार्यक्रममा सम्बाोधन गर्दै प्रचण्डले भने,‘सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज निर्माण हुन्छ।’ अध्यक्ष प्रचण्डले मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको बेला उक्त कार्यमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरे । सोच र विचारमा सफाइ भए मात्र देश विकास हुने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फोहर मानिसको शत्रु भएकाले यसको विरुद्धमा अभियान चलाउनु आवश्यक रहेको बताएका थिए ।
“जथाभावी फोहर फाल्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ,” उनले भने । गृहमन्त्रीले सार्वजनिक बसमा फोहर फाल्नेदेखि जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गर्ने पनि कडा चेतावनी दिए ।

सम्मानित भएपछि संक्षिप्त सम्बोधन गर्दै भने,‘सरसफाई मानव जीवनको लागि महत्वपूर्ण छ, परिवारमा पनि हामीले ध्यान दिनुपर्छ, घरको किचेन सफा गनुर्छ, घर सफा हुनुपर्यो, टोल छिमेक पनि सफा हुनुपर्यो, देश सफा हुनुपर्यो, कलंकी र कोटेश्वर भएर मानिसहरुको आवतजावत बाक्लो हुन्छ, अब रिङरोडलाई ग्रिन जोन बनाउनुपर्छ ।’

त्यस्तै धमाले आउने नयाँ वर्षलाई राष्ट्रिय सरसफाई घोषणा गर्न पनि सरकारसँग माँग गरे ।

विसं २०७४ वैशाख २ गतेबाट सञ्चालन भएको अभियानले हालसम्म ७५० भन्दा बढी मेट्रिक टन फोहर हटाइसकेको र अभियानमा २५ हजारको जनसहभागिता भइसकेको अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot