Logo

छाती रोग विशेषज्ञ अस्पतालको शिलान्यास



भक्तपुर, १० चैत  : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले संविधान कार्यान्वयन गर्ने दायित्व सरकारमा आएकाले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताउनु भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीले ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ आज ठिमीमा आयोजना गरेको यसवर्षको विश्व क्षयरोग दिवस—२०१८ कार्यक्रममा उहाँले संविधानमा व्यवस्था भएअनुसारको मौलिक अधिकारलाई सुनिश्चितता गर्ने बताउनुभयो ।

“सार्क राष्ट्रले सन् २०३० सम्ममा क्षयरोग निर्मूल गर्ने अठोटलाई नेपालले पनि प्रतिबद्धता जाहेर गरेको छ, यो संकल्पलाई प्रभावकारी ढंगले पूरा गर्न हामी सबैले प्रतिबद्धता जाहेर गछौँ”–राज्यमन्त्री अर्यालले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा आएका अनेकौँ समस्यालाई समाधान गर्न हामी आएका हौँ, त्यो पुरा हुन्छ ।”

सरकारले योजना र कार्यक्रम ल्याउँदैमा सफल नहुने बताउँदै उहाँले स्थानीय सरकार र जनस्तरबाटै प्रभावकारी ढंगले लाग्न सके मात्रै प्रतिबद्धता पूरा गर्न सकिने भएकाले स्थानीय सरकार यसका लागि बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

छाती रोग विशेषज्ञ अस्पतालको शिलान्यास

राज्यमन्त्री अर्यालले आजै छाती रोग विशेषज्ञ अस्पतालको समेत शिलान्यास गर्नुभएको छ । केन्द्रले रु २९ करोडको लागतमा निर्माण गर्न लागेको ३०० शय्याको छाती रोग विशेषज्ञ अस्पताल तीन वर्षभित्र संचालनमा आउने गरी नेपालमै पहिलो पटक निर्माण शुरु भएको हो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले क्षयरोग उन्मूलन गर्न सबै क्षेत्रबाट लाग्नु जरुरी रहेको बताउँदै स्वास्थ्य केन्द्रसम्म आउन नसकेका क्षयरोगका बिरामीलाई खोजी गरेर उपचारमा ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुर जिल्लालाई देश कै पहिलो क्षयरोगमुक्त जिल्ला बनाइने बताउनुभयो । उहाँले मानव अंग प्रत्यारोपण केन्द्रको भवन बनाउन भक्तपुरमा ४० रोपनी जग्गा उपलब्ध गराइदिन र भक्तपुर जिल्ला अस्पताललाई १०० शय्यामा विस्तार गरी आगामी तीन महिनाभित्र जनशक्तिको व्यवस्था गरिदिन उहाँले मन्त्रीसँग आग्रह गर्नुभयो ।

“भक्तपुरमा छाती रोग विशेषज्ञ अस्पताल बन्दैछ, मानव अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल, क्षयरोग अस्पताल, भक्तपुर अस्पताल यही जिल्लामा छ,”–बस्नेतले भन्नुभयो–“अब भक्तपुरलाई स्वास्थ्यको ‘हव’ बनाउनु पर्छ, भक्तपुरमा अब ७०० श्ययाको स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहीँबाट डाक्टर उत्पादन गर्ने जिल्ला बनाउनुपर्छ ।”

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा केदारनरसिंह केसीले नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको जानकारी दिँदै उहाँले आव २०७३÷०७४ मा ३१ हजार ७६४ नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचाररत रहेको जानकारी दिनुभयो ।

नेपालमा अझै १३ हजार नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै उहाँले नयाँ र पुराना गरी अझै २८ हजार बिरामीलाई उपचारको दायराभित्र ल्याउनुपर्ने बताउनुभयो ।

यसअवसरमा सार्क सचिवालयका महासचिव अम्जद हुसैन बि शियाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भान्डेलायर, मध्यपुर नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले क्षयरोग उन्मूलनमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । कार्यक्रममा एनटिए दीक्षा दक्ष र राणा समुन्द्र अवार्ड प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्