काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसको जारी केन्द्रिय कार्यसमिति बैठकमा आज शीर्ष नेताहरुवीच भनाभन चलेको छ । पोर्टफोलियोलाई लिएर शीर्ष नेताहरुले नै एक अर्कावीच मुख छोड्नेसम्मको स्थितिमा पुगको बैठकमा सहभागी एक नेताले जनाए ।
हालै सम्पन्न भएको चुनावमा पार्टीले नराम्रोसँग पराजय भोगेकोले चुनावी समिक्षा गर्न बसेको बैठकमा शीर्ष नेताहरुवीच भनाभन चलिरहेको छ । स्रोतका अनुसार आजको बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्का नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव गरेलगत्तै अर्को पक्षका नेताहरुले कडा प्रतिवाद गरेका थिए ।
हिजोबाट कांग्रेसको बैठक सुरु भएको हो । पहिलो बैठकमै पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेताकोलागि चुनाव लडेर पराजित बनेका नेता प्रकाशमान सिंहले श्रेष्ठलाई राखिएको मर्यादाक्रमको तिव्र विरोध गरे । उनले सबै नेताहरुको पोर्टफोलियो तोक्नुपर्ने अड्डी कसेपछि विरोध सुरु भएको एक नेताले बताए ।
सिंहले हिजोमात्रै पार्टी सभापति देउवाविरुद्ध हमला गरेका थिए । उनले नेतृत्वमाथि नै प्रश्न उठाएका छन् । आजपनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले देउवाको कार्यशैलीलाई लिएर प्रश्न तेर्साएका थिए ।
सभापति देउवाले पदाधिकारी पनि चाँडै मनोनित गर्ने तयारी थालेको उनी निकट उच्च स्रोतले जनायो । लामो समयदेखि कांग्रेसको पदाधिकारी रिक्त छ । देउवाले केन्द्रिय सदस्यमा आफ्नी पत्नी डा. आरजु देउवा राणालाई मनोनित गर्ने तयारी थालेको भन्दै असन्तुष्ट नेता सिंह लगायतका नेताहरु विरोध गर्ने पक्षमा उभिएका छन् ।