चैत ११, काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराइले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले एकताका लागि सबै तयारी पूरा भएको भन्दै उनले छिटै एकता हुने बताए ।
प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि नै एकता गर्ने प्रयास भइरहेको उनले बताए । एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले भ्रमणमा जाने हो भने
“भारत भ्रमणमा एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जाँदाखेरी महत्व ज्यादा हुने भएकाले भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको छ ।” उनले भने ।
यद्यपी वैशाख नौ गते पार्टी स्थापना दिवस भएकाले उक्त दिन एकताको तयारी हुन सक्ने भट्टराईले बताए ।
विवादका विषय मिलाउनका लागि बनेका दुईवटा कार्यदलले काम सकिसकेको भन्दै उनले अब एकता संयोजन समिति र दुवै पार्टीभित्र छलफल भएपछि कुरा टुङ्गिने दाबी गरे ।
जुन विषयमा अहिले सहमति हुन सक्दैन, त्यो विषयलाई महाधिवेशनले टुङ्गो लगाउने भट्टराईले बताए ।
पार्टी एकता गर्दा विचार र व्यक्ति दुवै कुराको व्यवस्थापन गरेर सार्थक रुपमा एकता गर्नुपर्ने उनको तर्क छ ।
नेता व्यवस्थापनका लागि विभिन्न कमिटि र विभागको आकार ठूलो हुन सक्ने उनले बताए ।
दुई दल एक हुँदा तीन सय पचास जनासम्मको केन्द्रिय समिति हुन सक्ने भट्टराईले बताए ।
“दुई दल एक हुँदा तीन सयभन्दा बढि सदस्यीय केन्द्रिय समिति हुनु जम्बो होइन । किनभने एमालेको दुई सय ६ र माओवादीको चारहजार सदस्यलाई मिलाउँदा तीन सयभन्दा बढि हुनु सामान्य हो ।” उनले भने ।
पोलिटव्यूरो सदस्य एक सयको हाराहारीमा हुने उनले बताएका छन् । स्थायी समिति सदस्य ४० जनाको हाराहारीमा बनाउन लागिएको जानकारी उनले दिए ।
स्थानीयदेखि केन्द्रसम्म सबै नेता कार्यकर्तालाई सम्मानपूर्वक व्यवस्थापन गरिने भट्टराईको दाबी छ ।
पार्टी एक भएपछि सशक्त कम्युनिष्ट दल बन्ने दाबी गर्दै उनले कम्तिमा २५ र बढिमा ५० वर्षसम्म देशको शासन संचालन गर्ने भट्टराईले बताए । ५० वर्षपछिको अहिले नै किन घोषणा गर्ने भनेर नभनिए पनि लामो समयसम्म कम्युनिष्ट शासन रहने उनको भनाई छ ।
नेपालको माटो कम्युनिष्टका लागि मलिलो भएको भट्टराईको तर्क छ ।
विगतमा एमाले र मओवादी दुवै दल एकता, फुट र विवाद भोगको पार्टी भएकाले अनुभवका आधारमा सकारात्मक भएर कम्युनिष्ट पार्टीलाई बलियो बनाउने उनको दाबी छ ।
नेमकिपा र राष्ट्रिय जनमोर्चालाई पनि पार्टी एकता प्रक्रियामा ल्याउन पहल गरिने उनले बताए ।