Logo

मेरो विषयमा विवाद छैन, रामचन्द्र पौडेलपछिको नेता बनिसकेँ : गोपालमान श्रेष्ठ



नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक चलिरहँदा अनेक किसिमका विवादहरु छताछुल्ल भइरहेका छन् । चुनावमा पार्टीले बेहोरेको पराजयको समिक्षा गर्न बसेको बैठकमा एक एक पक्षले सभापति देउवाको आलोचना गरेको छ भने अर्को पक्षले देउवाको बचाउ गरेको छ । यसैबिच शनिवारको बैठकमा नेताहरुको मर्यादाक्रमको विषयलाई लिएर पनि विवाद भयो । यसै विषयमा विवादका मुख्य पात्र गोपालमान श्रेष्ठसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले पार्टीभित्रको बरियताको विषयलाई लिएर विवाद गर्नुभएको हो ?
१२ औँ महाधिवशेनसम्म मेरो पोजिसन ठीक थियो । १३ औँ महाधिवेशनबाट मेरो पोजिसनमा गडबड गरियो । त्यसपछि मैले आफ्नो पोजिसनको बारेमा झगडा गरिरहेको थिएँ । बैठकमा उपस्थित भए पनि माइनुटमा हस्ताक्षर गरेको थिइन । ज्ञानेन्द्र बहादुर कार्कीको संयोजकत्वमा एक वर्ष पहिले समिति बनेको थियो । त्यो समितिले मेरो बारेमा हिजो उचित निर्णय दियो ।

उक्त समितिले के निर्णय दियो ?
पार्टी फुटेको बेला म उपसभापति थिएँ । पार्टी मिल्दा ६४ सालमा गिरिजाको पालामा पनि उपसभापति भएँ । रामचन्द्र पौडेलपछि मेरो नाम हुनुपर्नेमा यस पटक गल्ती भएकाले अब यथावत रामचन्द्रपछि मेरो नाम राख्ने भनेर समितिले निर्णय गरेको छ ।

तर यसमा सहमति छैन नि । अहिलेको अवस्थामा गोपालमान श्रेष्ठलाई रामचन्द्र पौडेलपछिको वरियतामा राख्न सकिदैन भनेका छन् नि ?
कसले भन्यो ? एकजना नेताले मभन्दा माथिल्लो बरियातामा बस्ने प्रयास गर्नुभएकभो थियो । मैले इन्कार गरेँ । अरु केही साथीहरुले किन एकजनाको मर्यादाक्रम मात्रै मिलएको, सबैको मिलाए हुन्थ्यो भन्नुभएको हो । तर मेरो विषयमा विवाद छैन । म रामचन्द्र पौडेलपछिको नेता बनिसकेँ ।

हैन, धेरै नेताले विरोध गरेको कुरा आइहेको छ ? प्रकाशमान सिंहले पनि आपत्ति जनाउनुभएको छ नि ?
बलबहादुर केसी पनि सिनियर हो । गोपालमानको मात्रै किन गरिएको भन्ने कुरा पनि आएको थियो । प्रकाशमान सिंहले बलजफती आफू सिनियर हुन खोजको थियो । प्रकाशमान मभन्दा सिनियर हुन सक्ने अवस्था नै छैन । अब पार्टीले नै मलाई शेरबहादुर र रामचन्द्रपछिको बरियातामा राखिसक्यो । म त प्रकाशमानको पिता गणेशमानसँग काम गरेको मान्छे हुँ ।

प्रकाशमानले टुइटमार्फत पनि विरोध गर्नुभएको छ । पार्टीको निर्वाचित महामन्त्री, उपप्रधानमन्त्री भइसकेको नेता हो नि प्रकाशमान त ?
महामन्त्री त उपसभापतिभन्दा माथि हुँदैन नि । उहाँले टुइट गर्दैमा केही फरक पर्दैन । आम जनता र साथीहरुले बुझ्नुभएको छ ।

अनि महामन्त्रीहरु नि ?
पदाधिकारीहरु त आ–आफ्नो पोजिसनमा भइहाल्नुहुन्छ नि ।

पछिल्लो समय शेरबहादुर देउवाले पार्टीभित्र तपाईलाई किन पोजिसन दिन चाहनुभएको हो ?
होइन, होइन । मेरो पोजिसन खोसिएको थियो । यसका लागि म लडिरहेको थिएँ । पोजिसन प्राप्त भएको हो । देउवाले दिनुभएको होइन । मेरो रगत पसिनाको पोजिसन हो । राजाले टेकओभर गर्दा प्रकाशमानजीलाई जेल हालेपछि मैले गरेको योगदानको फल हो । राजाको शाषनकालमा हत्केलामा प्राण राखेर हिँडेको मान्छे हुँ । पार्टी फुटेपछि शेरबहादुरलाई सर्वसम्मत सभापति बनाएको योगदानको कदर हो ।

तपाईहरु पदीय भागबण्डामा किन रुमल्लिनुहुन्छ ?
म पदको पछाडि लागेको छैन । समितिले अध्ययन गरेर मलाई मर्यादा दिएको हो । अरु नेताहरु पदको पछाडि लागेका छन् । चालिस प्रतिशतको भागबण्डा नखोजे हुन्छ नि । एक भएर जाउँ, यो तेरो यो मेरो नभने भइहाल्यो नि ।

सभापति देउवाले पार्टी राम्रोसँग चलाउन सक्नुभएन भन्ने आरोप लागेको छ नि ?
कसैले आरोप लगाउँदैमा हुन्छ ? तीनवटा चुनाव गराउन सफल हुनुभयो । संविधान कार्यान्वयनको नेतृत्व गर्नुभयो । अहिलेको अवस्थामा कम्युनिष्टहरु एक ठाउँमा उभिएको र आफ्नै साथीहरुले अन्तरघात गरेकाले पार्टीले चुनावमा हारेको हो । सभापतिका कारणले कांग्रेसले चुनाव हारेको होइन ।

देउवाले कसैलाई पनि समेट्न सक्नुभएको छैन नि ? गुटै गुटै छ ।
देउवाको कमजोरी भनेको गुटैपिच्छे भागबण्डा गर्दा गर्दै अहिले दुईजना उभिए पनि भाग दिनुपर्ने अवस्था छ । गुटलाई भाग लगाउँदा लगाउँदै गुटगत राजनीति झन मौलायो । अब भागबण्डाको अन्त्य गरेर एउटै बास्केटबाट निकाल्नुपर्छ । असल र योग्य मानिसहरुलाई अगाडि राख्नुपर्छ ।

अर्ली महाधिवेशनको अवाज उठेको छ । यसमा तपाईको विचार के छ ?
अर्ली महाधिवेशन गरेर के गर्ने ? जित्ने देउवाले नै हो ।



प्रतिक्रिया दिनुहोस्