काठमाडौं, ११ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच धेरै घनिष्ठ सम्बन्ध रहेको विश्वास दिलाएका छन् । उनले आफू र ओलीबीच अब केमेष्ट्री मिलेको स्पष्ट पारे ।
आज राति हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “धमलाको हमलामा” पत्रकार ऋषि धमलसँगको रोचक कुराकानीमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले गिरिजाप्रसाद कोइराला, माओवादी भनेको अब ईतिहाँसको उपज भएको पनि विश्वास दिलाए ।
प्रचण्डले अन्र्तवार्ताको क्रममा भनेका छन्,“व्यक्तिमा हेर्ने भन्दापनि राजनीतिक र ईतिहाँसलाई हेर्नुपर्छ, पहिलो कुरा गिरिजा कोइराला दशकौंदेखिको राजनीतिक संघर्षको उपज हो, गिरिजा त्यतिकै गिरिजा हुनुभएको होईन, र माओवादी आन्दोलनपनि राजनीतिक आन्दोलन र ईतिहाँसको एउटा उपज हो ।”
नेतृत्व हुनुको नाताले पहिलो भेटमै आफू र गिरिजाबीच एउटा विश्वासको वातावरण तयार भएको उनको विश्वास थियो । उनले भने,“उहाँले तपाई मलाई भरोषा गर्नुहोस्, अब मुलुक गणतन्त्रमा गयो भन्नुभएको थियो, सुरुवातमै उहाँले गणतन्त्र नेपालमा हुन्छ भन्नुभएको थियो। पहिलो भेटमै गिरिजासँग धेरै सहजता भयो, कतिसम्म भने उहाँ असाध्यै स्मोकर हुनुहुँदो रहेछ –पछि त छोड्नुभयो) मेरो पहिलो भेटमा उहाँ यति धेरै सिगरेट पिउनुहुँदोरहेछ, मैले पनि सिगरेट छोडेको थिईन्, उहाँ त धेरै बृद्ध, उहाँको अगाडि मैले चुरोट नखाउँ भन्ने लाग्यो, हुन त म पनि चुरोट पिउँथे, तपाई पिउनुहुन्छ त चुरोट भनेर उहाँले सोध्नुभयो, उहाँले नै सहज बनाईदिनुभयो, हामीले पहिलो भेटमै सिगरेट पिउँदै कुरा गरेका हौं, करिब २ घण्टा उहाँसँग कुराकानी भएको हो । भुमिगत कालमा त्यो पनि भारतमा कुराकानी भएको हो।”