Logo

खड्काको स्वास्थ्यलाभको कामना गर्दै ग्रहशान्ति चण्डीपाठ



दाङ, १२ चैत : पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना सहित दाङमा विभिन्न स्थानमा ग्रहशान्ति चण्डीपाठ गरिएको छ ।

विभिन्न स्वास्थ्य समस्याका कारण भारतको ओपोलो अस्पताल दिल्लीमा उपचाररत खड्काको शीघ्र स्वास्थ्यलाभको कामना सहित खड्काको गृहजिल्ला दाङका विभिन्न स्थानहरुमा शुभचिन्तकहरुले पूजापाठ गर्ने गरेका छन् ।

सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्वीकेश्वरी मन्दिरमा नेविसंघ दाङ साविक क्षेत्र नम्बर ३ ले ग्रहशान्ति चण्डीपाठ गरेको छ । सोमवार विहान ५ जना ब्राह्मणहरुद्धारा ग्रहशान्ति चण्डीपाठ गरिएका हो । त्यस अवसरमा कांग्रेसका नेता कार्यकर्ता एवं खड्काका शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

पूजापाठमा सहभागिहरु भवुक मुद्रामा देखिन्थे । जिल्लाको विकासदेखी राष्ट्रको विकाससम्ममा महत्वपूर्ण भूमीका निर्वाह गरेका नेता खड्काको उपचारमा सरकार र नेपाली कांग्रेस केन्द्रिय समिति मौन भएको भन्दै गम्भीर भएर लाग्न पूजापाठमा सहभागी नेताहरुले आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठले सामान्य विरामी हुदापनि सरकारी बजेटमा विदेशमा उपचारकालागि जाने व्यक्तीहरु सरकारको नेतृत्वमा हुदा पूर्व गृहमन्त्री खड्का गम्भीर विरामी हुदापनि मौन बसेको भन्दै ध्यान पुर्याउन अनुरोध गरे । आईसियूमा पूर्व गृहमन्त्री खड्काको उपचार भईरहेको समयमा पनि वर्तमान सरकार चुप लागेर बसेको भन्दै यस विषयमा सरकारको ध्यान जान आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, जिल्ला उपसभापति कमानसिंह भारति, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, नेविसंघका केन्द्रिय सदस्य भोला नेपाल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

नेविसंघ क्षेत्रीय सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण क्षेत्रीय सचिव लेखनाथ बुढाथोकीले गरेका थिए । खड्काको शीघ्रस्वास्थ्यलाभको कामना सहित दाङ लगायत राप्तीका विभिन्न जिल्लाहरुमा पूजापाठ भईरहेका छन् ।

यस अघी खड्काका शुभचिन्तकहरुले प्यूठानको स्वर्गद्धारी, सल्यानको खैरावाङ लगायत विभिन्न धार्मीक पिठहरुमा पूजापाठ गरेका छन् ।

कांग्रेस दाङले मंगलवार दिप प्रज्वलन गर्ने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले भारतको नयाँ दिल्लीमा उपचारार्थ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री खुम बहादुर खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मंगलवार घोराहीमा दिप प्रज्वलन गर्ने भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति कमानसिंह भारतिले आज सोमवार विज्ञप्ती जारी गर्दै मंगलवार बेलुकी ६ बजे घोराहीको विपी चोकमा गरिने दिप प्रज्वलन कार्यक्रममा सहभागि हुनकालागि कांग्रेसका सम्पूर्ण नेता तथा क्क्कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्