काठमाडौं, १२ चैत्र । नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारत नै हुने भएको स्पष्ट पारेका छन् ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले भने, “उहाँको पहिलो भ्रमण भारत नै हुन्छ, लगभग निश्चित भैसकेको छ, नेपाल भारत सम्बन्ध राम्रो बनाउनको लागि पनि यो आवश्यक छ, विगतमा भएका असमझदारी तोड्नको लागि उहाँ भारत पहिलो भ्रमणमा जानुहुन्छ ।”
त्यस्तै फरक प्रसँगमा उनले हालै युरोपियन युनियनले सार्वजनिक गरेको प्रतिवेदन स्वयम ईयुभित्रै विवाद रहेको समेत जनाए । उनले भने,”नेपाललाई दिएको टिप्पणीबारे स्वयम ईयुभित्रै विरोध छ । संविधान कार्यान्वयन भैसकेको अवस्थामा, ईयुले दिएको टिप्पणी गलत हो । हामीलाई पनि सूचनाहरु आएका छन्, ईयुको पछिल्लो कदम गलत हो भनेर स्वयम उहाँहरुभित्रै आवाज उठेको छ ।”