काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा अधिनायकवाद ल्याउने गम्भिर आरोप लगाएका छन् ।
जारी पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आज विशेष बोल्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भने,“कम्युनिष्टहरुको प्रचण्ड बहुमतको नेतृत्व गरेका ओली सरकारका प्रारम्भिक क्रियाकलापहरुले नै मुलुकमा अधिनायकवाद निम्त्याउँने संकेत देखिइसकेको छ । यो सरकार राज्यसत्ता कब्जाको गर्नेतर्फ अगाडि बढ्दैछ । न्यायपरिषदको सचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्नु अधिनायकबादको प्रवेशको पहिलो खुड्किलो हो ।”
कोइरालाले ओली सरकारले अब बिस्तारै थाहा नपाउने तरिकाले मिडिया सेन्सरसिप लगाउने आरोप लगाएका छन् । उनले भनेका छन्,“मिडियापछि, सुरक्षा निकाय कब्जा गर्छ । काँग्रेसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन ।’
उनले निर्वाचनमा काँग्रेस हारका कारणहरु समेत आजको बैठकमा पेश गरेका छन् ।
= एमाले र माओवादीले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर जानु,
= सभापतिले माओवादीप्रति पुरै भरोसा गर्नु,
= अनाबश्यक रुपमा लोकतान्त्रिक गठबन्धन बनाउनु,
= प्रहरी प्रमुखको नियुक्ति प्रकरण,
= महाअभियोग प्रकरण
= र, राजदुत नियुक्तिमा आर्थिक चलखेल हुनु