चैत १३, काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाललाई समृद्धिको दिशातर्फ लैजानका लागि चुनौति भए पनि सबै मिल्यो भने सम्भव हुने बताएका छन् ।
काम गर्नका लागि योग्य व्यक्तिहरुको टिम बनाएर अघि बढ्ने हो भने विकास र समृद्धि सम्भव हुने शर्माको तर्क छ ।
सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेट्दा देशमा भ्रष्टाचार रोक्ने प्रतिवद्धता व्यक्त गरेको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीको बोलीप्रति अहिले विश्वास गरिएको र समयक्रमसँगै व्यवहारिक रुपमा हेरिने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष शर्माले नेपालमा उत्साहका साथ लागनी बढ्ने र नेपालीहरुले काम गरेर खाने वातावरण सृजना हुनेमा विश्वास गरिएको बताए ।
पछिल्लो समय नेपालका स्तर यथास्थानमा समेत रहन नसकेर खस्किएको शर्माको बुझाई छ । तर केही पनि सम्भव छैन भनेर नकारात्मक सोच भने हटाउनुपर्ने उनको सुझाब छ ।
उद्योग परिसंघले थिङ्क ट्याङ्क गठन गरेर विकास र समृद्धिका बारेमा धेरै बहस गरेको उल्लेख गर्दै शर्माले त्यसका लागि प्रतिवेदनसमेत बनाइएको बताए ।
प्रतिवेदन उदृत गर्दे शर्माले भने, “विकासका लागि सरकार सुध्रिनुपर्छ । जनता पनि सुध्रिनुपर्छ । कुरा मात्रै गरेर भएन । हामी पनि इमानदार बन्नुपर्छ ।”
हरेक क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई जोड दिनुपर्ने उनको भनाई छ । “पर्यटनको सम्भावना छ भनेर मात्रै हुँदैन, पर्यटन बढाउनका लागि बाटोघाटो बनाउनुपर्छ, विमानस्थल विस्तार गर्नुपर्छ ।” उनले भने ।
पछिल्लो समय शेयरबजारमा आएको गिरावटलाई शर्माले पद्धतिमा भएको गल्ती औँल्याएका छन् । नेपालको मुद्रा बजारमा भएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ । “कुनै एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन । सिस्टम सुधार गर्नुपर्छ ।”
आफूहरुले धेरै पहिलेदेखि नीतिगत सुधार गर्नुपर्ने सुझाब सरकारलाई दिदै आएको उल्लेख गर्दै उनले कार्यान्वयन गर्नमा सरकार असफल भएको बताए ।