Logo

युरोपेली युनियनले हस्तक्षेप गरेको होइन, सुझाब दिएको हो : राजेन्द्र श्रेष्ठ



चैत १३, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सहभागि हुनेभन्दा संविधान संशोधनको एजेण्डा प्रमुख रहेको बताएका छन् ।

आफूहरुका लागि सरकारभन्दा पहिलो प्राथमिकता संविधान संशोधन नै रहेको उनको स्पस्टोक्ति छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले संविधान संशोधनसँग सम्बन्धित राजनीतिक सम्झौता भएपछि मात्रै सरकारमा सहभागि हुने बताए ।

संविधान संशोधन गर्न सरकार तयार नुहुने हो भने जनताको म्याण्डेटअनुसार सरकार चलाउन श्रेष्ठले सरकारलाई सुझाब दिए ।

“संविधान संशोधनसँग सम्बन्धित राजनीतिक सम्झौता नभएसम्म हामी सरकारमा सहभागि हुँदैनौँ । संविधान संशोधनका लागि हामीले उठाएका विविध सरोकारका विषयमा एमाले, माओवादी र फोरमबिचमा विश्वास र सहमति चाहिन्छ ।” श्रेष्ठले भने ।

फरक प्रसङ्गमा श्रेष्ठले युरोपेली युनियनले सार्वजनिक गरेको प्रतिवेदनप्रति लक्षित गर्दै नेपालको अखण्डता र सार्वभौमिकता माथि कसैले पनि हस्तक्षप गर्न नमिल्ने बताए । आन्तरिक मामिलामा हुने हस्तक्षेप सहन नसकिने तर इयुले हस्तक्षेप नगरेको, सुझाब मात्रै दिएको श्रेष्ठको तर्क छ ।

विश्वको कुनै पनि मुलुकले हाम्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको खण्डमा भने विरोध गरिने श्रेष्ठले बताए ।

“इयुले दिएको सुझाब हो । त्यो भन्दा बढि यो गर भनेर निर्देशन दिन मिल्दैन । अहिले पनि निर्देशन दिएको होइन । पर्यवेक्षण गर्न दिने तर प्रतिवेदन र सुझाबको विरोध गर्ने हो भने अबदेखि पर्यवेक्षण गर्नै दिनुहुँदैन । ” श्रेष्ठले भने ।



प्रतिक्रिया दिनुहोस्