Logo

प्रधानमन्त्रीले भारत भ्रमणमा लगानी बढाउनेगरि कुरा गर्नुपर्छ : डा. शर्मा



काठमाडौं, १४ चैत्र । पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिए । कलकता र विसखापटन बन्दरगाहा निर्वाद रुपमा चल्नुपर्ने शर्माको भनाई थियो ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल आफ्नो प्राथमिकतामा चुक्न नहुने धारणा राखे । उनले भारतीय सामानहरु नेपाल दुई दिनभित्रै आउन सक्ने वातावरण बनाउनुपर्ने र नेपालका सामानहरु बढिभन्दा बढि भारत निर्यात गर्नतिर जोड दिनुपर्ने बताए ।

लगानी भन्ने कुरा पानीजस्तै भएकोले आगामी दिनमा नेपालले उद्योग, कलकारखाना खोल्नको लागि र सञ्चालनको लागि कम्प्युटराईज्ड गर्नतिर ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘अब हामीले अनलाईन सेवामा केन्द्रित हुनुपर्छ, फाईल लिएर कर्मचारीसँग पुग्न नपरोस्।’

चीन र भारत नेपालका असल मित्रराष्ट्र भएकोले नेपालले अब दुवै छिमेकी मित्रराष्ट्रसँग निर्यात बढाउनुपर्ने पनि उनले सुझाए । उनले भने,‘नेपालबाट निर्यात १ रुपैयाँको हुँदा आयात १४ रुपैयाँको छ, अब हामीले निर्यात बढाउनुपर्छ।’

नेपालको आर्थिक वृद्धिदरको आधार नै कषि, जलस्रोत, पर्यटन भएकोले सरकारले यही अनुसार आफ्ना प्राथमिकताहरु अघि बढाउनुपर्ने सुझाव दिए । यद्धपी उनले प्राथमिकतामा राखिएका कार्यक्रमहरु कार्यान्वयन नभएकोले अब त्यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले कृषिमा २१ प्रतिशत जमिनमा वर्षैभरि खेति हुने भएकोले अब यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताए । ‘यसले गर्दा प्रदेश नम्बर २ को समृद्धि हाँसिल गर्न मद्दत पुग्छ।’–उनले भने । शर्माले ७ वटै प्रदेशमा उद्योग तथा कलकारखाना खोल्ने उद्देश्यले करिब ७ हजार बिघा जमिन तयारी अवस्थामा रहेकोले यसको लागि बाटो घाटोमा जोड दिनुपर्ने बताए ।

उनले नेपालले यो आगामी चार वर्षभित्रै नीजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाईसकेर प्लेन ल्याउनुपर्नेमा जोड दिए । त्यस्तै भैरहवा र पोखराको विमानस्थल पनि पनि चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

शर्माले मुलुक संघीय संरचनामा गएकोले खर्च ३०० देखि ३५० अर्बसम्म प्रत्येक वर्ष थपिने भएकोले सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए । उनले थपे,‘पुँजीगत खर्च हुन सक्दैन, अत्यन्तै कम छ, अब यसलाई बढाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्