Logo

बैतडीमा कांग्रेस हिजो पनि बलियो थियो, आज पनि बलियो छ, भोली पनि बलियै रहनेछ : रमेश पाण्डे



भर्खरै जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सकिएको छ । उक्त सम्मेलनको खास उद्देश्य के थियो ?
२०७३ सालमा संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमामा जिल्ला कोषाध्यक्षहरुको प्रथम राष्ट्रिय सम्मेलन गरेका थियौँ । जिल्लाको कोषलाई कसरी पारदर्शी र व्यवस्थित बनाउने भन्ने एजेण्डाका साथ सम्मेलन गरेका थियौँ । जिल्ला संगठनलाई कसरी मलजल दिने भन्ने अर्को लक्ष्य थियो । अहिले पार्टीभित्र छताछुल्ल हुने गरी शीर्ष नेताहरुबिच आरोप–प्रत्यारोप हुने गरेको छ, अलगअलग मञ्चबाट नेताहरुबिच हुने आरोप–प्रत्यारोपको अन्त्य होस भनेर हामीले एउटै मञ्चमा शीर्ष नेताहरुलाई बोलाएका हौँ । यसपटकको सम्मेलनमा शीर्ष नेताहरुलाई एकै ठाउँमा बसेर आरोप प्रत्यारोप भन्दा पनि समस्या समाधानको बाटो खोजियोस भन्ने हाम्रो उद्देश्य थियो ।

नेताहरुबिचको मनमुटाव कम गर्न सम्मेलन कति फलदायी भयो ?
हामीले सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई सहभागि गरायौँ । भेलामा सहभागि हुने क्रममा नेताहरु सँगै बास बस्नुभयो । मन माझिने गरी गफ गर्नुभयो । पार्टीलाई कसरी एकतावद्ध बनाएर अगाडि लैजाने भन्ने विषयमा छलफल गर्नुभयो । यसलाई हामीले उपलब्धिको रुपमा लिएका छौँ ।

पार्टीको निर्णय तहमा जिल्ला कार्यसमितिको भूमिका कमजोर देखिन्छ । यससम्बन्धमा कुनै छलफल भएन ?
पार्टीको महासमितिको बैठक छिटै हुँदैछ । उक्त बैठकले विधान संशोधन गर्नुपर्ने छ । देश संघीयतामा गइसकेको अवस्थामा पनि कांग्रेसको संरचना पुरानै छ । यसलाई संघियताअनुसारको बनाउनका लागि विधान संशोधन गर्नुपर्छ । विधान संशोधनका लागि महासमितिको बैठक बस्नुपर्छ । उक्त बैठकमा जिल्ला कार्यसमितिका कोषाध्यक्ष र सचिवहरुलाई आमन्त्रित सदस्यको रुपमा राखिनुपर्छ भन्ने माग गरेका छौँ । सभापति देउवाले उक्त माग पूरा गर्ने बाचा दिनुभएको छ ।

जिल्ला कार्यसमिति बैतडिले केकस्ता गतिविधी गर्दै आएको छ ?
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले निरन्तर रुपमा आफ्ना कामहरु गर्दै आएको छ । मासिक रुपमा बैठक बस्ने गरेका छौँ । लोकतान्त्रिक चारतारे चौतारी कार्यक्रम गर्दै आएका छौँ । यस कार्यक्रमले संगठनलाई मजबुत बनाउने काम गरेको छ । कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले गत फागुन १३ र १४ गते बैतडिमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गरियो । स्वर्गीय महेन्द्र नारायण निधीको ९६ औँ जन्मजयन्तिको अवसरमा गरिएको उक्त कार्यक्रम फलदायी भयो । जिल्लाको ८४ वटा वडाबाट कम्तिमा एकजना महिलासहित तीन जनाको सहभागि थियो । अन्य भातृ संगठन, जिल्ला र नगरसमितिबाट प्रतिनिधित्व थियो ।

यस्ता प्रशिक्षण कार्यक्रम बैतडिमा मात्रै हुने हो ?
कोषलाई संगठन निर्माणमा कसरी परिचालन गर्ने भन्ने विषयमा सबै जिल्लाका कोषाध्यक्षहरु सचेत छन् । त्यसैले संगठन कमजोर भएका प्रत्येक जिल्लामा यस्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लक्ष्य छ ।

स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसभित्र गुटगत राजनीति छ । बैतडिमा कस्तो छ ?
केन्द्रमा भएको समुहगत राजनीतिले जिल्लामा पनि प्रभाव त पारिहाल्छ । तर केन्द्रमा जस्तो छताछुल्ल हुने गरी बैतडि जिल्लामा गुटगत राजनीति छैन । गुटगत राजनीति गर्ने साथीहरु एक्लिदै गएका छन् । पार्टीभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्ने प्रवृत्ति कम हुदै गएको छ ।

आगामी दिनमा बैतडी जिल्लामा कांग्रेसको संगठन बलियो हुन्छ भन्ने आधार छ ?
बैतडीमा कांग्रेस हिजो पनि बलियो थियो, आज पनि बलियो छ, भोली पनि बलियै रहनेछ । गत चुनावमा पार्टीका उम्मेदवारले हार्नुको कारण वाम गठबन्धन भएर हो । कांग्रेसको संगठन कमजोर भएर होइन । ७० सालमाभन्दा अहिले कांग्रेसको भोट बढेको छ ।

पार्टीको नेतृत्व तहलाई के सुझाब दिन चाहनुहुन्छ ?
कांग्रेस रह्यो भने हामी रहन्छौँ । समस्या परेका बेला व्यक्तिलाई भन्दा पनि पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । नेतृत्व तहले देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्ने हो भने कांग्रेसको भविष्य उज्ज्वल छ । जब कांग्रेसको भविष्य बन्छ, तब सबै नेताहरुको भविष्य बन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot