चैत १५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एनपी साउदले केन्द्रिय समिति बैठक सौहार्दपूर्ण वातावरणमा बैठक चलिरहेको बताएका छन् ।
बैठकमा निर्वाचनको समिक्षा हुँदा चित्त नबुझेका कुराहरु राख्दा आरोप प्रत्यारोप जस्तो देखिए पनि त्यसलाई अन्यथा लिन नहुने साउदको तर्क छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै साउदले समग्रमा निर्वाचनको समिक्षा भइरहेको बताए ।
केही नेताहरुले पार्टीले चुनावमा हार्नुको कारण सभापति शेरबहादुर देउवा भएको आरोप लगाए पनि आम केन्द्रिय सदस्यहरुले देउवालाई दोष नलगाएको साउदले जिकिर गरे ।
निर्वाचन हार्नुको कारण धेरै छन् । तिमध्ये मुख्य प्रभावकारी कारण एमाले र माओवादीबिचको गठबन्धन न भएको साउदको भनाई छ ।
“कांग्रेसको सबैभन्दा बढि अनुभवि व्यक्ति सभापति हुनुहुन्छ । तत्कालिन अवस्थामा प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रशासनिक र राजनीतिक अनुभव थियो । व्यक्तिगत रुपमा जेलनेलको पनि अनुभव थियो । राजनीतिक विचारधारामा प्रतिवद्ध हुनुहुन्थ्यो । त्यसैले नेतृत्व कमजोर भएको भन्न मिल्दैन ।” साउदले भने ।
निर्वाचन हार्नुको कारण सभापति देउवा नभै अन्य कारणहरु भएको उनको दाबी छ ।
नेतृत्वको चाकडी किन गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा साउदले भने, “नेतृत्वको चाकडीको कुरा कहाँबाट आयो ? हार्ने कारण अरु नै छन् भन्दा भन्दै कसरी देउवालाई दोष दिने?”
शेरबहादुर देउवाको आलोचना गर्न तपाईलाई त्यति गाह्रो ? धमलाको अर्को प्रश्न तेर्सियो । अनि साउदले भने, “काग्रेसभित्र धेरै गुट छन् । विरासतको रुपमा लामोसमयदेखि चल्दै आएको छ । यस्तो प्रवृत्तिको अन्त्य गर्नु हाम्रो चुनौति हो । तर निर्वाचको समिक्षा गर्दा वस्तुपरक ढंगले नै गर्नुपर्छ ।”
सभापति बदल्नासाथ निर्वाचनको परिणाम नबदलिने भन्दै उनले नेतृत्व परिवर्तनको माग जायज नभएको बताए ।
सभापति परिवर्तनका लागि विधानअनुसार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था हुँदाहुँदै अहिले नै नेतृत्व परिवर्तनको कुरा गर्नु उचित नहुने उनको तर्क छ ।