काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी अप्रिल ६ तारिख अर्थात चैत २३ गतेदेखि हुने निश्चित भएको छ । यसअघि पनि चैत २३ गतेदेखि भ्रमण हुने भनिएपनि सरकारले आधिकारिक रुपमा अहिलेसम्म भ्रमण–तालिका सार्वजनिक गरेको छैन ।
तर प्रधानमन्त्री निकट उच्च सुत्रले दिएको जानकारी अनुसार तीन दिने भ्रमण चैत २३ गतेदेखि नै गर्ने तयारी भैरहेको छ ।प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारत सरकारले पनि भव्य तयारी गरेको बताईएको छ । यता प्रधानमन्त्री ओलीले पनि आन्तरिक रुपमा तयारी तिब्र पारेका छन् ।
यसपटकको भ्रमण विगतको जस्तो धेरै दिन बस्नेगरी नहुने र छलफलका एजेण्डा पनि उपलब्धिमुल बनाउने दाबी गरिएको छ । रिपोर्टर्स क्लब नेपालले हिजो बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा एमाले नेता डा. राजन भट्टराईले भनेका थिए,‘यसपटक प्रधानमन्त्रीले धेरै विषयमा छलफल गर्नेभन्दा पनि थोरै तर महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ।’
भारतसँग प्रधानमन्त्री ओलीले राजनीतिकभन्दा बढि आर्थिक एजेण्डालाई प्राथमिकता दिने उनले जनाएका थिए ।