Logo

राष्ट्रपति बग्गीमा संसद भवन जाँदै, सर्वसाधरण खुशी पनि बेखुशी पनि !



काठमाडौं, १५ चैत्र । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दैछिन् । राष्ट्रपति भण्डारी बग्गी चढेर संसद भवन जाँदैछिन् । यो विषयले अहिले जनतामा दुई किसिमको भावना छाएको छ । एउटा, नेपालको राष्ट्रपतिलाई सडकमा बसेर सर्वसाधारणले हेर्न पाउने भएका छन् । उनलाई प्रत्यक्ष हेर्नको लागि ठूलो संख्यामा सर्वसाधरणहरु सडकमा उत्रिने सम्भावना देखिएको छ ।

तर केही जनता भने उनको सवारीलाई लिएर निराश देखिएका छन् । उनको कारणले आफूहरुले सास्ती पाउने उनीहरुको बुझाई छ । संसद सचिवालयले दिएको जानकारी अनुसार सवारीका बेला शितलनिवास–लाजिम्पाट–जमल–भद्रकाली– सिंहदरबार–बानेश्वर रूटमा यातायात रोकिने भएका छन् । यसले जनतामा निराशा छाएको छ ।

नेपाल प्रहरीका अनुसार आज अपरान्ह ४ बजेका लागि तय भएको सम्बोधन लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार, बिजुलीबजार हुँदै बानेश्वर जानेछन्। बिजुली बजार पुगेपछि राष्ट्रपतिको सवार गाडीको दुबैतिर दुईटा बग्गी पनि सँगै जानेछन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘बानेश्वरस्थित एभरेस्ट होटल नजिकैसम्म उहाँ आफ्नै कार्गेटमा जानुहुन्छ। त्यहाँदेखि बग्गीमा चढेर संसद भवनसम्म जानुहुन्छ।’

नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वा्चित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन्।

संसद भवन परिसर अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन्। सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुनेछैन। सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ।

संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : प्रदीपराज वन्त, रासस



प्रतिक्रिया दिनुहोस्