Logo

‘म पनि धुम्रपान छोड्छु तपाईहरु पनि छोड्नुहोस्’



कल्पना पौडेल : काठमाडौँ १५ चैत/ “म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्”, टोेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भन्नुभयो । प्रमुख अधिकारीले राम्रो कामको शुरुवात आफँैबाट गर्नुपर्ने भन्दै धुम्रपान छाड्ने प्रतिबद्धता गर्दै नगरवासीलाई पनि छाड्न आग्रह गर्नुभएको हो ।

मुटु, क्यान्सरजस्ता कडा रोगको जोखिमबाट बच्न सबैभन्दा पहिले धुम्रपान त्याग्नुपर्ने उहाँको भनाइ छ । नगरवासीलाई धुम्रपानका कारण हुने मुटु र क्यान्सरबारे जानकारी दिन आज टोखा नगरपालिका र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजना, र माछापुच्छ्रे बैंकको प्रयोजनामा टोखामा भएको जनचेतना कार्यक्रममा मुटु र क्यान्सर रोगबारे विशेषज्ञ चिकित्सकले जानकारी गराउनुभएको थियो ।

जनचेतना कार्यक्रममा टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी निर्देशक महेश ढकालले सुर्तिजन्य पर्दाथ छोड्ने व्यक्तिलाई बैैंकमा खाता खोल्दा अरुलाई दिँदैआएको भन्दा एक प्रतिशत थप व्याज दिने घोषणा गर्नुभयो ।

मनमोहन कार्डियोभास्कुरा सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराईले नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीकहाँ दिनप्रतिदिन मुटुका बिरामी बढिरहेका छन् तर सोहीअनुसार मुटुरोग उपचार गर्ने सेन्टर अभाव छ, हामीलाई कम्तिमा पनि ३५ वटा मुटुरोग उपचार गर्ने सेन्टर आवश्यक छ तर २ वटा मात्रले मात्र काम चलाउनुपरेको स्थिति छ, विशेषज्ञ चिकित्सकको पनि अभाव छ ।”

डा भट्टाराईले मुटुका ९५ प्रतिशत रोगको उपचार नेपालमै सम्भव भएकाले विदेश गई उपचार गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । वीर अस्पतालका क्यान्सर रोग विशषज्ञ प्रा डा विष्णुदत्त पौडेलले धेरै क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्ने बताउनुभयो ।

क्यान्सरबारे पर्याप्त जानकारी नहुदाँ उपचारबाट निको हुने रोग पनि मृत्युमा फेरिने बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख भएकोले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताउनुभयो ।

नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छातीको, जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ । सरकारीस्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादनमै कमी, जथाभाबी बिक्रीवितरणमै नियन्त्रण गर्न उहाँले आग्रह गर्नुभयो । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमति जाँच, मद्यपान नियन्त्रण गर्न सकेमा क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।

सुर्तीजन्य पदार्थविरुद्ध अभियान सञ्चालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले ८० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पर्दाथको प्रयोग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक दिन ४२ जनाको मत्यु क्यान्सरले हुन्छ भने २५ हजार नयाँ क्यान्सर रोगी बर्षेनी थपिन्छन्, त्यसैले सुर्तीजन्य पर्दाथको प्रयोगलाई निरुत्साहित गर्नु आवश्यक छ ।” उहाँले सूर्तिजन्य पदार्थ विरुद्धको ऐन, २०६८ प्रभावकारी कार्यान्वनमा सरकारी संयन्त्रले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्