कैलाली, १६ चैत । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले राजदूत पुरीले प्रदेश नम्बर ७ का जनता र भारतको उत्तराखण्डका जनताले पाँच हजार मेगावाटको पञ्चेश्वर आयोजनाको निर्माण भए विकास र समृद्धिका लागि अर्को पुस्तासम्म पर्खिनु नपर्ने बताएका छन् ।
यही पुस्ताले विकास, समृद्धि महसुस गर्ने बताउदै उनले पञ्चेश्वर आयोजनाले यहाँको विकासमा कायापलट गर्ने निश्चित रहेको बताए ।
धनगढीमा व्यवसायीहरुसँगको छलफलमा राजदूत पुरीले यस्तो कुरा बताएका हुन् । धनगढीको सुविधाका लागि गौरीफन्टा नाकालाई स्तरोन्नति गर्न असम्भव रहेको बताउँदै राजदूत पुरीले दुधवा नेशनल पार्क वन्यजन्तु र वातावरणीय दृष्टिकोणबाट अत्यन्त समवेदनशील भएकोले त्यसलाई प्रभावित हुने गरी दुधुवा नेशनल पार्क्भित्र नाका र सडक स्तरोन्नति कार्य हुन नसक्ने स्पष्ट पारेका हुन् ।
सडक चौडा वा स्तरोन्नति नहुने बताउँदै राजदूत पुरीले दोधरा चाँदनीको विकास हुन सक्ने बताए । दोधरा चाँदनीमा सुख्खा बन्दरगाह र त्यहाँसम्म भारतीय रेल सेवा विस्तार भए पश्चिम नेपाल भारतको दिल्ली र मुम्बईसँग जोडिने पुरीको भनाइ थियो ।
२० वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजनालाई साकार बनाउन आफूले पहल गरिरहेको उनले बताए । उनले धनगढी विमानस्थलको स्तरोन्नति र विकासको प्रशंसा गर्दै वर्तमान अवस्थामा जेटले उडान भरिरहेको भए पनि विमानस्थलको थप स्तरोन्नति भए ठूला जहाजले पनि उडान भर्ने विश्वास ब्यक्त गरे ।
राजदुत पुरीले हवाई र रेल सम्पर्क गर्न सकिए प्रदेश ७ को विकास छोटो समयमा सम्भव हुने बताए ।