जनकपुरधाम, १६ चैत / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सडक र रेल सञ्जाल निर्माणको गृहकार्य गरिरहेको बताउनुभएको छ ।
प्रेस चौतारी धनुषा शाखाद्वारा जनकपुर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रथम चरणमा रेलमार्ग, हुलाकी सडक र तराई दु्रतमार्ग निर्माणको कार्यलाई अघि बढाउनका लागि गृहकार्यमा लागेको बताउँदै आगामी पाँच वर्षभित्र मधेसका ग्रामीण सडकमा कालोपत्रे सम्पन्न गर्ने योजना कार्यान्वयनको तयारी भइरहेको जानकारी दिनुभयो ।
जनकपुरधामको विकासका लागि विशेष योजना कार्यान्वयनको गृहकार्य भइरहेको जानकारी गराउँदै उहाँले सरकार जनकपुरधाममा भएका कार्यालयहरूलाई अन्यत्र सार्न उद्यत रहेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले सरकार मधेसको हित हुने गरी संविधान संशोधनको पक्षमा रहेको स्पष्ट गर्दै मधेसवादी दल आफ्नै आन्तरिक कारणले सरकारमा सहभागी हुन नसकेको जानकारी दिनुभयो ।