काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासमा भारत सँधै सहयोगीको भूमिकामा रहने विश्वास दिलाएका छन् । शनिबार राष्ट्रिय सभागृहमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह–२०७४ मा सम्बोधन प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ गतेदेखि आफू भारत भ्रमणमा जान लागेको जानकारी दिँदै उक्त भ्रमणले दुई देशबीचको सहकार्य झनै बढ्ने बताए ।
“म छिटै भारत भ्रमणमा जाँदैछु । हामी एकतावद्ध भएर विकासका बाटामा हिँड्नुपर्छ । हाम्रो सम्बन्ध अझै बढ्ता सुमधुर बनाउनका लागि म भारत जाँदैछु ।” उनले थपे । त्यस्तै अर्को छिमेकी मित्रराष्ट्र चीनसँगको सम्बन्ध पनि अत्यन्तै राम्रो भएको बताउँदै ओलीले नेपाललाई सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारे ।
भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने दाबी गर्दै ओलीले नेपाललाई छिमेकीहरुसँग मिलेर समृद्धिको यात्रामा अगाडि बढाउने पनि विश्वास दिलाए ।
“दुई देशसँग सहकार्य गरेर अचम्म लाग्नेगरी विकासको गतिलाई हामी तिब्रता दिन्छौँ । होइन भने, दिगो विकासको लक्ष्य पूरा गर्न सक्दैनाँै।”–ओलीले भने ।
आगामी तीन वर्षभित्रमा कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुनुपर्ने लक्ष्य स्मरण गराउँदै प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न सकिएन भने लक्ष्य हाँसिल नहुने बताए ।
ओलीले नेपालको व्यापार घाटा अत्यन्तै डरलाग्दो अवस्थामा रहेको सुनाउँदै भने,“हामी अहिले बेच्छौँ सात रुपैयाँको, किन्छौँ ९३ रुपैयाँको । कहाँबाट किन्ने ? यो घाटा इतिहासमै सबैभन्दा बढि नकारात्मक विन्दुमा पुगेको हो । यसलाई केही समयभित्रमा नै सकारत्मक दिशामा लैजान्छौँ ।”
ओलीले विप्लवलाई भने,“राजनीतिक मजाक नगर्नुस, अलि बढ्ता भयो”
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन् । ओलीले चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनैपनि सिद्धान्त नभएको भन्दै विप्लवबारे कडा आलोचनासहित कटाक्ष गरे ।
“थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ । माक्र्सवादमा कहाँ लेखेको छ ? नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।” प्रधानमन्त्री ओलीले भने ।
विप्लव समुहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी समेत दिए ।
“यो विप्लव कि के समुह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रशंसा गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।” ओलीले थपे । राजनीतिक मजाक नगर्न ओलीले पटक–पटक विप्लवलाई चेतावनी दिए ।
“प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाँही आउनु । सातदिनभित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढ्ता भयो ।” उनले भने ।
स–साना समुहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिँदै खाल उठिसकेपछि च्याँखे थापेर केही नुहेन बताए । अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको सुनाए ।
देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताएका छन् । “ट्याउँट्याउँ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?” ओलीले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति व्यङ्ग्य गर्दै देशमा अधिनायकवाद ल्याउने बताएका छन् । जनता भोकभोकै मर्नपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीहरुलाई अधिनायकवाद जस्तो लाग्न सक्ने बताए ।
“कोही पनि खान नपाएर मर्नु पर्दैन भन्दा किन आत्तिन्छन् ? यस्तो प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न ।” ओलीले भने ।
देशमा अनुभूति गर्न सक्नेगरी सरकारले काम गर्ने दाबी गर्दै ओलीले भने,“यो देशमा सरकार छ कोही मर्नु पर्दैन । जाडोमा शीतलहरमा एउटा कम्बल नपाएर कोही मर्दैन । जनता भोकले मर्दै छ भन्दा मन पोल्ने सरकार छ, त्यसैले अब हामी चुप लागेर बस्दैन । म देशको प्रधानमन्त्री छु । कम्बल ओढ्न नपाएर शीतलहरले मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । मेरो कुरा सुनेर कतिपयको मन पोलेका होला । अधिनायकवाद आउने नै भयो भन्ने लागेको होला ।”
आफूले राम्रा काम मात्रै गर्ने दाबी गर्दै ओलीले सरकारप्रति आशंका नगर्न आग्रह समेत गरे ।
“मान्छे मर्न नपाउने, कठ्याङ्ग्रिन नपाउने, भोकै बस्न नपाउने, केही पनि गर्न नपाउने, अधिनायकवाद ल्याएरै छाड्नेभयो भन्ने लागेको होला । हो, यो अधिनायकवाद ल्याउने ल्याउने लक्षण हो ।” उनले भने ।
अहिलेको सरकारलाई विकास निर्माणका काम गर्न कुनैपनि अवरोध नभएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले अनावश्यक बाधा अबरोध नगर्न समेत चेतवनी पनि दिए । “विकास गर्नका लागि व्यवधान पुर्याउने कुनै कुरा हामीलाई मान्य हुँदैन ।” ओलीले भने ।
विकास र समृद्धिका लागि भष्टाचार अन्त्य गर्नुपर्ने भएकाले आफू त्यसका लागि प्रतिवद्ध रहेको ओलीले बताए । “म भ्रष्टाचार सहँन्न, आफू पनि गर्दिन अरुलाई पनि गर्न दिन्न, निर्मूल पार्छु ।” उनले भने ।
देश र जनताका लागि उचित योजना र लक्ष्य बनाएर अघि बढ्ने ओलीको भनाई छ । “हामी अन्धाधुन्ध हिँडेका छैनौँ, निर्दिष्ट लक्ष्य र गन्तव्य छ । गन्तव्यमा पुग्नका लागि सबै नीति र योजना तय गछौँ । अन्धाधुन्ध हिँड्दै जाउँ, जहाँ पुगिएर पुगिएला भनेर हिँडेको छैन ।” ओलीले भने ।
लोकतन्त्रले सबै जनताको जीवनस्तर उकास्ने बताउँदै उनले जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्लबलाई २० औं वर्षको अवसरमा प्रधानमन्त्रीले शुभकामना समेत दिए । उनले भने,“क्लबको अल्लारेपन कियो, अब परिपक्व भएको छ, क्लब २० वर्षमा प्रवेश गरेको छ, म बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु, आगामी दिनमा थप सफलता प्राप्त होस्, २० वर्षको अवधि भनेको धेरै लामो अवधि होईन, तर यस छोटो अवधिमा पनि क्लबले आरोहअवरोध, उतार चढाव, सजिलो, अफ्ठयारो, अनेक कुरा देख्यो, क्लबले यो अवधिमा आन्दोलन देख्यो, टियर ग्याँस देख्यो, बन्द देख्यो, हड्ताल देख्यो, क्लबले कहिलेकाहीँ किन ल्याएको भन्ने खालको मान्छे ल्यायो ?” क्लबले यो अवधिमा पत्रकारिताको धर्म आफ्नो खालको निभाएको ओलीले बताए ।
ऋषि धमलाको नेतृत्वमा रहेको क्लब अब युवा बनिसकेको बताउँदै ओलीले भने,“अब क्लब तेस्रो दशकमा प्रवेश गरेसँगै युवा बनिसक्यो, २१ वर्ष लाग्यो, युवक भयो, पहिले पहिले सुरुसुरुमा गल्ती गर्न मिल्थ्यो भने अब गल्ती गर्न मिल्दैन, अब त गल्ती गर्न नमिल्ने उमेरमा प्रवेश गरेको छ।” क्लबले देश र जनताको लागि थप काम गर्दै जानेछ ।
क्लबद्धारा प्रधानमन्त्री ओलीलाई अभिनन्दन
त्यस्तै क्लबले वीसौं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गरेको छ । अोलीलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा अभिनन्दनपत्र प्रदान गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई अभिभन्दन गरेका हुन् ।
नेपालको राष्ट्रिय राजनीतिमा पुर्याएको योगदान र राष्ट्रियताका पक्षमा लिएको अडानका लागि रिपोर्टसर्् क्लब नेपालले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेको थियो ।
कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सफल भूमिका निर्वाह गरेकोमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा राजनीति, प्रशासन, सञ्चार, सुरक्षा निकाय, कुटनीतिक नियोग र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।