Logo

प्रचण्डलाई वामदेवको साथ, होला त ५०/५० मा एकता ?



काठमाडौं, १८ चैत्र । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा चाँडै हुने भनिएपनि अहिलेसम्म एकिन भएको छैन । माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने सार्वजनिक अभिव्यक्ति दिएपछि एकता प्रक्रियामा केही विलम्ब भएको थियो ।

प्रचण्डले एमालेसँगको एकता ५०/५० प्रतिशतमै हुने बताएका छन् । उनको प्रस्तावमा एमाले उपाध्यक्ष वामेदव गौतम सहमत छन् । प्रचण्ड र वामदेव ५०-५० को लाईनमा उभिएका छन् ।

हुन त प्रचण्डले पनि एकतको लागि उमेर हद हटाउनुपर्ने प्रस्ताव गरेर वामदेवको बचाउन गरेका छन् । प्रचण्डले जुनसुकै नेताले आफूले चाहेसम्म अथवा स्वास्थ्यले साथ दिएसम्म पार्टीको नेतृत्वमा पुग्न पाउनुपर्ने अडान लिएका छन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल , ईश्वर पोखरेल ५०/५० प्रतिशतको विपक्षमा छन् । केही समय पहिले अध्यक्ष प्रचण्डले एक जना पनि कम भएर एकता नहुँने बताएका थिए । उनको यो अभिव्यक्तिले एकता प्रक्रियामा तरँग नै पैदा भएको थियो ।

उनले भनेका थिए,संगठन पार्टी एकताको एक पेचिलो प्रश्न हो । यसमा केही गलत समाचार बाहिर आएका छन् । कुरा स्पष्ट के छ भने संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन ।

प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको पनि दावी गरेका छन् । दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको कुरा बाहिर आएको थियो ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा भैरहदा प्रचण्डले सवै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने बताएका हुन् ।
यस अघि दुई पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्