चैत १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन पनि दिए ।
पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काम धिमा गतिमा भएको भन्दै त्यसलाई गति दिनु जोड दिए ।
पीडितले मापदण्ड नर्पुयाइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको उनले बताए ।
यसै सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भने पुनर्निर्माणको काम तिब्र गतिमा भइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले भूकम्प पीडितका गुनासो सम्बोधन गर्दै जाने बताए ।
यद्यपी प्रधानमन्त्रीले काम ढिला भएको भन्दै असन्तुष्टी व्यक्त गर्नु स्वभाविक भएको उनको भनाई छ ।
“ढिलासुस्ती त भइरहेकै हो । तर हदैसम्मको ढिलासुस्ती भएको छैन । पाँच वर्षका लागि प्राधिकरण गठन भएको हो । निजी घर निर्माणलाई तिब्रता दिइरहेका छौँ । पाँच वर्षभित्र सबै काम सक्छौँ ।” भुसालले भने ।
अहिले तत्कालका लागि असुरक्षित टहराबाट सुरक्षित घरभित्र भूकम्प पीडितलाई लैजाने लक्ष्य लिइएको उनले बताए ।
“असार मसान्तसम्ममा पाँच लाख दुई हजार घर बनाइसक्छौँ । एक लाख १३ हजार ७ सय ७९ घर बनिसकेका छन् । बाँकी घरहरु बन्दैछन् । कूल सात लाख ६७ हजार घर बनाउनुपर्छ ।” उनले भने ।
बढिमा दुई वर्षभित्रमा सबै घर बनाइसक्ने उनको दाबी छ ।
प्रधानमन्त्रीले निर्देशन दिएअनुसारका काम गर्नका लागि कानुनी समस्या रहेको उनले बताए । “त्यस्ता कानुनी झन्झट हटाउनका लागि पनि प्रधानमन्त्रीले निर्देशन दिएकाले अब सोही अनुसार काम गर्छौँ ।”