काठमाण्डौ, २०चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात क्षेत्रका विषयमा एकलौटी तरिकाले नीति नियम बनाउन खोजेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सिटौलाले चार खर्ब लगानी भएको यातायात क्षेत्रको सुधारका योजना बनाउँदा सरोकारवालालाई वेवास्ता गरिएको आरोप लगाएका हुन् ।
“निजी क्षेत्रको लगानी व्यवस्थापन गर्नुको साटो एकपक्षीय तरिकाले योजना ल्याएको छ । यसप्रति हामी दुःख व्यक्त गर्दछौँ ।” सिटौलाले भने ।
सरकारले पञ्चायती शाषन व्यवस्थाको शैलीमा यातायात व्यवसायीलाई अस्तव्यस्त बनाउन लागेको अरोप सिटौलाले लगाए ।सरोकारवालासँग छलफल नगरी ल्याइएको नयाँ नीतिको पक्षमा आफू उभिन नसक्ने सिटौलाले स्पष्ट पारेका छन् ।
यातायात क्षेत्रले देशलाई दिएको योगदान भुलेर गृहमन्त्रालय र यातायात व्यवस्था विभागले गलत योजना अघि सारेको उनले बताए ।
सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरुको रुट परमिट खारेज गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीहरूको विवरण लिन सुरु गरेको छ ।
गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री बादलले जनताको चाहना सिन्डिकेट नभएको भन्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बताएका छन् ।
यही आधारमा विभागले अत्यावश्यक सेवमा हड्रताल गर्ने सवारीहरूको रूट परमिट खारेज गर्ने प्रक्रिया अघि बढाएको हो ।
तर यातायात व्यवसायीले भने सरकारको कदमको कडा आलोचना गरेका छन् । यातायात क्षेत्र व्यवस्थित गर्नका लागि वैज्ञानिक पद्धति लागु गर्नका लागि आफूहरु तयार रहेको सिटौलाले बताए ।
https://youtu.be/pCYp-XkMwLc