Logo

श्वेतपत्रबारे अर्थमन्त्री खतिवडाको जवाफ-“सत्य कुरा तितो हुन्छ”



चैत २०, काठमाण्डौ । श्वेतपत्रबारे सासंदहरुको भनाई सुनेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सत्य कुरा तितो लागेको जवाफ दिएका छन् ।

कटुसत्य कुरा कहिलेकाँही तितो लाग्न सक्ने भन्दै मन्त्री खतिवडाले श्वेतपत्रमा उल्लेख गरिएका कुरा सत्य भएको दाबी गरे । श्वेतपत्रबारे संसद बैठकमा सासंदहरुको आलोचनाको जवाफ दिदै खतिडाले श्वेतपत्रमा उल्लेख गरिएका समस्या समाधानका उपाय खोज्ने दायित्व पनि सरकारलाई नै भएको स्पष्ट पारे ।

श्वेतपत्रमा समस्या मात्रै उल्लेख गरिएको भन्दै सासदहरुले आलोचना गरेका थिए । तर खतिवडाले समस्या समाधानको बाटो संसद भएको बताए ।

श्वेतपत्रमा अर्थतन्त्रका सकारात्मक पक्षलाई पनि समावेश गरिएको उनले बताए । श्वेत पत्रले कुनै पनि दल विशेषलाई लक्षित गरेर आरोप नलगाइएको खतिवडाको दाबी छ ।

एउटा कालखण्डको समिक्षा गरिएको उल्लेख गर्दै उनले कतिपय नीतिगत कुराहरुका बारेमा छलफल गर्न आवश्यक रहेको बताए ।

स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँड्नका लागि सबै एकजुट हुनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ । यसका लागि सबैलाई छलफल र बहसमा जुट्न उनले आग्रह गरे ।

यसअघि संसदमा बोल्दै कांग्रेस सासंद डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रकी सासंद पम्झा भुसाललगायतले श्वेतपत्रको आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्