Logo

प्रदेश सभा नियमावली पारित



सुर्खेत, २१ चैत : कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।

नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

त्यस्तै, आर्थिक कार्यविधि विधेयकमाथिको छलफलमा भाग लिँदै धर्मराज रेग्मी, दीनबन्धु श्रेष्ठ, कुर्माराज शाही, चन्द्रबहादुर शाही, देवी वलीलगायतका सांसदहरुले भ्रष्टाचार नियन्त्रण र आर्थिक बेरुजु शून्य हुने स्वरुपमा ऐन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वालाले समाजवादोन्मुख अर्थ व्यवस्थासँग सुहाउँदो वित्तीय पारदर्शिता र अनुशासनयुक्त आर्थिक ऐन तथा नियमावली ल्याउने बताउनुभयो ।

प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेश सञ्चित कोष स्थापना गर्ने जानकारी दिँदै उहाँले आकस्मिक कोषका लागि अलग्गै ऐन ल्याउने बताउनुभयो । आर्थिक विधेयकमाथिको दफावार छलफल जारी छ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम छ । (रासस)



प्रतिक्रिया दिनुहोस्