-केपी शर्मा ओली, प्रधानमन्त्री-कार्यक्रमको अध्यक्षता गरिरहनुभएका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, कार्यक्रममा विशेष अतिथी पूर्व प्रधानमन्त्री हालसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, प्रमुख निर्वाचन आयुक्तज्यू, नेपालका लागि भारतीय राजदुत, नेपालका लागि चिनिया दुतावासका प्रतिनिधी, माननीयज्यूहरु,
विभिन्न विधामा पुरस्कृत हुने साथीहरु,
यस महत्वपूर्ण कार्यक्रममा उपस्थित…यसो हेर्यो विशिष्टभन्दा अरु कोही पनि ….
रिपोर्टर्स क्लब नेपाल २० वर्ष पूरा भएको छ । यस सन्दर्भमा बधाई तथा शुभकामना दिन चाहन्छु । अवश्य नै २० वर्षको अवधि भनेको धेरै लामो होइन, तर यस छोटो अवधिमा पनि रिपोर्टर्स क्लबले राम्रा, नराम्रा, सजिला अप्ठ्यारा उतारचढाब अनेक कुरा देख्यो । आन्दोलन देख्यो । बन्द देख्यो । टियरग्यास देख्यो । गोली चलेको देख्यो ।
कहिलेकाँही किन ल्याएको होला भन्नेखालका मान्छे ल्यायो । आफ्नै खालको पत्रकारिताको मर्म निभायो । उतारचढाब पार गर्दै सफलताका साथ यस विन्दुमा आइपुग्यो । र आज हामी दुई दशक पार गरेका छौँ ।
तेस्रो दशक प्रवेश गर्दै गर्दा युवा ऋषि धमलाको नेतृत्वको युवा बनिसकेको रिपोर्टर्स क्लब नेपालको समयमा छौँ । २१ वर्ष लागेको भनेको युवा हो । पहिले गल्ती गर्न मिल्थ्यो, किशोरावस्थामा सुरुसुरुमा गल्ती गर्न मिल्थ्यो भने अब मिल्दैन । २१ वर्ष भनेपछि अब गल्ती गर्नै मिल्दैन ।
मैले विश्वास लिएको छु, अझ ठूलो योगदान रिपोर्टस क्लबले आगामी दिनमा गर्नेछ । देशका लागि योगदान गर्छ । आज विभिन्न व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । सुवास ढकाल, शम्भु श्रेष्ठजस्ता पुराना पत्रकारिताका मुर्धन्य नामहरु हुन् । मदन भण्डारी स्मृति पुरस्कार पाउनुभएका शम्भु श्रेष्ठलाई हार्दिक बधाई भन्न चाहन्छु । धेरै धेरै बधाई र शुभकामना छ । यस्ता पुरस्कार अझै पाउँदै जानुस् । सुवास ढकालले गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार पाउनुभएको छ । उहाँलाई बधाई भन्न चाहन्छु । आगामी दिनमा अझ ठूला पुरस्कार प्राप्त गर्दै जानुस् । अरु विभिन्न पुरस्कार पाउनुभएको छ । सम्मानित हुनुभएको छ । कामको उचित सम्मान भएको छ । उचित पात्रहरु पुरस्कृत हुनुभएको छ । बधाई र शुभकामना भन्न चाहन्छु । आफ्नो क्षेत्रबाट अझै योगदान गर्दै जानुस् ।
आजको आवश्यकता र बाटो के हो भन्ने बारेमा रिपोर्टर्स क्लबले आफ्नो स्मारिकामा समृद्धितर्फका पाइलाहरु शीर्षकमा नै यसरी राखेको छ । समृद्धितर्फको हाम्रो पाइला हो । अर्थात अब हामी सिङ्गै देश एउटै पाइला एउटै कदम अर्थात एकतावद्ध भएर विकासको बाटोमा अगाडि बढ्छौँ । समृद्धि हासिल गछौँ र नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । त्यसैले हामीले भनेका छौँ, समृद्ध नेपाल सुखी नेपाली ।
बिना विकास समृद्धि हासिल हुन सक्दैन । एउटा क्षेत्रमा विकास भएर देश विकास हुन सक्दैन । एउटा वर्ग, समुदाय, भूगोल, क्षेत्र विशेषको आंशिक विकास भएर हुँदैन । समग्र विकास हामीलाई चाहिन्छ । त्यसका निम्ती आज अनुकूल वातावरण छ । अब हामीलाई विकासका व्यवधान पुर्याउने कुनै पनि कुरा मान्य हुँदैन । म सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न । भ्रष्टाचार नियन्त्रण गर्छु र निर्मूल पार्छु ।
हामी अन्धाधुन्ध हिँडेका छैनौँ । ढुङ्गा टिपेर फ्याक्ने जहाँ खस्छ, त्यही मेरो निशाना थियो भन्ने काम गर्दैनौँ । हाम्रो निर्दिष्ट लक्ष्य र गन्तव्य छ । त्यो लक्ष्य हामी निर्धारण गर्छौँ । गन्तव्यमा पुग्नका लागि सबै नीति र योजना तय गछौँ । साधन, स्रोत, माध्यम के तय गर्नुपर्छ त्यो सबै गर्छौँ । अन्धाधुन्ध हिँड्दै जाउँ, जहाँ पुगिएर पुगिएला भनेर हिँडेको छैन । देशले महसुश गर्ने ठाउँमा पुर्याइनेछ ।
यो वामपन्थी नेतृत्वको सुदृढ सरकार बनाउन ढिलो गरिएछ भन्ने कुरा सबैलाई मनमा लाग्ने गरी देशलाई हिँडाउँछौँ । हुन त भन्नेहरुले भन्छन्, यो कम्युनिष्ट नेतृत्वको सरकार अधिनायकवादी हुन्छ भन्छन् । बाध्यता पनि छ । अधिनायकवाद आउँदैन भन्नेहरुले ल्याउन सक्दैनन् त्यसकारण आउदैन भन्छन् । ल्याउन सके पो । हामी सक्छौँ भन्देमा तानाशाह ल्याउनतिर लाग्दैनौँ ।
लोकतन्त्रका लागि हामी लडेका छौँ । वक्तृत्वकला प्रतियोगिताबाट आएका होइनौँ । संघर्षको मैदानबाट आएका हौँ । डिभेट जितेर होइन, संघर्षको मैदानबाट तानाशाह फालेर आएका हौँ । त्यसकारण लोकतन्त्र हाम्रो आदर्श हो ।
कम्युनिष्टहरु तानाशाही हुन्छन् भनेर चिलीमा आङ्देलाई गिरफ्तार गरेर लोकतन्त्रवादी भन्नेहरुले चिलीलाई तानाशाहीमा पनि लगे, गरिब पनि बनाए । पछाडि पनि पारे । आङ्देलाई लोकतन्त्रले निमोठ्यो । लोकतन्त्र निमोठ्दा कम्युनिष्टको हाउगुजी देखाइयो ।
सुकर्णको हत्या गरेर सुहार्थुले ३२ वर्ष शासन गर्दा वामपन्थीले तानाशाही लाउँछ भनियो । पछि हामीले थाहा पायौं शासकका श्रीमतीको नाम ‘म्याडम १० पर्सेन्ट थियो । उद्योग खोल्दा पहिले १० पर्सेन्ट बुझाउनु पर्ने, १० पर्सेन्ट शेयर दिनु पर्ने । यहाँ पनि ‘म्याडम १० पर्सेन्ट’का श्रीमानहरुको हल्ला हो अधिनायकवाद ल्याउँछन् भन्ने ।
देश र जनताका लागि, जनताका अधिकारका लागि, सैद्धान्तिक अधिकारका लागि, स्वतन्त्रताको हकका लागि मात्रै होइन, समग्र सामाजिक जीवनका क्षेत्रमा अधिकार अवसरसहित पुग्नुपर्छ । अधिकारसम्म पुग्ने सामथ्र्यको अभिवृद्धि या अवसरको उपलब्धता । सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका समग्र लोकतन्त्र सिङ्गै जनताको जीवनमा परिवर्तन आउने लोकतन्त्र ।
धन धेरै कमाउनु ठिक छ । तर गरिब भएर मान्छे भोकै मर्न पाउँदैन । यो भन्नेवित्तिकै केहीको मन भतभति पोल्नुपर्ने किन ?
कोही पनि खान नपाएर मर्नु पर्दैन भन्दा किन आत्तिन्छन् ? यस्तो प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न ।
हामी हरेक हिउँदमा सुन्छौँ, तराईमा जाडोले मान्छे मरे । सरकार छ कि छैन थाहा छैन । अहिले म प्रधानमन्त्री छु । यो देशमा सरकार छ कोही मर्नु पर्दैन । जाडोमा शितलहरमा एउटा कम्बल नपाएर कोही मर्दैन । जनता भोकले मर्दै छ भन्दा मन पोल्ने सरकार छ, त्यसैले अब हामी चुपलागेर बस्दैनौँ । म देशको प्रधानमन्त्री छु । कम्बल ओढ्न नपाएर शितलहरले मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । मेरो कुरा सुनेर कतिपयको मन पोलेको होला । अधिनायकवाद आउने नै भयो भन्ने लागेको होला ।
मान्छे मर्न नपाउने, कठ्याङ्ग्रिन नपाउने, भोकै बस्न नपाउने, केही पनि गर्न नपाउने, अधिनायकवाद ल्याएरै छाड्ने भयो भन्ने लागेको होला । हो, यो अधिनायकवाद ल्याउने ल्याउने लक्षण हो ।
संचारकर्मी मित्रहरुलाई भन्न चाहन्छु, हाम्रो देशमा निरक्षर कोही छैनौँ । म पनि पलेजा हुँ । पलेजा भनेको पढ्न लेख्न जान्ने । सबै पढेका भन्दा फेरी जागिर छैन भन्नुहोला ।
यति धेरै पढेका मान्छे छन्, फेरी पनि बालबालिका स्कुल जाँदैनन, भर्ना भएका विद्यार्थी किन ड्रप आउट हुन्छन् ? अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा ९५–९६ प्रतिशत बालबालिका विद्यालय भर्ना हुन्छन् । तर रौतहट र महोत्तरीमा ३२ प्रतिशत भर्ना हुन्छन्, किन ? घर छेउमा स्कुल छ तर जाँदैनन । चेतनाको अभावका कारणले । त्यसकारण यसपटक वेशाख १ गतेदेखि म पनि जान्छु एउटा गरिबको बच्चा खोजेर भर्ना गराउँछु । अरुले पनि भर्ना गराउँ । कसरी हुँदैन ?
स्वस्थानी ब्रतकथामा जस्तै भन्न चाहन्छु, जोजो जहाँ जहाँ हुनुहुन्छ, यस वर्ष हरेक व्यक्तिले एउटा बच्चा भर्ना गराउँ । पढाउन नसक्नेको तथ्याङ्क निकालेल विभिन्न ढंगले पढाउन सकिन्छ ।
हामीसँग सात सय ६१ वटा सरकार छ । पहिलेजस्तो एउटा सरकार मात्रै हो र ? ३६ हजार जना निर्वाचित जनप्रतिनिधी छन् । यत्राविधि पत्रकार छन् । यत्रो धेरै संस्थाहरु छन् । यति धेरै उद्यमी र व्यवसायी छन् । यति धेरै समाजसेवी छन् । कलाकार छन् । साहित्यकार छन् । जनसंगठन छन् । राजनीतिज्ञ छन् । म आग्रह गर्न चाहन्छु, हाम्रो बानी नकारात्मक बढि भयो, सकारात्मक कामलाई आफ्नो ठाउँबाट अगाडि बढाउने बानी गरौँ ।
राजनीतिक परिवर्तन मात्रै होइन, समग्र क्षेत्रमा परिवर्तन आएको छ । पछाडि परेकाहरुको सहभागिता बढेको छ । उथलपुथल भएको छ । संरचनागत परिवर्तन गरेका छौँ । यस परिवर्तनलाई, संरचनालाई केमा प्रयोग गर्ने ? सबैको काम जनतालाई सेवा दिने र विकास गर्ने हो । भ्रष्टाचार नियन्त्रण गर्ने हो । विकासको योजना बनाउने हो । सुशासन र विकास । विकासको माध्यमबाट समृद्धि । समृद्धिका लागि एकजुट ।
कृषिको आधुनिकीकरण, व्यवसायीकरण, वैज्ञानिकरण । उद्योगहरको स्थापना । लघु, साना, मझौला, घरेलु, ठूला उद्योग । विस्तारै हामी रासायनिक मलको कारखाना होइन । अब जैविक मलको कारखाना खोल्छौँ । अब हिजोको तरिकाले होइन, नयाँ ढंगले अगाडि बढ्छौँ ।
अब नेपाल अर्गानिक नेपाल, अब नेपाल इ नेपाल । अब नेपालको प्रशासन इ गभरनेन्सका हिसाबले अगाडि बढ्छ । सामाजिक क्रियाकलाप, मौद्रिक क्रियाकलाप, व्यवसायीक क्रियाकलाप सबलाई आधुनिकीकरण गर्दै जान्छौँ । खाली उद्योगमा मेसिन मात्रै होइन, हरेक कुरामा नयाँपन । उत्पादन वृद्धिका लागि विज्ञान र प्रविधी । विकासका लागि विज्ञान र प्रविधी ।
हामीले पछौटेपनका विरुद्ध आधुनिकता र समाजवाद बढाउँदै लाने हो । एउटा कुरामा मान्छेहरु कन्फ्यूज छन् । आधुनिकता भन्ने वित्तिकै तर्सिन्छन् । आध्यात्मिकता भएन, यो भएन, त्यो भएन । आध्यात्मिकता भनेपछि त्यसभित्र मानवियताका अरु पक्षहरु पनि छन् । ध्यान गरौँ, भगवान मानौँ, कसैले रोक्दैन । विष्णु राम्रो लाग्छ कि, कृष्ण, शिवजी, कुन राम्रो लाग्छ मान्न पाइन्छ । भगवान राम्रो नलागेर भगवती राम्रो लाग्छ कि । मान्न पाइयो ।
जनतामा सार्वभौमिकता आइसकेको छ । फेरी आज कसैले बढो सिद्धान्तवादी भएर कहाँका कुन थोत्रा किताब पढ्छन् मान्छेले ।
थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ ? माक्र्सवादमा कहाँ लेखेको छ ? नचाहिने कुराका पछाडि कुँदेका छन् मान्छे । यो उचित होइन । चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?
केटाकेटी खेल नखेल्न, यो विप्लव कि के समुह भन्ने छ नि, त्यसलाई भन्न चाहन्छु । केपी ओलीलाई वारेन्ट गरेको । मदनकृष्ण हरिवंशकोमा आए हुन्छ नि । मजाक गर्ने हो भने । म पनि सिफारिस गरिदिन्छु । प्रहसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।
प्रचण्डलाई वारेन्ट, कुन्नी कुन गाउँमा चाँहीआउनु । सात दिन भित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढ्ता भयो के । अब देश यस्ता कुरामा अल्झिदैन ।
सम्प्रदायिकताको विष छरेर नेपाली मान्छे नेपाली टाउको नेपाली मुख, कुरा चाँही विदेशीको मुखबाट निस्कनु कति नराम्रो हो । नेपाललाई विभाजित गर्ने, साम्प्रदायिकता भड्काउने खालका कुराहरु उचित होइन । त्यसकारण म भन्न चाहन्छु, हाम्रो देश विविधतामा छ, विविध भाषाभाषी, भौगोलिक विविधतासहित बनेको छ । यस देशका विविध भाषा, जाती, पेषाका जनता मिलेर देश बनाउन चाहन्र्छाैँ । समृद्ध र शान्तिपूर्ण देश बनाउन चाहन्छौँ । दुनियाका अगाडि नहेपिएर शीर ठाडो गरेर हिँड्न चाहन्छौँ ।
यो हुन नदिनलाई…. हिजो ठीक थियो । अलिकति के बुझ्न सकिन्छ भने जुवाडेहरु बसेको खालका च्याँखे थाप्नु ठीक थियो । माओवादीले जनयुद्ध भनेको थियो । सरकारले के भनेको थियो । खाल चलेका बेला च्याँखे थाप्नु स्वभाविक थियो । खाल उठिसक्यो अब फेरी च्याँखेहरु चाँही खुसुखुसु । खेल र खाल नै नभएपछि च्याँखेको खेल हुँदैन । त्यसकारण च्याँखेहरुलाई म भन्न चाहन्छु, यो बन्द गर्नुस् ।
यो देशमा एकता, शान्ति, समृद्धि चाहिन्छ । सामाजिक सद्भाव खलबलिन दिइदैन । देश टुक्र्याउ भन्ने ? यो देश बलिदानले बनेको हो । सधैँ स्वाधिन रहेको देश टुक्रयाउँछु भन्ने ? त्यसप्रकारका क्रियाकलाप सैह्य हुन सक्दैन । यस्ता कुराका पछाडि नलागौँ । कुन तार, स्विच कहाँ छ यसको ? अलिअलि ट्याउट्याउ टुटु कहाँबाट आइराछ ? त्यो हामी हेर्छौँ ।
हामी सबैलाई भन्न चाहन्छौँ, नेपालीहरुलाई नेपाली भएर बस्न दिनुस् । नेपाल एकतावद्ध हुन चाहन्छ र समृद्ध हुन चाहन्छ । जति गरिब भयो भयो, अब हाम्रो पासपोर्ट देखाउँदा नेपाल लेखेको देखेपछि जानुस जानुस भनोस् न मान्छेले । त्यो ठाउँमा हामी नेपाललाई पुर्याउँछौँ ।
हाम्रा छिमेकीहरु हाम्रो एकतावद्ध विकासका प्रयासहरुमा सहयात्री हुन तयार छन् । म छिटै भारत भ्रमणमा जाँदैछु ।
उक्त भ्रमणले दुई देशबिचको सम्बन्ध र सहकार्य बढ्ने छ । हामी एकतावद्ध भएर विकासका बाटामा सहयात्रा गर्छौँ । नेपालको विकासमा भारतको सहयोगि भुमिका रहन्छ । हाम्रो सम्बन्ध अझै बढ्ता सुमधुर बनाउनका लागि म भारत जाँदैछु । चिनसँगको हाम्रो मित्रता पनि अत्यन्तै राम्रो छ । नेपाललाई सहयोग गर्न चिन पनि तयार रहेको छ ।
भारत र चिन दुवैले नेपाललाई सहयोग गर्छन् । छिमेकीहरुसँग मिलेर नेपाललाई अगाडि बढाउने हो । छिमेकी देशसँग सहकार्य गरेर अचम्म लाग्ने गरी विकासको गतिलाई हामी तिब्रता दिन्छौँ । होइन भने दिगो विकासको लक्ष्य पूरा गर्न सक्दैनाँै ।
तीन वर्षभित्रमा कम विकसित देशबाट विकासशिल देशमा स्तरउन्नति हुनुपर्ने लक्ष्य पूरा गर्नका लागि व्यापार घाटा कम गर्नुपर्छ । हामाी अहिले डरलाग्दो व्यापार घाटामा छौँ ।
बेच्छौँ सात रुपैयाँको, किन्छौँ ९३ रुपैयाँको । विचार गर्नुस् के हाल छ हाम्रो । कहाँबाट किन्ने ? यो घाटा इतिहासमै सबैभन्दा बढि नकारात्मक विन्दुमा पुगेको हो । यस अंकलाई हाम्रा सन्ततिले भोग्नु पर्दैन । यसलाई केही समयभित्रमा नै सकारात्मक दिशामा लैजान्छौँ ।
विप्रेषणबाटै देश चलाउने ? हाम्रा युवाहरु विदेश गएर उमेर भइन्जेल खाडीमा, बूढो भएपछि नेपालमा । अनि पाल्ने कसले ? यो स्थितीबाट परिवर्तन आउँछ । केही वर्षभित्र नै हामी योजनाका साथ अघि बढ्छौँ ।
मैले संचारजगतलाई यो कुरा किन भनिरहेको छु भने यो रिपोर्टस क्लब नेपाल २० वर्षपछि आज जुन ठाउँमा आएको छ, हामीले परिस्थिती बुझ्नुपर्यो, के गर्न खोजिरहेका छौँ त्यो बुझ्नुपर्यो । त्यसअनुसार हामी एकढिक्का भएर अगाडि बढ्नुपर्यो ।
संलग्नताभन्दा सत्य ठूलो हो । संलग्नताभन्दा राष्ट्रिय एकता ठूलो हो । दल र कार्यकर्ताभन्दा राष्ट्र ठूलो हो । अलिकति आफ्नो स्वार्थभन्दा देशको विकास ठूलो हो । राष्ट्रनिर्माणको अभियानलाई कुनै पनि संलग्नताले छेक्नु हुँदैन । समृद्ध र सुशासनयुक्त देश निर्माण रोक्न हुँदैन ।
संचारमाध्यमलाई म भन्न चाहन्छु, रिपोर्टर्स क्लब २० वर्ष पुगेको अवसरमा, संचारमाध्यममाथि कुनै प्रकारको अंकुश, लगाम, थिचोमिचो, दबाब, भेदभाव केही हुन्छ कि भन्ने पनि कतै… विभिन्न प्रकारका कूप्रचारको हल्लाहरु चलेका छन् । त्यसको प्रभाव कतै परेको छ भने त्यस्तो दुश्प्रभावबाट मुक्त हुनुहोस् । तपाईलाई कसैले भेदेको छ भने म त्यो झार्न उभिएको हुँ । झर्यो अब सबै । तपाईहरु ढुक्क हुनुस् ।
हामी लोकतन्त्रमा छौँ । नेपाली जनताको बलिदानपूर्णं संघर्षको प्रतिफल हो । यो कुनै ख्यालठट्टा होइन । अब कसैले खोस्न सक्दैन ।
म कुनै पार्टीलाई गाली गर्न चाहन्न । कुनै पार्टीलाई संकेत गरेर भन्न पनि चाहन्न । भनिरहनु आवश्यक जस्तो पनि मान्दिन । त्यसमाथि आज त भन्ने कुरै होइन ।
कुनै प्रकारको भ्रम नरहोस् । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालगायतका सबै खाले स्वतन्त्रता । संविधानले मौलिक हक भनेर तोकेको धारा १६ देखि ४८ सम्मका हक ।
अहिले यो सरकार यस्तो अस्थामा छ, न कानुन बनेको छ । केही पनि छैन । प्रदेश सरकार सातवटा बनाइए, न बस्ने ठाउँछ । खरदार लखेटेर मन्त्री राख्नुपरेको छ । खरदारको कुर्सीमा मुख्यमन्त्री राख्नुपरेको छ ।
कहाँ जाने भन्ने कुनै टुङ्ेगो छैन । अब सबै बनाउनुपर्ने छ । सबै संरचना बनाउनुपर्छ ।
पुनर्निर्माण प्राधिकरणको परामर्श समितिको बैठक दुईवटा गरेको थिएँ । म हटेपछि बैठक भएको रहेनछ । फेरी म फर्केर आएपछि बस्दैछ । सिंहदरबार जानुभएको होला, सिंहदरबारमा फलामका डन्डी गाडेको छ । रेक्ट्रो फिटिङ गरेको होला भन्ने लागेको होला । तर होइन । त्यो अरु नै फिटिङ । घरभन्दा २५ फिट पर डन्डी ठड्याएर घर अडिन्छ ?
मैले ७२ साल फागुन ४ गते, मै बनाउँछु मेरो धरहरा भनेर । जहाँ पुगेको त्यही रहेछ । सबै कुरा अगाडि बढाउनुपर्ने छ । बढ्छ । हामी अब दुःखका गित मात्रै होइन, समृद्धिका प्रयास र सफलताका कहानीहरु…. ।
यि कुरामा संचार जगत सचेत भएर लाग्नेछ, मैले विश्वास लिएको छु ।
फेरी एकपटक ऋषि धमलालाई बधाई भन्न चाहन्छु । उहाँको प्रयासमा धेरै काम भएको छ । रिपोर्टस क्लब बधाईको पात्र छ ।
धन्यवाद ।
(२०७४ चैत १७ गते रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको विचार, राष्ट्रियसभा गृह, काठमाण्डौ)
प्रस्तुति : कमलमणि पोख्रेल