Logo

एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : खनाल



काठमाडौँ, २१ चैत  : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले संयुक्तरुपमा यहाँ आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले एकीकरणका लागि आवश्यक गृहकार्य करीव पूरा भइसकेकाले बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले महत्वपूर्ण निर्णय लिनसक्ने बताउनुभयो ।

सो प्रक्रियाले सबै नेतालाई न्यायोचित ढंगले जिम्मेवारी प्रदान गर्ने बताउँदै त्यसपछि खेलकुद क्षेत्र पनि व्यावसायिकरुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमाले युवा तथा खेलकुद मोर्चा इन्चार्ज तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले खेलकुदको क्षेत्रबाट मुलुकको पहिचान र समृद्धि कायम हुने बताउँदै त्यसका लागि युवालाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले खेलकुदको विकासका लागि स्थानीय तहदेखि नै केन्द्रसम्म युवालाई आकर्षित गराउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कस्तो खेलका लागि कति जनशक्ति उत्पादन गर्ने भन्नेबारे छलफल गरी सातै प्रदेशमा संरचना तथा पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री विष्ट तथा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्