Logo

वाम आन्दोलनका धरोहर भेटवाल कहिल्यै नफर्किने गरी अस्ताए



नारायण अधिकारी : चितवन, २१ चैत/ वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे ।

आफ्नै पार्टी र त्यसभन्दा बढी विपक्षीले रुचाएका ती नेता अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । भेटवाल वाम आन्दोलनका धरोहर हुन् । उनी एमालेको केन्द्रीय लेखा आयोगका सदस्य थिए ।

त्यस्तै १० वर्षसम्म अञ्चल सदस्य, क्षेत्रीय इञ्चार्ज, राज्य व्यवस्था विभागको सदस्य र सार्वजनिक लेखा समितिको अध्यक्ष भएर पनि काम गरेको अनुभव उनमा थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर भेटवालले पत्रकारिताका माध्यमबाट राजनीति गरे । भेटवाल विसं २०३४ मा ‘नौलो साहित्य’ त्रैमासिकको प्रकाशक र सम्पादक बने । उनले २०३८ सालसम्म त्यसमा काम गरे । त्यस्तै ०३९ सालमा ‘प्रकाश’ साप्ताहिकमा सम्पादक र प्रकाशक भएर ०५० सालसम्म काम गरे ।

काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर पूर्वी चितवनलाई कर्मथलो बनाएका भेटवाल तत्कालीन अवस्थामा जमीनदारको थिचोमिचो, कुशासन र पञ्चायतविरुद्ध विसं २०२८को झापा विद्रोहपछि राजनीतिक आन्दोलनमा होमिए । उनीसँगसँगै जस्तो राजनीति गरेका एमाले नेता जगन्नाथ थपलिया भेटवाललाई कहिल्यै नथाक्ने, गणतन्त्र र प्रजातन्त्रका लागि लड्ने एक योद्धा भएको बताउँछन् ।

एमाले चितवनका पूर्वअध्यक्ष थपलिया २०३२ सालदेखि भेटवालसँगै राजनीतिक यात्रामा छन् । थपलियाले स्मरण गरे, “ उनी सक्रिय राजतन्त्र हुँदा पनि सदनमा पञ्चायती शासनको अन्यायका विरुद्ध लड्ने एक मात्रै नेता हो ।” थपलियाले थपे, “राजनीतिक योद्धा मात्रै होइन, उहाँ विकासप्रेमी नेता पनि हो । जनजनमा उहाँ स्थापित हुनुहुन्छ ।”

भेटवाल २०४३ सालमा राष्ट्रिय पञ्चायतमा चितवनबाट जनपक्षीय उम्मेदवार बनेर विजयी भए । छयालीस सालको आन्दोलनमा जिल्लामा भेटवालले अगुवाइ गरे । आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई राज्य विप्लवको मुद्दा लगाउँदै ३३ वर्षको सजायँ तोकियो । पछि प्रजातन्त्र स्थापनापछि मुद्दा फिर्ता भयो । विसं २०४८ र ०५१ मा चितवन निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भए ।

भेटवालका राजनीतिक सहयात्री पूर्वसांसद भीमबहादुर श्रेष्ठ आफूले भेटवाललाई २०३८ सालमा प्रत्यक्ष रुपमा पहिलो पटक चिनजान गरेको बताउँछन् । उनले भने, “म कुटिएपछि वीर अस्पतालमा उपचार गराइरहँदा समाचार संकलन गर्न भेटवाल त्यहाँ आउनुभयो, त्यसपछिको हाम्रो यात्रा सँगसँगै अघि बढ्यो ।”

विसं २०४३ मा एउटै समूह भएर चुनाव लडेको स्मरण गर्दै श्रेष्ठले तत्कालीन अवस्थामा जिल्लामा दुई पदका लागि तीन जनपक्षीय उम्मेदवार बनेको बताउँदै भने “मैले र भेटवालले जित्यौँ, अमिक शेरचनले हार्नुभयो ।” उनले भने, “त्यसपछि राष्ट्रिय पञ्चायतमा पञ्चायतविरुद्ध बोल्ने वामपन्थी भनेर म र भेटवाललाई धेरैले चिन्थे । हामीसँगै पाँच सात जना राष्ट्रिय पञ्चायत सदस्य मात्रै पञ्चायतविरुद्ध संसद्मा बोल्थ्यौँ ।” उनले भने, “२०४६ सालमा म र भेटवालसँगै नारायणगढको शहीदचोकबाट गिरफ्तार भएका थियौँ ।”

भेटवालको आज बिहान काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा निधन भयो । लामो समयदेखि अर्बुदबाट पीडित भेटवाल केही महिना अघिसम्म सक्रिय राजनीति र समाजसेवामा संलग्न थिए । वाम राजनीतिमा सानैबाट होमिएका भेटवालको पूर्वी चितवनको घर राजनीतिक नेताहरूको आश्रयस्थल रहेको उनका सहयात्री बताउँछन् । राजनीतिसँगै उनले विकासनिर्माणमा पनि उत्तिकै योगदान दिएका छन् ।

पूर्वी चितवन राप्ती र खहरे खोलाहरुको उच्च जोखिममा थियो । राप्तीमा बाँध बनाएर नदी नियन्त्रणमा उनले महत्वपूर्ण भूमिका खेले । राप्ती नदीको किनारमा भेटवालले स्वीस सरकारको सहयोगमा ठूलो बाँध निर्माण गराएका छन् । स्थानीय जनताले यसलाई भेटवालको बाँध भन्ने गर्छन् । यसका कारण अहिले पनि उनी पूर्वी चितवनका जनताको मनमनमा बस्न सफल छन् ।



प्रतिक्रिया दिनुहोस्