Logo

साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे



मस्को, २२ चैत : एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ ।

यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छोडेका मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

रुसी राजधानी मस्कोबाट प्राप्त समाचारअनुसार रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छोडेका छन् । उनीहरु बिहीबारै मस्कोस्थित अमेरिकी दूताबासबाट बाहिरिएका हुन् ।

एएफपी समाचारदाताले भनेका छन्– ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कैयौँ अमेरिकीहरु मस्कोस्थित दूताबासमा जम्मा भएर बसमा चढी विमानस्थलसम्म पुगेका थिए ।

उनीहरु आजै अमेरिकाका लागि प्रस्थान गरेका छन् । यसअघि पनि अमेरिकाले वासिङ्टनस्थित ६० जना रुसी कूटनीतिज्ञहरुलाई देश छोड्न भनेको थियो ।

उनीहरुले गतहप्ता नै अमेरिका छोडेर आफ्नो देशतर्फ लागेका थिए । ६० जना रुसी कूटनीतिज्ञले वासिङ्टन छोडेको समाचार यसअघि नै आएको थियो ।

साठी जना रुसी कूटनीतिज्ञले गएको शनिबार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरु आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।

उता अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किँदै गरेको दिन नै रुसले पनि यहाँको सेन्ट् पिटर्स्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न रुसी सरकारले निर्देशन गरेको थियो ।

सोही कन्सुलेट कार्यालयका ती अमेरिकी कूटनीतिक कर्मचारीहरुले बिहीबार रुस छोडेका हुन् । अमेरिकाले आफ्ना ६० जना कर्मचारीलाई देश निकाला गरेकोले रुस सरकारले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छोड्न भनेको थियो ।

साथै रुसले बेलायतले पनि रुसी कूटनीतिज्ञहरु हटाएकोले सोही सरह नै पनि बृटिशहरुलाई देश छोड्न भनेको छ ।

तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरुलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् ।

त्यसैगरी अरु केही युरोपेली र पश्चिमा मुलुकहरुले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरुलाई हटाइरहेकोले आफूहरुले पनि सोही बमोजिम ती देशका कूटनीतिज्ञहरु पनि निकाला गर्ने रुसको भनाई छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्