Logo

ओलीको भ्रमण सफल बनाउन भारतीय नेताहरु एकमत



नयाँ दिल्ली, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा भव्य स्वागतको तयारी भैरहेको छ । भोलिबाट हुने तीन दिने राजकीय भ्रमणलाई सफल तुल्याउन भारत र भारतीय राजनीतिक दलहरुले हरप्रयास गरिरहेका छन् ।

भोलि विहान १०ः४५ मा ईन्धिरा गान्धी विमानस्थलमा ओर्लिने प्रधानमन्त्री ओलीलाई रिसिभ गर्नको लागि एयरपोर्टमा मोदी नै आएर सरप्राईज दिने बुझिएको छ । कतिपय भारतीय नेताहरुले प्रधानमन्त्री मोदीले ओलीलाई सरप्राईज गिफ्ट दिन सक्नेपनि अड्काल गरिरहेका छन् ।

भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै भने,‘भारत र भारतीय जनता नेपालका प्रधानमन्त्री माननीय ओलीजीलाई भव्य स्वागत गर्न आँतुर छन्, उहाँको भ्रमण सफल बनाउन हामी कुनै कसर बाँकी राख्दैनौं।’ भारतले नेपालको विकास र समृद्धिमा सहयोग सँधै सहयोग गर्ने उनको विश्वास थियो ।

त्यस्तै भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले पनि ओलीको भ्रमणलाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग र समर्थन रहने विश्वास दिलाए ।

नेश्नलिष्ट कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीपनि ओलीको भ्रमणसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुनेमा विश्वस्त छन् । धमलासँगको कुराकानीमा उनले भने,‘उहाँको भ्रमण सफल बनाउन हामी तयार छौं, भ्रमणले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मद्दत पुर्याउँछ।’

कंग्रेस आईका महासचिव गुलाम नाबी अजादले पनि ओलीको भारत भ्रमणको समर्थनमा आफ्नो पार्टी रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टी उहाँको भ्रमण पूर्ण रुपमा सफल होस् भन्ने पक्षमा छ । भाजपा र मोदीजीले छाती ठूलो बनाउनुपर्छ ।’

भारतीय जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले पनि ओलीको भ्रमणलाई फलदायी र ऐतिहाँसिक बनाउन आफूहरुले लागिपरेको प्रतिक्रिया पत्रकार धमलालाई दिए ।

ओलीको भ्रमणलाई लिएर भारतीय विदेशमन्त्रालयमा गृहकार्य सुरु भएको छ । भोलि नयाँ दिल्ली पुग्ने प्रधानमन्त्री ओलीको कार्यतालिका व्यस्त छ । उच्चस्रतीय भेटवार्ता भने ओलीले पर्सीमात्रै गर्नेछन्।

नयाँ दिल्ली ओर्लिएकै दिन उनले उद्योगपतिहरुले आयोजना गरेको एक कार्यक्रममा भाग लिने र दिल्लीस्थित् नेपाली दुतावासमा नेपाली अधिकारीहरुसँग सामूहिक भेट गर्ने कार्यक्रम रहेको छ ।

भारतका सबै राजनीतिक दलका नेताहरुले भ्रमण सफल हुने भन्दै शुभेच्छा व्यक्त गरेका छन् । ओलीले यसपटक भारतमा आर्थिक समृद्धिको विषयमा केन्द्रित रहेर छलफल गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्