ऋषि धमला : नेपाली माटोको क्षमतालाई बुझेका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको वनजंगलमा फुल्ने फूलको सुगन्धलाई समेत राम्ररी चिन्न सक्छन् । राजनीतिको तल्लो एकाइबाट संघर्ष गर्दै देशको शक्तिशाली प्रधानमन्त्री बनेका उनले पञ्चायतको कठोर यात्रा हुँदै राजाको निरंकुश शासनको प्रत्यक्ष सामना गरेका छन् । १४ वर्षको कठोर जेलजीवन बिताएका उनीसँग सरकार सञ्चालनको सफलतम जिम्मेवारी पूरा गरेको अनुभव छ ।
देशको विशिष्ट परिस्थितिमा गृहमन्त्री बनेका थिए ओली । गृहजस्तो संवेदनशील मन्त्रालय सम्हाल्दा उनी कहिले विवादमा आएनन् । देशमा ऐतिहासिक जनआन्दोलन सम्पन्न भई गिरिजाप्रसाद कोइरालाजस्ता टावर पर्सनालिटी प्रधानमन्त्री हुँदा दोस्रो वरीयतामा रहेर ओली उपप्रधान तथा परराष्ट्रमन्त्री बने । उक्त जिम्मेवारीले उनको कूटनीतिक क्षमतामा निखारता ल्यायो । छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध राखेर काम गरेकाले शान्ति प्रक्रिया सही दिशातर्फ उन्मुख भएको थियो ।
लामो राजनीतिक आरोह र अवरोहले निखारिएर र तिखारिएर ओली दोस्रोपटक देशको प्रधानमन्त्री बनेका छन् । वाम गठबन्धनको बहुमत हुनु र असन्तुष्ट भनिएका मधेसवादी दलहरूको पनि समर्थनसहित दुई तिहाइको मतद्वारा विश्वासको मत लिन सक्नुले ओली उत्साही भएका छन् । उनले काम गर्ने भए गर नत्र पद छाड् म पनि छाड्छु भनिसके । यसबाट उनमा काम गर्ने जोस, जाँगर र हिम्मत भएको बुझ्न सकिन्छ । सँग सँगै निर्णय क्षमता समेत प्रदर्शन गर्न थालेका छन् । देशमा केही गरेर देखाउने अवसर प्राप्त भएको छ । त्यसैतर्फ बढेका छन् । विश्वासको मत लिँदा भनेका छन्— म अब एमालेको वा वाम गठबन्धनको मात्र प्रधानमन्त्री होइन, नेपाल राष्ट्रको प्रधानमन्त्री हुँ ।
सिंगो देशको स्वार्थअनुसार आफूले काम गर्न वाचा गरेका ओलीको सपनाहरू धेरै सुनिएका छन् । अब त्यसलाई पूरा गर्ने उनको नीति, कार्यशैली र निर्णय क्षमतामा भर पर्छ । त्यसका लागि उनले देशभित्र मात्र नभई देशबाहिरका हितचिन्तकहरूलाई समेत विश्वासमा लिन सक्नुपर्छ । विशेषगरी भारत र चीनसँग ओलीले राख्ने सम्बन्ध र सन्तुलनले उनको सफलताको कडी निर्धारण गर्नेछ । अर्कोतर्फ अमेरिका, युरोपेली युनियनका अलावा रूसको समेत नेपालमा चासो रहेकाले उनीहरूसँगको सम्बन्धको महत्व आफ्नै छ । दक्षिण एसियाका मित्रहरूसँग ओलीले कस्तो नीति लिएर काम गर्नेछन् भन्ने विषय उत्तिकै सान्दर्भिक छ ।
ओली-मोदी सम्बन्ध
नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतको सहयोग र सद्भाव थियो । उसले चुनावी परिणामको स्वागत गर्न कुनै कञ्जुस्याई गरेन । विगतका राजनीतिक परिवर्तनहरूमा समेत भारतको सहयोग र सद्भाव रहँदै आएको थियो । संघीय गणतन्त्रात्मक प्रणालीको मुख्य प्रस्थानबिन्दु बाह्रबुँदे समझदारीमा भारतले मध्यस्थताको भूमिका निभाएको छिपेको छैन । भारतको रचनात्मक भूमिकाले देशमा दशक लामो द्वन्द्व अन्त्य गर्न मुख्य राजनीतिक दलहरू सहमतिमा पुगेका थिए । त्यसपछिको राजनीतिक व्यवस्थापनमा समेत भारतको सद्भाव रहँदै आयो । बेलाबेलामा सम्बन्धमा केही चिसोपन आउने गरे पनि दुवै देशबीच सम्बन्ध सुधार भइहाल्ने विगतको अनुभव पछिल्लो समयसमेतमा देखिएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भारतको सहयोग र समर्थन रहेकोले यो सम्भव भएको भन्नेहरू पनि छन् ।
चुनावी परिणामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीसँग पटकपटक संवाद गरेका थिए । पछिल्लो समय उनको सीधा कुराकानी हुने गरेको छ । नेपाली जनताले वाम गठबन्धनलाई बहुमत दिएपछि गठबन्धनका शक्तिशाली प्रधानमन्त्री ओलीसँग मोदीले मिलेर काम गर्ने जमर्को गरिसकेका छन् । प्रधानमन्त्री भएपछि मित्रराष्ट्र भारतबाट पहिलो विदेश भ्रमण गर्ने टुंगोमा पुगिसकेका छन् । यसबाट ओली मोदीसँग हातेमालो गरेर देशलाई समृद्धीतर्फ बढाउने दिशामा बढेको प्रष्ट संकेत मिलेको छ । जनताको म्यान्डेट मान्ने हो भने वाम गठबन्धनले देशलाई पाँच वर्ष राजनीतिक स्थिरता दिनुपर्छ । मोदीले यही बुझेर नेपालमा विकास र समृद्धिका लागि सहयोग र समर्थन गर्ने कदम चालिसकेका छन् । ओली र मोदी दुवै आफ्ना कुरा प्रष्ट राख्छन् । दुवैमा कूटनीतिक चातुर्यता पनि छ । भारतीय जनता पार्टीको सामान्य कार्यकर्ता हुँदा नै पटकपटक नेपाल भ्रमण गरेका मोदीले नेपाललाई नजिकबाट बुझेका छन् । नेपाल भ्रमणमा आउँदा मोदीले नेपाली जनताको अपार माया र समर्थन प्राप्त गरेकोले त्यसको जवाफमा नेपाललाई त्यस्तै माया र सद्भाव दिनेगरी व्यवहारमै उतार्न कम्मर कसेर लागेका छन् ।
अब बोलेर होइन नतिजा दिनेगरी मोदीले पाइला चाल्दैछन् । उनको कदम नेपालको समृद्धि र विकाससँग जोडिँदैछ । अरुण तेस्रोको उद्घाटन गर्न मोदी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । ओलीको भारत भ्रमणपछि मोदी नेपाल आउने निश्चित भएको छ । ओलीले मोदीबाट यस्तै अपेक्षा राखेका छन् । अब दुवै देश मिलेर समृद्धिको पाइला चाल्ने गरी दुवै नेताले आ—आफ्ना मुलुकका कर्मचारीहरूलाई समेत निर्देशन दिइसकेका छन् । भारतीय राजदूत मञ्जिभसिंह पुरीको सक्रियता यसैमा छ । उनले ओलीसँग निकट सम्बन्ध राखेर सुमधुर सम्बन्ध बनाएका छन् । नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि मिलेर अगाडि बढ्ने बिन्दुहरू पहिल्याउन भूमिका खेलेका छन् । समन्वयकारी र मित्रवत् व्यवहारका पुरीको आगमनसँग नेपालसँग भारतको सम्बन्ध अझ प्रगाढ बनेको छ । पुरीकै सालिन र बौद्धिक व्यक्तित्वका कारणले ओली—मोदी नेपालको समृद्धी र विकासमा हातेमालो गर्ने निष्कर्षमा पुगेका हुन् ।
ओली नेपालको विकासमा जहिले पनि भारतसँग मिलेर जानुपर्ने पक्षका छन् । नेपालको हित भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेर नै हुन्छ भन्ने अवधारणाका साथ ओलीका पाइलाहरू बढ्ने गरेको छ । छिमेकसँग सन्तुलित सम्बन्ध कायम गरेर देशहितलाई प्राथमिकतामा राखेर छिमेकको चाहना र भावनलाई समेत बुझ्नुपर्ने कूटनीति अवलम्बन गर्दै आएका छन् । ओली र मोदीबीच यही विषयमा समानता देखिन्छ । राष्ट्रवादी छवि बनाएका मोदीले छिमेक नीतिलाई प्राथमिकतामा राखेर आवश्यक पर्दा कठोर निर्णय लिने गरेका छन् । अडान लिन सक्ने र बाहिरबाट कठोर स्वभाव देखिए पनि मोदी बेलाबेलामा लचिलो देखिने गरेका छन् । यही स्वभाव ओलीमा समेत छ । सबैसँगको दूरी कम गरेर सम्बन्धको हात बढाएका ओलीले देशभित्रका सबै असन्तुष्ट पक्षलाई मिलाएर आन्तरिक व्यवस्थानको अब्बल नीति प्रदर्शन गरेका छन् । नेताको छाती फराकिलो हुनुपर्ने मान्यताअनुसार बढेका छन् । त्यसैले उनी इतिहासमा शक्तिशाली प्रधानमन्त्रीमध्येका भएका छन् ।
ओली र मोदी दुवै बलियो नेताका रूपमा स्थापित छन् । दुवै राष्ट्रिय हितमा केन्द्रित हुने स्वभावका छन् । दुवै बीचको केमेष्ट्रि मिलेको छ । यसबाट दुई नेताहरूबीचको सही समन्वयले दुवै देशको हित हुन सक्छ । ओलीको नेतृत्वमा नेपालले समृद्धि हासिल गर्ने आधारहरू तयार हुन सक्छ । भारतले नेपाललाई विकासको मुद्दामा केन्द्रित हुन बारम्बार आग्रह गरिरहँदा ओलीले भारतीय पक्षसँग आर्थिक मुद्दामा प्रष्ट कुरा राख्न सक्छन् । दुवै नेताबीच मन माझेर कुरा हुनुपर्छ । एकअर्काको हितका लागि काम गर्ने प्रस्ट आधार तयार गर्नुपर्छ । नेपालबाट भारतले लाभ लिने प्रशस्त ठाउँ छन् । भारतको द्रूत विकासबाट नेपालले पनि लाभ लिन सक्नुपर्छ । भारतसँग तीनतर्फ भू—भाग जोडिनु र चीनतर्फ अग्ला हिमालहरू भएर भूपरिवेष्ठित हुनु नेपालको अभिशाप होइन वरदान हो भन्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ । त्यसका लागि भारतसँग मित्रवत् सम्बन्ध राख्ने र चीनसँग पनि सुमधुर र प्रगाढ सम्बन्ध राखेर जानुपर्छ । त्यसमा नेपाल र नेपालीको हित हुन्छ । अन्तर्राष्ट्रिय समुदायसँग मिलेर जानुपर्छ । ओलीले भू—राजनीतिक यथार्थलाई बुझेर कूटनीतिक चातुर्यता देखाउने बेला आएको छ । सांस्कृतिक, धार्मिक र राजनीतिक समानताका अलावा भौगोलिक निकटतालाई केलाउँदा भारतसँग विशेष सम्बन्ध अनिवार्य छ । यही सम्बन्धको आधारमा विकासको एजेन्डा मुख्य हुनुपर्छ । आर्थिक क्रान्तिको जग बलियो बनाउनुपर्छ । दक्षिण र उत्तरको आर्थिक उन्नति र प्रगतिबाट सिक्नुपर्छ । देशमा पाँच वर्ष स्थायी सरकार बनेर विकासको माहोल बनाउनुपर्ने आवश्यकता छ । ओली बलियो नेताका रूपमा देशलाई समृद्धीपथमा बढाउन सक्छन् । त्यसका लागि उनको कूटनीतिक क्षमता र त्यसमा पनि छिमेकप्रतिको दृष्टिकोणले फरक पार्छ । ओलीले मोदीसँग मिलेको केमेस्ट्रीलाई देश हितमा सदुपयोग गर्न सक्नुपर्छ ।
सकारात्मक माहोल
ओलीका लागि सबै माहोल सकारात्मक बनेका छन् । मोदीको मन जितेका छन् । त्यसैले ओली प्रधानमन्त्री नहुँदै मोदीले विदेशमन्त्री सुष्मा स्वारजलाई विशेषदूत बनाएर पठाए । पटकपटक टेलिफोन संवाद गरे । दुई नेताबीच सीधा कुराकानी गरेर आपसी हितका विषयमा छलफल हुन थालेको छ । झिनामसिना कुरामा अल्झने परिपाटीको अन्त्य गरी दुई देशको बृहत्तर हितमा केन्द्रित हुन थालेका छन् । स्रोत र साधनका सही सदुपयोगबाट दुवै देशले लाभ लिन सक्ने क्षेत्रबारे काम बढाउने सहमति बनेको छ । दुवै नेता एक्सनमा गएका छन् र परिणामउन्मुख भएका छन् । दुवै नेता शक्तिशाली हुनुले निर्णयहरू ढुक्कसँग गर्न सक्ने अवस्था सिर्जना भएको छ । यसबाट दुवै देशलाई दूरगामी लाभ हासिल हुन सक्छ । नेपालमा भारतले बनाउँदै गरेको हुलाकी राजमार्ग, अरुण तेस्रो जलविद्युत् आयोजनाका अलावा अन्य ठूला आयोजनाका कामले गति लिन सक्छ । नेपालसँग भारतको रेल सञ्जाल जोड्ने लक्ष्य एकपछि अर्को गर्दै पूरा भइरहेको छ । नेपाली व्यापारीले भोगिरहेको बन्दरगाह र ढुवानी समस्याको समाधान हुनेतर्फ काम बढिसकेको छ । यसलाई दुवै नेताहरूको नतिजा उन्मुख एक्सनका रूपमा बुझुन सकिन्छ । ओलीको कूटनीति क्षमता यस्तै नतिजाहरूबाट प्रदर्शन भइरहेको छ ।
आन्तरिक व्यवस्थापन गर्दै ओलीले बाहिरी सम्बन्धबाट लाभ लिने वातावरण निर्माण गर्न सक्छन् । अब एकअर्कालाई गाली गरेर होइन मिलेर जानुपर्ने समय आएको उद्घोष गरेका छन् ओलीले । विकासका लागि छिमेकी भारतसँग हातेमालो गर्दै अगाडि बढ्ने संकेत गरेका छन् । ओलीले प्रचण्डको साथ पाइसके, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकका नेताहरू कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीदेखि नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईको समेत साथ लिनुपर्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई समेत साथमा लिएर अगाडि बढेमा ओलीको समृद्ध नेपाल बनाउने बाटो सहज हुन्छ । ओली र देउवाबीचको समझदारीले मुलुकको राजनीतिक र आर्थिक क्षेत्रमा दुरगामी फाइदा पुग्छ । अब फुटेर होइन जुटेर अगाडि बढ्दै छिमेकी मुलुकसँगको सुमधुर सम्बन्धबाट लाभ लिनुपर्छ । चीनसँगको सम्बन्ध महत्वपूर्ण छ । विश्वकै महाशक्ति बन्दै गरेको चीनको समृद्धिबाट लाभ लिन सक्ने प्रशस्त ठाउँ छन् । चीनसँगको सम्बन्ध भारतलाई चिढ्याउने गरी र भारतसँगको सम्बन्ध चीनलाई चिढ्याउने गरी हुनु हुँदैन । मोदीको विश्वास लिदै गर्दा सी जिङपिङको पनि विश्वास लिन सक्नुपर्छ । विश्वकै सर्वाधिक शक्तिशाली नेतामध्येका जिङपिङ आजीवन चिनियाँ नेता हुन सक्छन् । चिनियाँ कम्युनिष्ट पार्टीले उनलाई सर्वशक्तिमान नेताका रूपमा उभ्याइसकेको छ । उनको नीति छिमेकप्रति उदार र सहयोगी छ । झन् नेपालप्रति उनको दृष्टिकोण सकारात्मक छ । चीनले प्रष्ट सन्देश दिएको छ—नेपालले भारतसँग मिलेर काम गरोस् हाम्रो सक्दो सहयोग गर्छौं । चीनले भारतसँग पनि सुमधुर सम्बन्ध बनाउँदै लगेको छ । दुवै देशबीच बढ्दो व्यापार र लगानीले यसलाई पुष्टि गर्छ । यो यथार्थलाई बुझेर ओलीले भारत र चीनबाट लाभ लिने कार्यशैली अपनाउनुपर्छ । ‘नेबर फष्ट’को नीतिअनुसार चलेका दुवै देशसँग हामीले पनि तदनुरूपको नीति बनाएर काम गर्नुपर्छ । ओलीले यसमा आफूलाई अब्बल सावित गर्न सक्छन् । उनको कूटनीतिक क्षमता विगतमा जसरी प्रदर्शन भएको थियो भविष्यमा पनि हुन सके देशले ऐतिहासिक उपलब्धि हासिल गर्न सक्छ ।
ओलीले कूटनीतिक चातुर्यता देखाउन देशभित्रका शक्तिहरूलाई आश्वस्त पार्दै भारत, चीन, अमेरिका, युरोपेली युनियन, रूसलगायत नेपाल मामलामा विशेष चासो राख्ने देशसँगको सम्बन्धलाई सुदृढ बनाउन सक्नुपर्छ । यसो भएमा देशमा राजनीतिक स्थायित्व र समृद्धि टाढा छैन । उदीयमान भारत र चीनसँगको सुमधुर सम्बन्धको बलमा ओलीले आफूलाई नेपालको समृद्धिको सारथि बनाउन सक्छन् । उनको रथमा प्रचण्ड जस्तो भरपर्दो सारथी छन् । अब उनले गर्ने भारत भ्रमणले आर्थिक समृद्धीका लागि सहयोग जुटाउन सके त्यो सार्थक रहन्छ । नेपाल र नेपालीको मन जित्छन् । ओलीको समृद्धीतर्फको पाइला पनि अगाडि सर्छ । यस्तो कदम चालेमा ओलीले नेपालको राजनीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाउन सक्छन् ।
यो लेख रिपोर्टर्स क्लब नेपालद्धारा प्रकाशित स्मारिका ‘अब समृद्धिको पाइला’बाट साभार गरिएको हो ।