डा.दीपेश केसी : कम्युनिस्ट शासन रहेको चीनमा राष्ट्रपति सी जिङपिङको कार्यकाल असीमित बनाइएको छ । देङ स्याओ पिङपछि चिनियाँ नेताको कार्यकाललाई सीमित बनाइएको थियो । त्यसपछि बनेका राष्ट्रपतिहरूले मात्र १० वर्ष शासन गर्न पाए । तर, कुनै बेला माओत्सेतुङको सांस्कृतिक क्रान्तिको दौरान श्रम शिविरमा राखिएका पिताका पुत्र जिङपिङ माओपछिका शक्तिशाली नेता बन्न पुगे ।
चीनमा कम्युनिस्ट शासनको प्रभाव बढिरहँदा भारतमा कम्युनिस्टहरू कमजोर बन्दै गएका छन् । पश्चिम बंगालबाट ३४ वर्षपछि ममता बेनर्जीको दल तृणामूल कंग्रेसले कम्युनिस्ट शासनको निरन्तरतालाई भंग गरिदियो । पछिल्लो समय भारतको उत्तरपूर्वी राज्य त्रियुगामा कम्युनिस्ट शासन अन्त्य भएको छ । कम्युनिस्ट र वामपन्थी बाहुल्यको उत्तरपूर्वी भारतमा आएको राजनीतिक प्याराडाइम सिफ्टले भारतको अर्को राज्य केरलामा समेत असर पर्न सक्ने राजनीतिक पण्डितहरूले प्रक्षेपण गरिरहेका छन् ।
चीनमा कम्युनिस्ट शासन झन् प्रभावशाली हुँदै जानु र भारतमा कम्युनिस्टहरू बडारिँदै जानुको घटनाक्रमले नेपालमा असर पर्छ नै । नेपालमा कम्युनिस्टहरूले इतिहासमै नपाएको सफलता पाएका छन् । उनीहरूले एउटै घोषणापत्र ल्याएर गठबन्धन बनाएर चुनाव लडेर बहुमत ल्याएका छन् । कम्युनिस्टहरूको जितलाई कतिपयले चिनियाँ प्रभाव पनि भन्ने गर्छन् । माओत्सेतुङलाई आदर्श मानेर सशस्त्र जनयुद्धसमेत गरेको माओवादी र पछिल्लो समय चीनसँग निकै निकट बनेको एमाले नेतृत्वका कारण यस्तो अर्थ लगाउनु स्वाभाविक पनि हो ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि भारतको भ्रमण गर्ने परम्परा तोड्दै चीनको भ्रमण गरेका थिए । संविधान जारी गर्दा देखि नाकाबन्दीको घटनापछि केपी शर्मा ओली चीनसँगको ढोका उघार्नुपर्ने भन्दै लागिपरेका छन् । चीनसँगको पारवहन सन्धि उनकै पालामा भएको थियो । यस घटनाले दिल्लीमा नेपाल मामलाका जानकारदेखि नेपाल डेस्क हेर्ने अधिकारीहरूमाझ हलचल ल्याएको थियो । ओलीका बोलीहरू भारतप्रति नकारात्मक बन्दै गएको र यसो हुनुमा कस्को दोष ? भन्नेबारे समेत दिल्लीमा बहस नभएका होइनन् । बेइजिङमा नेपालमा भारतप्रति नकारात्मक सोच विकास भइरहेकोले चीनले भूमिका बढाउनुपर्ने विषयमा बहस नचलेको होइन । ‘राष्ट्रवादी’ दाबी गर्ने कतिपयले चीनको भूमिका वृद्धिले भारतलाई नेपाल मामलामा कमजोर बनाई नेपाललाई लाभ पुग्ने तर्क गर्दछन् । तिनको चीन आवत्जावत जति बढ्छ उति नै यस्ता धारणाहरू विकास हुन्छन् ।
ओली कता ?
वाम गठबन्धनको बहुमतको सरकार बनेपछि नेपालका प्रमुख नेताहरू कुन विदेशी शक्तिसँग नजिक छन् भनेर चिया पसलदेखि प्राज्ञिक थलोसम्म बहस हुने गरेको छ । तर, स्वयम् ती नेताहरू आफूलाई नेपालपरस्त भन्छन् । केपी शर्मा ओलीले कुनैबेला भारतसँग महाकाली सन्धिलाई साकार बनाउन मुख्य भूमिका खेलेको इतिहास साक्षी छ । ओलीको उक्त भूमिका व्यक्तिगत राजनीतिमा समेत जोखिम थियो । सोही सन्धिका कारण नेकपा एमाले विभाजित भएको थियो । ओलीले सन्धिको सकारात्मक पक्षबारे अदूरदर्शी विचारहरूसमेत राखेको रेकर्डहरू सुन्न र पढ्न पाइन्छ । उनको भारतीय अधिकारीदेखि विद्वानहरूसँगको सीधा सम्बन्ध लुकेको छैन । तर, संविधान निर्माणका बखत ओली कुनै पनि दबाबबाट डगमगाएनन् । यतिसम्मकि उनले आफूलाई छिमेकको कर्मचारीले दबाब दिन खोजेको खुलासा विभिन्न माध्यमले गरे । नाकाबन्दीका दौरान ओलीको बोली कडा बन्यो । उनले भारतको नाम तोकेरै आलोचना गर्थे । मौकामा बोलेका ओली ‘राष्ट्रवादी’ पहिचान बनाउन सफल रहे । उनको परम्परागत मित्र भारतसँगको दूरी बढ्दै गयो । नाकाबन्दीपछि नेपालले पारवहनलगायतमा भारतसँगको निर्भरता अन्त्य गर्नुपर्ने धारणा सार्वजनिक गर्दै ओलीले कदमसमेत चाले । उनको यो कदमले दिल्लीमा नयाँ बहस जन्मियो—नेपाल चीनतर्फ ढल्कियो । चिनियाँ अधिकारीहरूको बाक्लो नेपाल आवत्जावतप्रति गम्भीर भारतीय पक्षका लागि ओलीको कदमले ध्यानाकर्षण बढाउनु स्वाभाविक नै थियो ।
ओली ‘भारतको असल मित्र’ भन्नेहरूले भारतको वर्तमान सरकारले मित्र गुमाइरहेको बताइरहेका थिए । जसमध्ये कंग्रेस आईका नेता मणिशंकर अयर मुख्य थिए । भारतीय कम्युनिस्ट नेतादेखि वामपन्थी विचारकहरूसमेत सत्तापक्षको आलोचना गरिरहे । ओली चीनपरस्त भनी कतिपय लेखकहरूले अन्धाधुन्दा लेख्न छाडेनन् । तर, ओलीले आफू कहिले भारतविरोधी नभएको दोहो¥याइरहे । यति भन्दै गर्दा उनले आफूलाई नेपालपरस्त भन्न पनि छाडेनन् । भारतसँग देखिएको ओलीको चिसिएको सम्बन्ध चुनावी घटनाक्रम र नतिजाले बाहिर देखेजस्तो नभएको तर्कलाई बल पु¥याएको छ । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट विशेष महत्व पाइरहे । प्रधानमन्त्री नबन्दै भारतबाट उच्च तहको भ्रमण आफैंमा सन्देश थियो । तर, ओली प्रधानमन्त्री बनेलगत्तै पाकिस्तानी प्रधानमन्त्री अब्बासको नेपाल भ्रमणले चर्चा पाएको छ । अब्बासले चीनद्वारा अगाडि सारिएको वन बेल्ट वन रोडको विषयलाई जोड दिएर गएका छन् । यसले ओली चीनतर्फ ढल्किएको आशंका बढाउन मद्दत गरेको छ ।
दुई शक्तिशाली देश चीन र भारतको दक्षिण एसियामा प्रतिस्पर्धा खुलमखुल्ला देखिएकै छ । नेपाललगायत श्रीलंका, बंगलादेश, भुटान, अफगानिस्तान र मालदिभ्समा भएका पछिल्ला घटनाक्रमले यसको पुष्टि गर्छ । भारतले आफ्नो प्रभाव क्षेत्र मान्दै आएको दक्षिण एसियामा चीनको उपस्थिति बढ्दो छ । श्रीलंका र मालदिभ्समा चिनियाँ लगानीबारे भारतको चासो बढेको छ । मालदिभ्सको पछिल्लो राजनीतिक अस्थिरतामा एउटा पक्षले भारतलाई हस्तक्षेपको आग्रहसमेत ग¥यो । चीनको भुटानसँग दोक्लाम विवादमा भारत संलग्न भयो । दोक्लाम मामलामा दुई देशबीच युद्धको अवस्थासमेत पैदा भयो । तर, एसियाका दुई शक्तिशाली मुलुकले युद्ध गर्नु भनेको विनाश निम्तिनु हो भन्ने यथार्थ बुझेका भएर हुन सक्छ युद्ध ट¥यो । दोक्लाम मामलामा नेपाल मौन बस्यो । सायद, भारत आफ्नो पक्षमा नेपालले बोलिदेओस् भन्ने चाहन्थ्यो । यस घटनामा नेपालले कूटनीतिक सुझबुझ देखायो । तर, भारतभित्र नेपाल चीनतर्फ ढल्कँदै गएको आशंकाले बल पायो । कतिपयले ओलीलाई चीनपरस्त हुँदै गएको सम्म भन्न भ्याए ।
अब ओली दोस्रोपटक प्रधानमन्त्री भएका छन् । नेपालका प्रभावशाली नेताहरूमध्ये भारत र चीनलाई नजिकबाट बुझ्नेमध्येमा पर्दछन् । उनका राजनीतिक गुरुहरूले छिमेकीहरूको चरित्रबारे राम्ररी जानकारी गराएका होलान् । त्यसमाथि गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएर काम गरेका ओलीले विदेश सम्बन्धदेखि छिमेकीको कार्यशैलीबारे धेरै बुझेका छन् । नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्दा राष्ट्रिय हितको संवद्र्धन र प्रवर्तन हुन्छ भन्नेबारे ओलीलाई राम्रो हेक्का हुनुपर्छ । उनले चाल्ने कदमले नेपालको दूरगामी हित वा अहित जे पनि गर्न सक्छ । ओली कुनै देश विशेषको स्वार्थको खेलौना बनिदिए देशले क्षति भोग्न सक्छ । इतिहास साक्षी छ कि देशभित्र भएका हरेक ठूला घटनाका पछाडि कूटनीतिक सुझबुझको अभाव मुख्य कारण हो । माओवादी गतिविधिमा आन्तरिक कारण मात्र मुख्य थिएन बाह्य कारणले समेत भूमिका खेलेको थियो । राजाको प्रत्यक्ष शासनदेखि देशभित्र भएका राजनीतिक अस्थिरताका कतिपय विषयका पछाडि कूटनीतिक असक्षमता पनि एउटा कारण थियो ।
देशभित्र अनेकन मुद्दाहरू उठेका छन् । त्यसको सम्बोधन आन्तरिक सहमतिबाट हुन्छ । तर, बाह्य खेलाडीहरूको आ—आफ्ना स्वार्थ नभएका होइनन् । गम्भीर समस्याहरू समाधान गर्दा कूटनीतिक चार्तुयता आवश्यक पर्छ । चाहे त्यो मधेस मामला होस् या जनजातिका मामला । या भनौं धर्मको मुद्दा नै किन नहोस् । नेपाल जस्तो सामरिक महत्वको देशमा विदेशीहरूको चासो हुनु स्वाभाविक पनि हो । मुख्य विषय आफ्नो राष्ट्रिय स्वार्थ हो । ओलीका सामु यी चुनौतीको पहाड तेर्सिएका छन् जुन भाषणले होइन व्यवहारले मात्र पार लाग्न सक्छ । बोल्ड निर्णय र जोखिम मोल्ने क्षमताले देशभित्रका यावत् समस्याहरूको सम्बोधन हुन सक्छ । यी ओलीका दायित्वभित्र पर्छन् । उनले भनेको समृद्धिको यात्राका लागि राजनीतिक स्थायित्व अनिवार्य छ । त्यसका लागि कूटनीतिक चार्तुयता अनिवार्य छ ।
सन्तुलित सम्बन्ध
ओलीको एउटा प्रश्नको सटिक जवाफ हुन्थ्यो, बालकले हात्ती किनिदेऊ भन्दा किनिदिन सकिन्छ र झोला किनिदेऊ भन्दा किनिदिन सकिन्छ तर हात्तीलाई झोलामा राखिदिन सकिँदैन । कहिलेकाहीँ विदेशीले पनि यस्तै अड्को थाप्न सक्छन् । शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थ लाद्न विभिन्न बहानामा दबाब दिन खोज्छन् । बलियाले निर्दोलाई कतिसम्म पेल्न खोज्छन् भन्ने विषय बाघ र पाठाको कथा उदाहरण हो । खोलाको केही तल पानी पिइरहेको पाठालाई बाघले किन पानी धमिल्याइस् भनेर निहुँ निकाल्छ । यस्तै अवस्था हाम्रो जस्तो देशले पनि बेलाबेलामा भोग्छ । झन् महाशक्ति बन्ने होडमा रहेका दुई विशाल मुलुकको बीचमा रहेको भू—परिवेष्ठित देशको आफ्नै चुनौती छ । दुई देशको मन जित्न र लाभ लिन उनीहरूसँगको सुमधुर सम्बन्धबाट सम्भव छ । कुहिनाले पहाड ठेलेर ठेलिँदैन, जुँगा मुसार्दैमा काजी भइँदैन । यो यथार्थलाई मनन् गरेर सम्बन्ध प्रगाढ बनाउने कदम चाल्नुमा ओलीको मात्र नभई देशको हित हुन्छ ।
इतिहास साक्षी छ कि नेपाललाई भारतले कहिले प्रत्यक्ष आक्रमण गरेको छैन । सम्बन्धमा चिसोपन बेलाबेलामा आएको हो । भारतले उसको स्वार्थका लागि दबाब दिन नाकाबन्दी पनि बेलाबेलामा लगाएको लुकेको छैन । त्यो कुनै पनि सच्चा नेपालीका लागि सह्य कदम होइन । पछिल्लो समयको नाकाबन्दीले भारतलाई उत्तिकै घाटा पुग्यो जति नेपाललाई पुग्यो । नेपालीहरूको मन कुँडियो । यो यथार्थलाई मनन् गरेर होला भारतले नेपालका नेताहरूसँग सम्बन्ध सुमधुर बनाउने हात बढाएको छ । यो नेपालको हितमा छ । यसलाई मनन् गरेर बढ्न सके देशलाई दूरगामी फाइदा पुग्छ ।
भारतसँग नेपालको सम्बन्ध सरकारी तहमा मात्र होइन जनता तहमा समेत छ । देशले कोरेको सीमालाई समेत नमानेर जनताले एक अर्को देशमा खेतीपाती गरिरहेका छन् । सीमाभन्दा परको सम्बन्धलाई धुमिलिन दिनु हुँदैन । बरु जनता तहको सम्बन्धबाट समृद्धिका लागि लाभ लिन सकिन्छ । जनताबीचको सम्बन्धको सेन्टिमेन्टलाई बिगार्न खोज्नेहरूले ठूलो धक्का व्यहोर्नुपर्छ । सम्बन्धको सुन्दर पक्षबाट लाभ लिने अवसर ओली सरकारलाई छ । भारतले नेपालमा ठूला जलविद्युत् आयोजनाहरूको निर्माण अगाडि बढाएको छ, उत्पादनशील क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरूले ध्यान खिचिरहेका छन् । नेपाल स्रोतले सम्पन्न मुलुक हो । यसको समुचित सदुपयोगबाट भारतलाई समेत लाभ हुन्छ । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारतसँग मिलेर काम गर्दा दुवै देशको भलो हुन्छ ।
चीनको प्रभाव विश्वभर फैलिइसकेको छ । आक्रामक आर्थिक नीति बोकेर चीन दक्षिण एसियामा समेत बढिरहेको छ । तर, चीनसँगको भौगोलिक कठिनाइ तीतो सत्य हो । नेपाल चिनियाँ उत्पादनको सुरक्षित बजार बनिरहेको छ । तर, नेपालले यही उत्पादनका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न सक्नुपर्छ । यसबाट रोजगारीको अवसर सिर्जना हुन्छ । चिनियाँ लगानी नेपालमा हुन सके उसले सवा अर्बभन्दा बढी जनसंख्या भएको भारत मात्र नभएर आधा अर्बभन्दा बढी जनसंख्याको दक्षिण एसियामा उत्पादनको बजार लिन सक्छ । चीनको समृद्धि हेरेर रहर गर्न सकिन्छ तर त्यसबाट लाभ लिन मेहनतको जरुरी पर्छ । सरकारमा रहेकाहरूको सही नीति र निर्णयले धेरै फरक पर्न सक्छ । हामी ठूला देशका लागि सुरक्षित बजार मात्र बनिरहेका छौं, हामीले उत्पादक क्षेत्र बन्ने कहिले ? हाम्रो संवेदनशील क्षेत्रहरू बलिया देशका क्रीडास्थल बनेका छन् हामी उनीहरूका लागि सुरक्षित पर्यटकीय गन्तव्यस्थल बन्ने कहिले ? हामी बढी बोल्ने, कम सुन्ने र माखो नमार्ने संस्कारबाट ग्रसित भइसकेका छौं । अब हामी कम बोल्ने, धेरै सुन्ने र अत्यधिक काम गर्ने बन्ने कहिले ? यसका लागि हामीमा राजनीतिक स्थिरताको खाँचो छ । नेतृत्वको सन्की होइन दूरगामी सोच र कदमको खाँचो छ ।
अन्तिम अवसर
कूटनीतिक चार्तुयताबाट पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरणको अभियानलाई मूर्तरूप दिए, जंगबहादुरले राष्ट्रको अस्तित्वमात्र जोगाएनन् कूटनीतिक चार्तुयताबाट भूमि बढाए, बीपी कोइरालाले कूटनीतिक चार्तुयताबाट देशमा लोकतन्त्रको प्रभाव फैलाए, निरंकुश नै भनिए पनि राजा महेन्द्रले भौतिक विकासको लहर चलाए, गिरिजाप्रसाद कोइरालाले आन्तरिक द्वन्द्वको चपेटामा परेका मुलुकलाई शान्तिको मार्गमा लान कूटनीतिक चार्तुयता देखाएका थिए । सुशील कोइराला, प्रचण्ड र ओलीको अडान र जोखिमयुक्त कदमले देशले संविधान पाएको छ । अबको युग समृद्धिको युग हुनुपर्छ । देशमा राजनीतिक धेरै ठूला ठूला गफ भए अबको पिँढीले विकास र समृद्धिको सपना देखेको छ । त्यसलाई साकार रूप दिन देशभित्र युद्धस्तरमा काम गर्ने परम्परा विकास हुनुपर्छ । कूटनीतिक चार्तुयता देखाउँदै छिमेकी मुलुकहरू भारत र चीनमात्र नभई अन्य शक्तिहरूसँग सन्तुलित र आवश्यकतासम्मको हिमचिमबाट अगाडि बढ्नु जरुरी छ । अब लड्ने कुराले देश बन्दैन समृद्धिका लागि बढ्ने कुरा जनताको मनमस्तिष्कमा भर्नुपर्छ । जोसिला र लडाकु शैलीमा बोल्ने ओलीले अब समृिद्धका लागि युवाहरूमा जोस भर्नुपर्छ । विदेशीलाई गाली गरेर होइन सहमतिमा ल्याउने खुबी देखाउनुपर्छ । यसैमा नेपाल र नेपालीको कल्याण हुन सक्छ । ओलीका सामु अवसर आएको छ । यो कम्युनिस्टहरूका लागि पनि अन्तिम अवसर हो । उनको कदम गलत भएमा देशले मूल्य चुकाउनुपर्छ । त्योभन्दा बढी कम्युनिस्टहरू भारतमा बढारिँदै गए जस्तो अवस्था आउन सक्छ । इतिहासले दिएको अन्तिम अवसर कम्युनिस्ट गठबन्धन बनाएर बहुमतको प्रधानमन्त्री बनेका ओलीले नचुकाउन् !
(डेढ दशकदेखि पत्रकारितामा सक्रिय केसी लामो समय रिपोर्टर्स क्लब नेपालमा सक्रिय रहे । अनुसन्धानमूलक लेख रचना प्रकाशित गर्दै आएका उनी जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेर पछिल्लो समय अध्यापन र अनुसन्धानमूलक पुस्तक लेखमा सक्रिय छन् ।)
यो लेख रिपोर्टर्स क्लब नेपालद्धारा प्रकाशित स्मारिका ‘अब समृद्धिको पाइला’बाट साभार गरिएको हो ।