Logo

ओलीको समृद्धिको यात्रामा मोदीको साथ



  • ऋषि धमला : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि गर्ने भारतको राजकीय भ्रमणलाई लिएर यसपटक नेपाली जनमत विभाजित भएको छैन । देशको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका ओलीको भ्रमणलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पूर्ण समर्थन गरेको छ । त्यति मात्रै नभएर संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, नेपाली जनताको समर्थन र सद्भाव बोकेर ओली भारत भ्रमण जाँदै छन् । उनको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने पक्कापक्की भएको छ ।
  • पहिलोपटक प्रधानमन्त्री भएर भारत जानु र अहिले दोस्रोपटक प्रधानमन्त्री भएर जानुमा ओलीका लागि धेरै अनुकूलता र देशका लागि लाभ लिने प्रचुर सम्भावना बनेको छ । अहिले पाँच वर्षका लागि प्रधानमन्त्री बनेका ओलीसँग सामाजिक–सांस्कृतिक, धार्मिक, राजनीतिक र आर्थिक विषयमा खुलेर कुरा गर्ने पक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन् । दुवै समकक्षीहरूले ‘वान टु वान’ कुरा गर्दा विगतमा देखिएको अविश्वास र असमझदारीलाई सदाका लागि अन्त्य गर्दै बदलिँदो परिवेशमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँदै सम्बन्धमा नयाँ आयाम थप्न हातेमालो गरेर अघि बढ्ने निश्चित छ ।
  • ओलीको भ्रमणले द्विपक्षीय सम्बन्धमा के कस्ता प्रभाव पार्ला भन्ने जिज्ञासा यतिबेला दुवै देशमा उठेको छ । ओलीको भारतसँगको सम्बन्धबारे विभिन्न टीकाटिप्पणी भइरहँदा अब हुने भ्रमण र त्यसको उपलब्धिबाट धेरै विषय प्रस्ट हुनेछ । ओलीले भारतसँग यसपटक नयाँ सन्धि सम्झौताभन्दा पनि विगतमा भएका सहमति र समझदारीलाई कार्यान्वयन गर्ने र द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउँदै समृद्धिको पाइलालाई अगाडि बढाउने पहल थालेका छन् । यसमा उनको कूटनीतिक क्षमताले मुख्य भूमिका खेल्न सक्छ ।
  • एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकै शक्तिशाली बनेका छन् । नेपालको इतिहासमा वामपन्थीले झन्डै दुई तिहाइको बहुमत ल्याएको यो पहिलो अवसर हो । यस्तो सुनौलो अवसरमा ओली प्रधानमन्त्री बन्नु ऐतिहासिक अवसर बन्यो । राष्ट्रवादको जगमा टेकेर राजनीतिक उचाइ हासिल गरेका ओली र भारतीय समकक्षी नरेन्द्र मोदीमा धेरै विषयमा समानता छन् । मोदी पनि राष्ट्रवादको सिद्धान्तको जगमा टेकेर राजनीतिमा उदाएका हुन् । मोदी आफैं भारतीय राजनीतिमा चमत्कारी व्यक्तिका रूपमा परिचित छन् । उनी राजनीतिक सुझबुझ, क्षमता र अनुभवले खारिएका नेता हुन् । भारतमा मोदीको जादुमयी व्यक्तित्वको चर्चा छ ।
  • भारतीय जनता पार्टीले मोदीकै कमान्डमा इतिहासमै पहिलोपटक बहुमत ल्यायो । उनी भारतको इतिहासमा शक्तिशालीमध्येका एक प्रधानमन्त्री हुन् । ओली र मोदी दुवै आआफ्नो देशमा निकै लोकप्रिय मानिन्छन् । जनमनमा बस्न सकेका दुवै नेताबाट जनताले धेरै अपेक्षा गरेका छन् । मोदीको एकछत्र प्रभाव भारतमा त देखिसकेको छ । पछिल्लो समय नेपाली राजनीति पनि ओलीमय बनेको छ । दुवै नेतालाई जनता र राजनीतिक दलहरूको अपार समर्थन छ । निर्णय क्षमता राख्ने र कुशल नेतृत्व दिन सक्ने यी दुई शक्तिशाली नेताबीच नयाँ दिल्लीमा शनिबार हुने भेट आफंैमा अर्थपूर्ण र महŒवपूर्ण हुनेछ । दुवैले मन माझेर कुरा गर्न सक्ने अवस्था छ । देशभित्र प्रभावशाली भइसकेकाले ओली र मोदीलाई बाह्य सम्बन्ध सुदृढ गर्न आवश्यक निर्णय लिन सहज छ । आपसी हितमा खुलेर कुरा गरी द्विपक्षीय हितमा महŒवपूर्ण निर्णयहरू लिन सक्छन् । समयले दुवै नेतालाई साथ दिएको छ । ओलीले मोदीसँग के कुरा गर्छन् ? कस्तो प्रस्ताव राख्छन् र उनीहरूबीच कस्तो समझदारी विकसित हुन्छ, त्यसमा नेपाल र नेपालीको भविष्य गाँसिएको हुन्छ ।
  • अबको एजेन्डा
  • मोदीले आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेपछि भारतले आर्थिक विकासमा छलाङ मारिरहेको छ । भारतलाई समृद्ध र शक्तिशाली मुलुक बनाउने मोदीको लक्ष्य छ । त्यसैले मोदीले भारतका लागि लिने निर्णयहरू आर्थिक प्रगतितर्फ लक्षित छन् । मोदी युगमा भारतभित्र नोटबन्दीजस्तो कठोर निर्णय लिइयो । जसका कारण भारतको अर्थतन्त्रमा कालोधनको प्रभाव कमजोर भयो । सदाचार र सुशासनको युग आरम्भ भयो । मोदीले कर प्रणालीमा सुधार गरे । किसानको हितमा काम गरे । आन्तरिक उत्पादन वृद्धि गर्दै निर्यातमुखी अर्थतन्त्रमा जोड दिए । मोदीले छिमेकलाई उच्च प्राथमिकतामा राखेर नीति बनाए । नेपालसँगको सम्बन्धलाई विशेष महŒव दिए । मोदीले स्वच्छ र समृद्ध भारतको नारालाई व्यवहारमा उतारिरहेका छन् । उनको एजेन्डा नै आर्थिक सम्पन्नता हासिल गर्नु हो । केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपालको नारा अगाडि सारेका छन् । पछिल्लो समय उनको अभिव्यक्ति र कदम समृद्धितर्फ लक्षित छ । आफ्नो कार्यकालमा देशलाई समृद्धिको मार्गमा पु¥याउने अठोट गरेका छन् । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने उद्घोष गरिसके । उनले आफू पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने उद्घोषलाई धेरै ठाउँमा दोहो¥याएका छन् ।
  • सुशासन र सदाचारले देशमा आर्थिक क्रान्ति गर्ने ओलीको लक्ष्य छ । अब जनतालाई सम्पन्न बनाउने र देशको विकासमा केन्द्रित रहने ओलीको संकल्प छ । मोदीले जसरी आर्थिक विकासमा जोड दिएका छन्, ओलीले पनि त्यही विषयमा जोड दिएका छन् । दुवै नेताको एजेन्डामा समानता छ । दुवैका मन मिलेको छ, एजेन्डा मिलेको छ । ओली—मोदी कनेक्सनमा समान एजेन्डाले सकारात्मक नतिजा ल्याउन सक्ने आधारहरू पर्याप्त छन् । ओलीको समृद्धितर्फको पाइलामा मोदीको समर्थन देखिइसकेको छ । वामपन्थी गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्री नहुँदै मोदीले ओलीप्रति सद्भाव देखाइसकेका थिए । ओली र मोदीबीच टेलिफोनमार्फत सिधा कुराकानी हुन थालिसकेको थियो । अब भारत भ्रमणका दौरानमा दुवै नेताबीच हुने ‘वान टु वान’ वार्ताको विशेष महŒव रहनेछ । ओली र मोदीबीचको वार्तामा मन माझेर कुरा गर्न सक्छन् । विगतका तीतामीठा घटना बिर्सेर नयाँ शिराबाट आर्थिक विकासमा कसरी हातेमालो गरेर अगाडि बढ्न सकिनेछ भन्नेबारे गम्भीर छलफल हुने संकेत मिलिसकेको छ । दुवै देशको तयारी हेर्दा ओलीको भ्रमण ऐतिहासिक र कोसेढुंगा सावित हुने लख काट्न थालिएको छ । दुवै देशबीचको भौगोलिक निकटता र सांस्कृतिक समानताका अलावा जनस्तरको सम्बन्धलाई आर्थिक विकासमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि ओलीको यसपटकको भ्रमणमा कुराकानी हुँदै छ ।
  • भ्रमणमा नयाँ सन्धिसम्झौता नहुने निश्चित भए पनि समृद्धि र विकासका लागि नयाँ समझदारी गर्नुपर्ने अवस्था आउन सक्छ । यसका लागि दुवै प्रधानमन्त्री तयार हुनुपर्छ । भ्रमणमा जाँदाखेरि सन्धि र सम्झौता गर्दै गर्दिन भन्ने होइन तर गर्दाखेरि देश र जनताको हित र चाहनाअनुसार गर्नुपर्छ । विगतका सन्धि सम्झौताको कार्यान्वयन र कमीकमजोरीबारे छलफल हुँदै छ । भारत–नेपालबीच धेरै सन्धिसम्झौता भएका छन् । यद्यपि, ती सन्धिसम्झौता कार्यान्वयन नहुँदा व्यापक जनगुनासा पनि उत्तिकै मात्रा आइरहेका छन् ।
  • सन् १९५० को सन्धिलगायतका सन्धि सम्झौताको पुनरावलोकनका लागि प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बनाएर प्रतिवेदन मस्यौदा बनेको छ । मस्यौदामाथि छलफल गरी सन्धिबारे के गर्ने भन्नेबारे ओलीको भ्रमणमा छलफल हुने बुझिएको छ । दुवै देशबीच गहिरो र लाभदायक सम्बन्ध निर्माणमा सन्धिसम्झौतामा आवश्यक परिमार्जन गर्ने मार्ग तयार हुन सक्छ । २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि भारतसँग महŒवपूर्ण सम्झौताहरू भए । तर, तीमध्ये कतिपय सम्झौता कार्यान्वयन हुन सकेका छैनन् । कतिपय परियोजना निर्माणमा ढिलाइ भयो । यी समस्याको समाधानमा भ्रमण केन्द्रित हुनेछ । जसरी २०६२/६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद शक्तिशाली प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा पुगेका थिए, ओली पनि त्यस्तै शक्तिशाली प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदै छन् ।
  • उनको दिल्लीमा भव्य स्वागत हुने र भ्रमणलाई भारतीय पक्षले समेत महŒवका साथ लिने संकेत मिलिसकेको छ । भ्रमणको पूर्वतयारीका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी निकै सक्रिय भएका थिए । पुरीले दिल्ली—काठमाडौं ओहोरदोहोर गरेर भ्रमणलाई सफल र सार्थक बनाउन कुनै कसर बाँकी राखेका छैनन् । उनले ओलीसँग विगतमा चिसिएको सम्बन्ध सामान्य अवस्थामा ल्याउनसमेत विशेष भूमिका खेलेको कुरा कसैबाट छिपेको छैन । समन्वयकारी र शालीन कूटनीतिज्ञको परिचय बनाएका उनको लोकप्रियता नेपालमा चुलिइसकेको छ । पुरीको सुझबुझ र सक्रियताका कारण ओलीको भारत भ्रमण ऐतिहासिक हुने वातावरण निर्माण भएको छ । पुरीको भूमिकाले उल्लेखनीय चर्चा पाएको छ । प्रस्ट विचार बोक्ने राजदूत पुरी गतिशील र सरल पनि मानिन्छन् । उनको भूमिका कूटनीतिका लागि अत्यन्तै प्रभावकारी र सबल मानिन्छ ।
  • नेपाल–भारत सम्बन्धमा बेलाबेलामा उतारचढाव आइरहे । छिमेकमा मात्र सीमित नभएको सम्बन्धको पृथक् विशेषता छ । दुवै देशबीच जनमन र रोटीबेटीको सम्बन्ध छ । खुला सीमा भएर गर्न सकिने आवतजावत मात्र नभएर बिहेबारी र नातासम्बन्धले समेत सम्बन्धलाई प्रगाढ बनाएको छ । यति सुन्दर सम्बन्धमा कहिलेकाहीँ गडबड हुँदा नेताहरूले सुझबुझसाथ सुल्झाउने गरेका छन् । नेपालमा कुनै समस्या पर्दा भारतीय पक्षले दिल खोलेर सहयोग गर्दै आएको छ । भूकम्पका बेलामा नेपाललाई सहयोग गर्ने पहिलो देश भारत नै थियो । भारतीय जनताले समेत सहयोग गरे । भारतीय जनताले नेपाललाई पवित्र भूमिका रूपमा लिएका छन् । भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा पशुपतिनाथको दर्शन गरेका थिए । उनले त्यतिबेला पवित्र भूमिमा आउँदा परमानन्द मिलेको बताएका थिए । यस्तो गहिरो सम्बन्ध भएका दुवै मुलुक मिलेर अगाडि बढ्नुपर्नेमा दुवै देशका जनताको जोड छ । जनता–जनताबीचको गहिरो सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने ठाउँहरू प्रशस्त छन् ।
  • यसका लागि दुवै देशले एक–अर्काको सुखदुःखलाई आफ्नै सुखदुःख सम्झेर अगाडि बढ्नुपर्छ । नेपालसँग प्रशस्त स्रोतसाधन छ, भारतसँग लगानी गर्ने क्षमता छ । भारतसँग विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने वैज्ञानिक र दक्ष जनशक्ति छन् र त्यो दिमाग नेपालको स्रोतको उचित सदुपयोगमा लगाउन सकिन्छ । दुवै देशले आपसी हितलाई ध्यानमा राखेर हातेमालो गर्दै अगाडि बढ्न सके सबैको हित हुन्छ । विश्व अर्थतन्त्रमा आफ्नो उपस्थिति बलियो बनाएको भारत यतिबेला तीव्र आर्थिक वृद्धितर्फ बढिरहेको छ र उसको आर्थिक प्रगतिबाट नेपालले पनि प्रशस्तै लाभ लिन सक्ने अवस्था छ ।
  • मोदी र ओलीबीच अन्तरआत्मादेखि सहमति बन्न जरुरी छ । दुवै नेताबीच सहकार्य हुनुपर्छ । मन मिलेको छ, अब व्यवहार मिल्न ढिलाइ हुनुहुँदैन । विगतमा ओलीले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गरेको बखत ओली र मोदीले संयुक्त रूपमा भारतबाट ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय ट्रान्समिसन लाइनको स्वीच थिचेर संयुक्त रूपमा उद्घाटन गरेका थिए । यसपटक ९०० मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणको संयुक्त उद्घाटन गर्दै छन् । यो दुवै नेताबीच सहमति र सहकार्यको उदाहरण हो । यसरी नै मोदी–ओलीको मिलनले नेपाल–भारत दुवैको हित हुने गरी काम हुनुपर्छ । अब ओलीको समृद्धिको पाइलामा मोदीको बलियो र भरपर्दो साथ छ । ओलीले समृद्धिको युगमा मुलुकलाई पु¥याउन भारतको आर्थिक विकासबाट फाइदा लिन सक्ने अवस्था सिर्जना गर्नुपर्छ । देश हितलाई केन्द्रमा राखी भारतसँगको सम्बन्धबाट नै नेपाललाई समृद्ध मुलुक बनाएर राजनेताको स्थान बनाउनुपर्छ । ओलीलाई सफलताको शुभकामना !



प्रतिक्रिया दिनुहोस्