Logo

“मोदी-ओली केमेष्ट्री मिलेको छ, भ्रमणसँगै असमझदारी हट्छ”



नेपालका लागि पूर्व भारतीय राजदुत रञ्ति रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट सुरु भएको तीन दिने राजकीय भारत भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको विश्वास व्यक्त गरेका छन् । रायले ओलीको पहिलो विदेश भ्रमण भारत हुनुले नै नेपाल भारतबीच कस्तो सम्बन्ध छ भन्ने कुरा दर्शाउने बताए । ओलीको भारत भ्रमण, द्धिपक्षीय सम्बन्ध र भ्रमणमा के के विषयमा कुरा हुन्छ भन्ने विषयमा केन्द्रित रहेर नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम “नेपाली बहस” का लागि रायसँग विशेष कुराकानी गरेका छन् । धमला र रायबीच भएको कुराकानीको सम्पादित अंश :

नेपाल-भारत सम्बन्धको पछिल्लो अवस्था कस्तो छ ?

हामीबीच केबल सरकारमा मात्रै सम्बन्ध छैन । व्यक्ति व्यक्तिबीच घनिष्ठ सम्बन्ध छ । भौगोलिक सम्बन्ध छ । साँस्कृतिक सम्बन्ध छ । हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको छ । यसलेपनि के दर्शाउँछ भने दुई देशबीचको सम्बन्ध कति महत्वपूर्ण छ भनेर ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको उपलब्धिहरु के-के हुन सक्छन् ?
जुन सन्दर्भमा यो भ्रमण हुँदैछ, यो धेरै महत्वपूर्ण छ । विगत केही महिना पहिले द्धिपक्षीय सम्बन्धमा मिसअन्डरस्ट्याण्डि थियो । अब यो भ्रमणसँगै हामीबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुन्छ । र, हुनुपनि पर्छ । ओलीजीलाई संसदमा अपार समर्थन मिलेको छ । उहाँलाई संसदमा ८० प्रतिशत समर्थन प्राप्त भएको छ । उहाँ बलियो नेता बन्न चाहिरहनुभएको छ । मलाई लाग्छ अब नेपालमा स्थायित्व हुन्छ । र, विकास हामीहरुको उद्देश्य छ । सबैको साथ, सबैको विकास नै हो । यसमा अब दुवै देश अग्रसर हुन्छन् ।

नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच केमेष्ट्री मिल्न सक्छ ?

मिल्नुपर्छ । यो अति नै जरुरी छ । मलाई लाग्छ, नेपाल र भारतबीच जुन सम्बन्ध छ । यसमा दुवै नेताबीचको केमेष्ट्री मिलेको छ । र, आगामी दिनमा पनि मिल्नुपर्छ । नेपालको भारतमा र भारतको नेपालप्रति जुन ईन्टे«ष्ट छ, त्यसलाई कसैलेपनि अन्डरप्ले गर्न सक्दैन् ।

भ्रमणको दौरान प्रधानमन्त्रीद्धय मोदी र ओलीबीच के के विषयमा कुराकानी होलान् ?

दुवै देशका प्रधानमन्त्रीहरुले एउटा प्रतिबद्धता गर्नुहुनेछ कि यो नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउनुहुन्छ । विगतमा रहेका पूराना असमझदारीहरु अब बात गई, बित गई भनेजस्तै समाप्त गर्नुपर्छ । र, त्यो हुन्छ । नेपालको पोजिसन नै हेर्नुहुन्छ भने मधेशी दलहरु सबै संविधानमा आए । अहिले त मधेशवादी दलहरुपनि सरकारमा सहभागी हुनेबारे चर्चा भैरहेको छ । उनीहरुले सरकारको समर्थन त गरिसकेका छन् । त्यसैले मलाई लाग्छ, अब सन्दर्भ बदलिएको छ । कन्टेक्सट बदलिएको छ । जो पूराना खासगरी विवादित मुद्दा थिए, तीनीहरु अब धेरै महत्वपूर्ण रहँदैनन् । जसरी पहिले महत्वपूर्ण थिए । मलाई लाग्छ, अब द्धिपक्षीय सम्बन्ध नयाँ शिराबाट सुरु हुन्छ ।

नेपालको राजनीतिक एजेण्डा सेटलमेन्ट भैसक्यो त ?

मेरो व्यक्तिगत राय भन्नुहुन्छ भने अहिले पूर्ण भएको छैन । कुनैपनि देशमा जो विविधता छ, उसलाई पूरा गर्नुपर्छ । आजको दिनमा नेपालमा स्टेबल ईक्युलिब्रियम भएको छ ।

नेपालको संविधानलाई भारतीय प्रधामन्त्री मोदीले प्रशंसा गर्नुभएको छैन ?

यो त पूरानो कुरा हो । नेपालमा त्यतिवेला धेरै ठूलो संकट चलिरहेको थियो, धेरै विवाद थियो । त्यतिबेला हाम्रो त्यस्तो पोजिसन थियो । अहिले त नेपालका सबै समूदायले संविधानको स्विकार गरिसकेका छन् । भारतको यसमा कुनै दिक्कत छैन् ।

आर्थिक मामिलामा के-के हुनसक्छ ?

दिर्घकालिन रुपमा हामीले क्षेत्रिय विकासबारे अघि बढ्नुपर्छ । यसको लागि भौतिक पूर्वाधारको विकास जरुरी छ । टा«न्सपोटेशन एग्रिमेन्ट हुन आवश्यक छ । यसका साथै उर्जा र पर्यटन पनि ठूलो आधार हुन् । यदि यी क्षेत्रहरुमा हामी अघि बढ्न सक्यौं भने धेरै विकास गर्न सक्छौं । हेर्नुहोस्, अहिलेपनि बुद्धिष्ट सर्किट छ । रामायन सर्किट छ । उर्जा नेपालको ठूलो संभावना बोकेको देश हो । उर्जाको उत्पादन नेपालले भारत र बंगलादेशलाई बेच्न सक्छ । यो विषयमा हामीले त्रिपक्षीय साझेदारी र सहकार्य गर्न सक्छौं ।

नेपालका प्रधानमन्त्रीले त नेपालमा रेलमार्ग र जलमार्गको पुर्याउने कुरा गर्नुभएको छ नि, यहाँहरुको धारणा के छ ?

नेपालमा रेलमार्ग त थियो । जयनगरदेखि जनकपुरसम्म । अब पनि साँच्चिकै पुग्नसक्छ । प्रोपजल अघि बढाउनुपर्छ । यसको लागि समय त लाग्छ नि । भारतका जो रेलवे मन्त्री हुनुहुन्थ्यो, उहाँ काठमाडौं जाँदा उहाँले रेलमार्ग बनाउनसक्छौं । यो रेलमार्ग त बन्न आवश्यक छ। र बन्छ । दोस्रो कुरा, जलमार्ग त तब बन्छ । यदि कोशी हाई ड्याम्प बन्यो भने कलकत्तादेखि आउने सिप छ, त्यो गंगाबाट आउँछ । त्यही सिप नेपालसम्म जान पाउँछन् । भारतमा बनारशदेखि कलकत्तासम्मको जलमार्ग सुरु भैसकेको छ ।

पञ्चेश्वर परियोजनामा हस्ताक्षर भएको झण्डै दुईक बितिसक्यो, अहिलेसम्म कार्यान्वयन भएन ?

मलाई जहाँसम्म थाहा छ, यो परियोजनामा दु्रत गतिमा काम भैरहेको थियो । अहिलेको अवस्था के छ त्यसबारेमा मलाई जानकारी भएन् । यो परियोजना दुवै देशको लागि उतिकै महत्वपूर्ण छ । दुवै मिलेर यसलाई अघि बढाउनुपर्छ ।

तर अहिलेपनि समस्याहरु त छन नि ?

यसलाई सही तरिकाले अघि बढाउनुपर्छ । परियोजना सम्पन्न गर्नुपर्छ ।

सिमामा देखिएका समस्याहरु कसरी हल गर्ने त ?

सिमामा देखिएका ९८ प्रतिशत समस्याहरुको समाधान भैसकेका छन् । हाम्रो भनाई के हो भने जति एग्रिमेन्ट भएका छन्, तिनीहरुको फाईनलाईजेशन हुनुपर्छ । अहिले दुई वटा ठूलो ईस्यु छ, हो ती विषयमा विवाद छन् । एउटा हो कालापानीको ईस्यु । यो ईस्यु टेक्निकल रुपमा हल हुँदैन । त्यसैले यसलाई राजनीतिक तहबाटै सुल्झाउनुपर्छ । छिमेकी देशहरुमा केही न केही विवाद त भैहाल्छन् नि ।

नेपालप्रति भारतको दृष्टिकोण राजनीति केन्द्रित छ कि आर्थिक केन्द्रित ?
नेपालमा जब संविधान बन्दैथियो, त्यतिवेला हामीले नेपालको समाज विविधता छ । हामीले त सबैलाई समेट्दा राम्रो हुन्छ । दिर्घकालिन हित हुन्छ भनेर भनेका थियौं । अहिले त संविधान बनेरपनि कार्यान्वयन भैसक्यो । मधेशी दल पनि सहभागी भैसके । यी त पूराना कुरा भए । अब मुख्य फोकस त विकास र समृद्धि नै हुनुपर्छ ।

नेपालको विकासको लागि भारतको सहयोगी हातहरु कसरी अघि बढ्छन् ?

महत्वपूर्ण कुरा त के हो भने नेपालमा भारतका जुन जुन परियोजनाहरु छन्, अब तिनीहरुलाई अघि बढाउनुपर्छ । कतिपयहरु कार्यान्वयन भैरहेका छन् । हुलाकी राजमार्ग, अरुण तेस्रो कार्यान्वयन भैरहेका छन् । हुलाकी राजमार्गको काम केही ढिलो भयो, तर भैरहेको छ । पञ्चेश्वर परियोजना अघि बढाउनुपर्छ । त्यस्तै कोशी हाई ड्याम्प छ, यसलाई पनि अघि बढाउनुपर्छ । अहिले चर्चा भैरहेको छ, रेलमार्ग । यी सबै अघि बढाउनुपर्छ । परियोजना कार्यान्वयन गर्दै जाँदा आउने समस्याहरुलाई पनि हल गर्दै जानुपर्छ ।

तपाईको विचारमा १९५० को सन्धि खारेज गर्ने कि पूनरावोलकन ?

के गर्ने हो भन्नेबारे नेपालले निर्णय गर्ने कुरा हो । भारतको पोजिसन त के हो भने नेपालले जे चाहन्छ, चाहे खारेज गर्न चाहोस, चाहे पूनरावलोकन वा नयाँ सन्धि नेपाल जे चाहन्छ भारत त्यसमा छलफल तथा बहस गर्न तयार छ ।

छिमेकीसँग भारत कस्तो सम्बन्ध राख्न चाहन्छ ?

धेरै राम्रो र सुमधुर सम्बन्ध राख्न चाहन्छ । घनिष्ठ सम्बन्ध हुँदा कठिनाईहरु त आउँछन् नि । तर यीनलाई हल गर्दै अघि बढ्नुपर्छ । परिवारमा त समस्या आउँछ । नेपाल र भारतबीच जुन समस्या छन्, यसमा विचारविमर्श गरेर समाधान निकाल्नुपर्छ । हल गर्नुपर्छ ।

उसो भए आउने दिनहरुमा अब समस्याहरु आउँदैनन् ?

समस्या तथा अप्ठ्याराहरु आएर एक ठाउँमा बसेर हल गर्नुपर्छ । भारतको चाहना भनेको नेपालमा विकास नै हो । अहिले नेपालमा संविधान कार्यान्वयन भएको छ । राजनीतिक स्थायित्व भएको छ । अब तेजमा विकास हुन्छ ।

दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन नेपालका प्रधानमन्त्री ओलीको भूमिका कस्तो होला भनेर यहाँले अपेक्षा गर्नुभएको छ ?

जब म नेपालमा राजदुत थिएँ, उहाँले मसँग भन्नुभएको थियो कि नेपालको कोहीपनि राष्ट्रवादी भारत विरोधी हुनैसक्दैन् भनेर । किनकी नेपाल र भारतबीच बलियो सम्बन्ध छ । सबै हिसाबले हामीबीच स्ट्रोंग कनेक्सन् छ । मलाई विश्वास छ, ओलीजीको नेतृत्वमा यो सम्बन्ध अझै बलियो हुन्छ । बढ्छ ।

ओलीको भारत भ्रमण आईसब्रेक हुनसक्छ ?

हेर्नुहोस् आईसब्रेक त पहिले नै भैसक्यो । मोदीजीले उहाँसँग तीन पटक कुरा गर्नुभयो । विदेशमन्त्री सुष्मा स्वराज ओली प्रधानमन्त्री बन्नुभन्दा पहिले नै नेपाल जानुभयो । त्यसैले आईसब्रेक भैसक्यो । उहाँको पहिलो विदेश भ्रमण भारत भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot