Logo

ऐन/कानून निर्माण र परिमार्जन गर्न आवश्यक : उपसभामुख



उर्लाबारी, मोरङ, २३ चैत : उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संविधान जारी भइसकेपछि नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भएको र तीनै तहका सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

महिलाको आन्दोलनकै कारण राज्यको प्रमुख तहमा महिला पुग्न सफल भएको बताउनु हुँदै उहाँले अझै पनि धेरै आन्दोलन र अभियान चलाउन बाँकी रहेको छ भन्नुभयो ।

नेपालमा महिला आन्दोलनको प्रकृति फरक रहेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, “आन्दोलन भनेको महिलाको अवस्था जस्तो छ त्यसलाई परिवर्तन गरेर अगाडि बढ्न उत्प्रेरित गर्ने एउटा अभियान हो ।”

उहाँले मोरङ जिल्लामा महिला हिंसाको चपेटामा परेका महिलाको पुनःस्थापनाका लागि एउटा सुरक्षित आवास गृह निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्