Logo

मोदीसँग भेटेपछि ओली उत्साहित : नेपालमा अब समृद्धिको युग सुरु



नयाँ दिल्ली, २३ चैत्र । तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज साँझ भएको भेटलाई ऐतिहाँसिक र फलदायीको संज्ञा दिएका छन् ।

शुक्रबार साँझ मोदीको सरकारी निवास रेस कोर्समा दुई प्रधानमन्त्रीबीच भएको वान-टु-वान भेटलगत्तै पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीले यस्तो बताएका हुन् ।

उता भारतीय प्रधानमन्त्री मोदीले पनि भेटपछि ट्वीट गर्दै नेपालका प्रधानमन्त्री ओलीसँग भेट्दा खुसी लागेको बताईसकेका छन् ।

धमलासँगको कुराकानीमा ओलीले भने,“ऋषि धमलाजी, मोदीजीसँगको आजको भेट उपलब्धिमूलक भएको छ, अत्यन्तै सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो, मैले समृद्धि र विकासमा मोदीको साथ पाएँ, अब नेपालको विकासको युग सुरु भयो ।”

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजिद डोभलले धमलालाई दिएको जानकारी अनुसार आज भएको मोदी-ओली भेटवार्ता अत्यन्तै फलदायी भएको छ । उनले भने,“भेटवार्ता राम्रो भएको छ, दुवै नेताले निकै खुशीसाथ कुराकानी गर्नुभयो, यो वार्तालाई ऐतिहाँसिक नै मान्नुपर्छ।”

त्यस्तै नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले पनि मोदी-ओली भेटवार्तालाई नेपाल भारत सम्बन्धमा एक माईलस्टोन भएको संज्ञा दिए ।

५४ सदस्यीय प्रतिनिधिमण्डल लिएर आज दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्