काठमाडौं, २४ चैत्र । नयाँ दिल्ली, २४ चैत्र । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भ्रमणलाई लिएर खुशी छन् । भ्रमणको दौरान ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपटक वान टु वान वार्ता भएको छ ।
वार्तामा भएका केही कुरा ओलीले आफ्ना निकट सहयोहीसग शेयर गरेका आधारमा यति बुझ्न् सकिन्छ कि मोदीले नेपालसँग विशेष सम्बन्ध राखेर अघि बढ्ने निधो गरेका छन् । अब नेपालमा स्थिर सरकार बनेको भन्दै मोदीले ओलीसग मनैदेखी सहकार्य गर्न इच्छुक रहेको प्रष्ट पारेका छन । मोदीसगको वार्तापछि ओलीपनि उत्साहित देखिएका छन् । उनी उत्साहित हुनुको अर्को कारण के पनि हो भने यसपटक परम्पराको निरन्तरतामा क्रमभंग गर्न उनी सफल भएका छन् ।
पहिलोपटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको आन्तरिक राजनीतिक मामिलामा छलफल र वक्तव्यमा परेन । जनमतको हिसाबले मोदीले आफुजस्तै शक्तिशाली प्रधानमन्त्री बनेका ओलीलाइ खुसी पार्न यसपटक कति पनि कन्जुस्याइँ गरेनन् ।
संयुक्त पत्रकार सम्मेलनमा पनि त्यो खुसी र प्रसन्नता प्रकट भयो । मोदीले ओली र आफ्नो नारा अब एउटै भएको भन्नू अर्थपूर्ण छ । कुनै नया र बिबादास्पद सम्झौता नगरी ओलीले भ्रमणलाई सद्भाव बिस्तार गर्नेमा सिमित पारेका छन् ।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालीहरुको मन जित्नेगरि बोलेको भ्रमण दलमा सहभागी मन्त्रीहरुले नै बताएका छन् । परराष्टमन्त्री प्रदिप ज्ञवालीले भने,“निकै उन्नती र प्रगति भयो।” द्धिपक्षीय सम्बन्धमा सकारात्मक प्रभावहरु परेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि मोदीले नेपाल र नेपालीहरुको मन जित्न सफल भएको प्रतिक्रिया दिए । उद्योगमन्त्री मात्रिका यादवले पनि मोदीको सम्बोधनले आफूहरुको मन छोएको बताए ।
उता उता भारतीय नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनलाई ऐतिहाँसिक र नेपाल भारत सम्बन्धमा उनको सम्बोधन आईसब्रेक भएको बताएका छन् ।
दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने आफूहरुको चाहना रहेको बताएका छन् ।
सम्बोधनको क्रममा मोदीले आफू र ओलीको विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताएका थिए । मोदीले सगरमाथाको देशलाई सागरसँग जोडिने बताए । त्यसैगरी काठमाडौंलाई रेलले भारतसँग जोड्नेसमेत बताएका थिए ।
सम्बोधनको क्रममा ‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले समृद्धि नेपाल र भारतको संयुक्त एजेण्डा भएको पनि बताएका थिए ।
मोदीको सम्बोधनपछि नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय नेताहरुले संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र नेपालीहरुको मन जितेको बताए ।
भारतका पेट्रोलियम एवम् नेचुरल ग्याँसमन्त्री धर्मेन्द्र प्रधानले धमलासँगको कुराकानीमा भने,“मोदीजीले नेपालीहरुको मन जितेका छन्, उहाँले नेपालको विकासमा भारतले हरतरहाको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। यो खुशीको कुरा हो।”
भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि मोदीले नेपालको विकासप्रति चिन्ता लिनुभएको बताए । उनले भने,“उहाँको एकमात्रै चिन्ता भनेको नेपाल र नेपालीहरुको विकास चाँडै होस् भन्ने नै छ, नेपालको समृद्धिको यात्रामा भारतको बलियो साथ रहने कुरा मोदीजीले बताउनुभयो, यो सुखद् पक्ष हो।”
ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ । मन्त्री सिंहले थपे,“मोदीको साथ नेपालतिर छ, उहाँको सम्बोधनपति म उत्साहित भएँ । मोदीको भाषण नेपाल भारत सम्बन्धको लागि आईसब्रेक भयो ।”
त्यस्तै कन्जुमर अफेयर्स मन्त्री रामभिलास पासवानलेपनि मोदीको आजको सम्बोधनलाई ऐतिहाँसिक भएको बताउँदै मोदीले नेपालीहरुको मन जितेको विश्वास दिलाए । पासमानले आजको सम्बोधनसँगै नेपाल र भारतबीचको रहेका सबैखाले अविश्वास हटेको दाबी गरे ।
त्यस्तै अर्थमन्त्री अरुण जेट्लीले पनि भारतले नेपालको आर्थिक विकासमा दिल खोलेर सहयोग पुर्याउने बताउँदै मोदीको आजको सम्बोधनलेपनि त्यही मार्गदर्शन गरेको सुनाए ।
भारतीय सत्तारुढ दलमात्रै नभएर प्रतिपक्षी दल कंग्रेस आईका नेताहरुलेपनि आज मोदकिो सम्बोधनको खुलेरै प्रशंसा गरे । नेता मणिशंकर ऐरले पनि मोदीले राम्रो बोलेको बताए । नेपालमा अब विकास र समृद्धिको बारी आउने उनको विश्वास छ ।
अर्का नेता डा. करण सिंहले पनि मोदीले आज एकदम राम्रो बोलेको सुनाए । धमलासँगको संक्षिप्त कुराकानीमा सिंहले भने,“मोदीजीले साँच्चिकै आज धेरै राम्रो बोल्नुभयो, दुई देशबीचको सम्बन्धलाई सही ढंगले अघि बढाउने उहाँको स्पिरिट छ, यसलाई आगामी दिनमा अझै मजबुद बनाउँदै लानुपर्छ ।”
त्यस्तै भाकपा माक्र्सवादीका महाचिव सिताराम यचुरीले पनि मोदीले बोलेको कुरा व्यवहारमा उतार्न सके द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपिने विश्वास दिलाए ।