चैत २५, काठमाण्डौ । शनिबार नेपाली काग्रेस तनहुले चुनावमा आफ्नै पार्टीहित विपरित गतिविधि गरेर नतिजा प्रभावित पारेको आरोपमा ६ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
शनिवार सदरमुकामा दमौलीमा बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई हराउन मुख्य निर्वाह गरेको भन्दै पूर्व सह—महामन्त्री गोविन्दराज जोशी सहित अन्य ५ जनालाई कार्वाहीका लागि सिफारिस गरेको हो ।
कार्यबाहक सभापती श्री जित प्रकाश आलेको सभापतित्वमा बसेको बैठकमा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, पूर्व सभापतिद्धय रघुनाथ पौडेल र धु्रव वाग्ले सहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्वाहीका लागि सिफारिस गरिनेमा जोशीका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्थ, नेपाली काग्रेस काग्रेसका महासमिति सदस्य एवं विपी काग्रेसका महामन्त्री पुष्प पराजुली, विपी काग्रेसका मुख्य सचिव हरि वाग्ले , विपी काग्रेसका तर्फबाट क्षेत्र नं २ का उम्मेदवार बनेका महाधिवेशन प्रतिनिधी यामबहादुर आलेलाई समेत कार्वाहीका लागि सिफारिस गरिएको छ ।
त्यस्तै कार्वाहीका लागि सिफारिस गरिएका व्यक्तिहरु सहभागी कार्यक्रममा सहभागी नहुन समेत पार्टीले कार्यकर्तालाई निर्देशन दिएको छ । त्यसैगरी चुनावमा पार्टीले हारेपछि नैतिकताको अधारमा राजिनामा दिएका तनुहुँ कांग्रेसका सचिव विश्व वास्तोलाले नेताहरुको अनुरोधलाई स्वीकार गर्दै राजीनामा फिर्ता लिएका छन् ।