चैत २५, काठमाण्डौ । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको घटनाको विश्व हिन्दू परिषद नेपलाले आपत्ति जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै परिषदले गोली प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर भत्र्सना गरिएको उल्लेख गरेको छ ।
दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्तिमा लेखिएको छ, “घटनामा सलग्न जो कोहीलाई तुरुन्त ठोस कानुनी कारबाही गर्न प्रशाससँग अपिल गर्दछ । सनातन हिन्दु सन्त माथि घटाइएको यस घटनाले सम्पूर्ण सनातन हिन्दु समाजलाई आहात बनाएको छ ।”
साथै हिन्दु धर्मलाई समाप्त पार्ने उद्देश्यले घटना घटाइएको भन्दै परिषदले शान्ति सुरक्षाको वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।
हिन्दुविरोधी तत्वहरुले बेलाबेलामा हिन्दुवादीहरुलाई धम्की दिने गरिएकोसमेत परिषदको दाबी छ ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको भत्सर्ना गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘अपराधी पत्ता लगाउने कार्यमा सरकारले तत्काल गम्भीर तदारुकता देखाओस र कानुन बमोजिम कारबाही होस भन्ने माग गर्दछु ।’
उनले श्रीनिवासको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
अज्ञात समुहको गोली लागेर घाइते भएका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
विरानगरको जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहमा सहभागी हुन शनिबार बेलुकी कार्यक्रमस्थलमा पुगेका उनीमाथि अज्ञात समुहले गोली चलाएको हो ।
उनीमाथि दुई राउण्ड गाली प्रहार भएको छ । प्रहरीका अनुसार गोली दायाँ छाती र कुम मुनि लागेको छ ।
घटनास्थलमा धार्मिक खलल पुराउने खालका पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । जसमा राजसंस्था र राजाको तिखो आलोचना गरिएको छ । केही दिनअघि पूर्वराजा विराटनगर पुगेका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।