ऋषि धमला : नयाँ दिल्ली, २५ चैत । तीन दिने भारतको राजकीय भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किँदैछन् । उनी राति ८ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
भारत भ्रमणको सुरुवात अर्थात् पहिलो दिनदेखि नै प्रफुल्लित थिए । उनको हाउभाउले त्यो प्रष्ट देखाउँथियो । ईन्दिरा गान्धी एयरपोर्टमा उनलाई रिसि गर्न भारतकै शक्तिशाली नेता एवम् गृहमन्त्री राजनाथ सिंह आए । सिंहको न्यानो स्वागत आतिथ्यताले ओली निकै खुशी देखिएका थिए । भारत भ्रमणको पहिलो दिनमै ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सरप्राईज दिए । ओली–मोदीबीचको एक्लाएक्लै भेटवार्ताले नेपालमा मात्रै नभएर भारतमा पनि तरंग पैदा गरेको थियो ।
ओलीको लागि सुखद् कुरा त के रह्यो भने मोदीलाई भेट्नुअघि उनले कंग्रेस आईका अध्यक्ष राहुल गान्धी र पूर्वप्रधामन्त्री मनमोहन सिंहसँग भेट गरेका थिए । गान्धी र सिंहबीचको भेटमा ओली निकै उत्साहित थिए । ओलीले मसँगको संक्षिप्त कुराकानीमा भने,‘बडो सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो, उहाँहरु नेपालको विकासप्रति चिन्तित हुनुहुन्थ्यो, नेपालको विकासमा भारतको सदैव सहयोग र सद्भाव रहने विश्वास दिलाउनुभएको छ।’
त्यस्तै ओलीले समकक्षी मोदीसँग पनि खुलेर कुरा भएको जनाए । उनी प्रफुल्लित थिए । मोदीले पनि ओलीसँगको एक्लाएक्लै भेटवार्तामा जनमत पाएकोमा खुशी व्यक्त गर्दै सम्मान प्रकट गरेका थिए । मोदीले ओलीलाई विकास र समृद्धिको लागि हौसला प्रदान गरे ।
भ्रमणको दौरानमा भएका प्रायः सबै कार्यक्रममा ओलीले घण्टौं भाषण गरे । सम्बोधनमा पनि उनले विकास र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर द्धिपक्षीय हितका बारेमा भारतीय पक्षसँग कुराकानी भएको सुनाएका थिए । नेपालमा लगानी भित्र्याउन उनले भारतीय व्यापाीहरुसँग विशेष अन्तरक्रिया समेत गरे । उनले व्यापारीहरुसँग खुलेर कुरा गरे । उनी नयाँ नमूनाका साथ पेश भए । उनले नेपाल लगानीको लागि सुरक्षित छ भन्दै लगानीको लागि व्यापारीहरुलाई प्रोत्साहन गर्न भ्याए ।
त्यस्तै दिल्लीस्थित् नेपाली दुतावासको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि खुलेर कुराकानी भएको सुनाए । सम्बोधनको क्रममा उनले भनेका थिए,‘नेपाल र भारतबीच रहेका सबै खाले अविश्वास हट्यो, अब सम्बन्ध नयाँ अध्यायबाट सुरु भएको छ।’
समकक्षी मोदीसँगको वान टु वान भेटवार्तापछि उत्साहित भएर उनी दुतावासले आयोजना गरेको डिनरमा सरिक भएका थिए । डिनरमा भारतीय बरिष्ठ नेताहरु र मन्त्रीहरु आएका थिए । प्रधानमन्त्री मोदीको सुरक्षा सल्लाहकार अजित दोभल पनि उपस्थित् थिए । कलाकारहरुले राम्रै साथ दिए । भाजपाका महासचिव रामलालदेखि चर्चित नेताहरुको उपस्थिति देख्दा भारतले ओलीको सम्मानको लागि कुनै कसर बाँकी राखेन् ।
भ्रमणको भोलिपल्ट ओलीको सम्मानको लागि गार्ड अफ अनर दिईयो । उक्त अनरपछि उनी झनै उत्साहित भए । गार्ड अफ अनरमा पनि उनले मोदीबाट हार्दिकता पाए । त्यही दिन उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेटे । राष्ट्रपति कोविन्दसँगपनि उनको खुलेरै कुराकानी भएको थियो । राजघाट अवस्थित् महात्मा गान्धीको समाधिमा गएर पुष्पगुच्छा अर्पण गरे ।
ओलीले मोदीसँग प्रतिनिधिमण्डलसहित सामूहिक भेटवार्ता गरे । उनीहरुबीच राम्रो कुरा भएको कुरा बाहिर आएकै छ । मुख्य कुरा दुवै नेताहरुबीच यसपटक विकास र समृद्धिको विषयमा नारा मिलेका छन् । संयुक्त पत्रकार सम्मेलनमा यो कुरा भारतीय प्रधानमन्त्री मोदीले स्पष्टसँग राखिदिए । उनले नेपालमा सागरको पहुँच पुर्याउने र कृषि क्रान्तिदेखि रेलवे पुर्याउने बताए ।
मोदीले आफ्नो ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल खुसी नेपाली’ को नारा एकअर्काका पूरक भएको बताएका थिए ।
भ्रमणकै दौरान मसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले भने,‘म यसपटक सफल भएँ, ऋषिजी म खुशी छु । भ्रमण सफल भयो, फलदायी भएको छ, नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ।’
भ्रमणको दौरान ओलीमा खुशीमात्रै देखिन्थ्यो । उनमा कुनै किसिमको थकान देखिएन् । मोदीबाट पाएको न्यानो आतिथ्यता र सम्मानले उनको आत्मविश्वस झनै बलियो बन्यो । यसर्थ ओलीको यो भ्रमणसँगै ओलीले मोदीको र मोदीले ओलीको मन जितेका छन् । पहिलोपटक संयुक्त पत्रकार सम्मेलनमा राजनीतिक कुरा उठ्ने । ओलीको भ्रमण यसर्थ विवादित पनि बनेन् ।
मोदीले नेपालको विकासमा भारत सँधै सहयोगी बन्ने वचन दिए । उनले यो कुरा संयुक्त पत्रकार सम्मेलनमा पनि दर्शाए । नेपालको विकासमा भारत सारथी बन्नेभयो । नेपालले चीनको सहयोगमा अघि बढाउने भनिएका परियोजनाहरु पनि आँफै बनाईदिन मोदी तयार भए । उनले यसको सुरुवात उनले वीरगन्जको एकीकृत जाँच चौकीको उद्धघाटन र अमलेखगन्ज–मोतिहारी पेटा«ेलियम पाईपलाईनको शिल्यान्यास गरेर देखाईसकेका छन् ।