काठमाडौं, २५ चैत्र : भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भारतको राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरुसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए । स्वदेश फर्किएलगत्तै विमानस्थलमा नै पत्रकारहरुलाई भ्रमण बारे जानकारी दिँदै उनले भारतसँगको सम्बन्ध राम्रो भएको जानकारी दिए।
उनले नेपालले भारतसँग सदैव राम्रो सम्बन्ध राख्न चाहेको र अर्को पक्षले सम्बन्ध नबिगारे कहिल्यै पनि सम्बन्ध नबिग्रिने बताएका छन्। उनले भारतसँग विगतमा र अहिले भएका सम्झौता छिटो भन्दा छिटो कार्यन्वयन गर्नु पर्ने विषयमा पनि दुवै पक्ष सहमत रहेको पनि जानकारी दिए।
भ्रमणपछि दुई देशको सम्बन्ध कस्तो हुन्छ भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा ओलीले भने,”जनता जान्न चाहन्छन् ऋषिजी, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन, तस्वीर आफैं बोल्छ ।कसैले विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ।”
ओलीले भारतसँग दुईपक्षीय सम्बन्धका सबै विषयमा खुलस्त र सकारात्मक छलफल भएको बताए । लिखित–अलिखित सहमतिहरुलाई मूर्तरुप दिन आफूहरु निरन्तर लागिरहने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच सुल्झन बाँकी विषयलाई उछाल्ने नभइ अब गम्भीर वार्ताबाट समाधान खोज्ने पनि बताए ।
भ्रमणकाक्रममा कुनै बनावटी कुरा नभएको भन्दै उनले आफू लोकतान्त्रिक प्रक्रियाबाट आएको अभिमत बोकेर भारत गएको र त्यसलाई भारतले पनि स्वागत गरेको उल्लेख गरे ।
तस्विर : मुकुन्द कालिकोटे