काठमाडौं, २६ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले नेपालको विकास र समृद्धिमा आफूहरुले सक्दो सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भ्रमणमा सहभागी भएका अध्यक्ष भट्टसँग पत्रकार ऋषि धमलाले नयाँ दिल्लीमै गरेको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले यसपटक एनआरएनएका अध्यक्षलाई समेत भ्रमण टोलीमा सहभागी गराए ।
उनले पनि सोही अनुसार क्षमता प्रर्दशन गरे । भारतीय सरकारी प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुसँग घुलमिलपनि राम्रो थियो । समृद्धि र विकासबारे उनको प्रस्तुति र भिजन लोभलाग्दो थियो ।
FILE PHOTO (President of Non-Resident Nepali Association (NRNA Mr. Bhaban Bhatta with Prime Minister KP Sharma Oli)
धमलासँगको कुराकानीमा उनले भने,”एनआरएनएमार्फत दश अर्बको लगानी कोष हामी बनाउँदैछौं, अब नेपालको विकासमा हाम्रो सक्दो सहयोग पुर्याउँछौं, मातृभुमिको विकासप्रति हामी चिन्तित छौं, देश बनाउने भनेको हामीले नै हो, अरुले बनाउँदैन्।”
वर्तमान प्रधानमन्त्री ओलीले पनि भट्टको विकास र समृद्धिको प्रतिबद्धतामा खुशी व्यक्त गरेका छन् । विकास र समृद्धिको युगमा एनआरएनएको बलियो साथ रहने उनले बताउँदै आएका छन् । उनले धमलासँगको कुराकानीमा भने, “मुलुक समृद्ध बनाउने अभियानमा प्रधानमन्त्री ओलीलाई एनआरएनको पूर्ण साथ छ ।”
उनले यो समय नेपालमा लगानी गर्न सबैभन्दा उपयुक्त समय भएको बताएका छन् । अध्यक्ष भट्टले भ्रमणको दौरान भारतीय लगानीकर्ताहरुलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्न भ्याए ।
उनले धमलासँग भने,‘वर्तमान प्रधानमन्त्री ओलीजीको नेतृत्वमा रहेको नयाँ सरकारले नेपाललाई सम्मृद्ध बनाउने संकल्पा गरेको छ, यसलाई पूरा गर्नका लागि नेपाललाई ठूलो लगानी चाहिएको छ, हामी एनआरएनए त योगदान पुर्याउन तयार छौं, सबैले यो महाअभियानमा साथ दिनुपर्छ।”
१६ बर्षअघि भाषा अध्ययन गर्ने बिद्यार्थीरुपमा जापान प्रवेश गरेका भट्ट यतिबेला जापानका नेपालीहरुवीच सफलताको प्रतिक बनेका छन् । ब्यबसाय सुरु गरेको १० बर्षको अबधिमा उनले जापानमा ब्यबसायीक साम्राज्य खडा गरेर रैथानेहरु पनि छक्क पर्ने प्रगति गरेका छन् ।
‘शेर्पा’ नेपाली रेष्टुँराबाट आफ्नो ब्यबसायीक करियर सुरु गरेका भट्टले अहिले जपानमा ७० वटा भिन्न ब्राण्डमा ७८ वटा रेष्टुँरा संचालन गर्छन् । जहाँ ३ हजार जनाले रोजगारी पाएका छन भने बाषिर्क ४५ प्रतिशतका दरले उनको सेल्स बृद्धि भइरहेको छ ।
उनले एनआरएनभित्रपनि लाप्राक नमूना वस्ती ,एनआरएन भवन निर्माण ,भिजन ट्वान्टी –ट्वान्टी एण्ड वियोन्डको निरन्तरता दिने बताउँदै आएका छन् । उनले सामुहिक लगानीका परियोजना निर्माण ,अतिथी देवो भव ,वैदेशिक रोजगार कोषको विस्तारलाई आफ्नो एजेण्डा बनाएका छन् ।