काठमाडौं,२७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
दुई नेताहरुबीच भएको छलफलमा सहमतिमै आईजीपी नियुक्ती गर्ने सहमति बनेको स्रोतको दाबी छ । आईजीपी नियुक्तीमा अनावश्यक विवादमा पर्दा पार्टी एकतामै समस्या हुने देखिएपछि दुई नेताहरुबीच आज छलफल भएको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्ती गरिने बुझिएको थियो । तर, यसबारेमा प्रधानमन्त्री ओलीले निर्णयको लागि थप परामर्श आवश्यक रहेकोले आज निर्णय हुनबाट टरेको थियो । मन्त्रिपरिषदको बैठक लगत्तै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।
ओली र प्रचण्डबीच योग्य र क्षमतावान व्यक्तिलाई नै आईजीपी बनाउने समझदारी बनेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि सरकारले सके आजै साँझ नभए भोलि दिउँसोसम्म आईजीपी नियुक्ती गर्ने जानकारी दिएका थिए । उनले पनि सरकारले योग्य र सक्षम व्यक्तिलाई नै आईजीपी बनाउने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले आईजीपीका दाबेदारमध्ये जो पनि आईजीपी बन्नसक्नुहुनेछ।’