काठमाडौँ, २८ चैत : नेकपा (एमाले) का नेता माधवकुमार नेपाल आज स्वदेश फर्कनु भएको छ । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन : मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उहाँ स्वदेश फर्कनुभएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।
चार दिनसम्म चीन रहँदा उहाँले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नुभएको सचिव रिजालले बताउनुभयो ।
एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा राख्नुभएको थियो । (रासस)