Logo

फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे



वासिंटन, २८ चैत । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् ।

जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो कम्पनीमाथि मानिसको विश्वास कायम राख्नका लागि विभिन्न सुधारका काम भइरहेको जानकारीसमेत दिए ।

उनले भने, ‘हामीले पर्याप्त रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेनौं, तर अब प्रयोगकताहरुलाई सतर्क तुल्याउन र आवश्यक सुरक्षा प्रवन्धका काम गरिरहेका छौं ।’

उनले डाटा चोरी हुनुमा आफ्नो ठूलो गल्ती रहेको बताए । ‘यो मेरो गल्ती हो, मलाई यसमा अफसोस छ,’ उनले भने, ‘मैले फेसबुक सुरु गरेँ, त्यसलाई सञ्चालन गरेँ, यसमा जे भइरहेको छ, त्यसका लागि म नै जिम्मेवार छु ।’

उनले डाटा चोरी हुन सक्ने टुल्सका बारेमा आफूहरुले सुरक्षा प्रवन्धका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन नियम तथा प्राविधिक सुधार गरिने प्रतिबद्धतासमेत जनाए । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्