चैत २९, काठमाण्डौ । प्रदेश ७ सरकारले नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार प्रदेशसभा बैठकमा १८ बुँदे नीति तथा कार्यक्रम पाठ गरेका हुन् ।
उक्त नीति तथा कार्यक्रममा जिल्ला प्रशासन कार्यालयलाई नमूना बनाउनेदेखि गुनासो व्यवस्थापनका लागि हेलो सीएम कार्यक्रम सञ्चालन गर्नेसम्म उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवर्द्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, नीजि एवम् सहकारी क्षेत्रको सहभागीतालाई प्रदेश सरकारले प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
यस्तै संविधानले अंगिकार गरेका विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, आर्थिक सामाजिक विकास, सीमान्तकृत, बञ्चितिकरणमा परेका, फरक क्षमता भएकाहरुको उत्थान एवं सामाजिक पुनस्र्थापनाका साथै सबै प्रकारका भेदभाव अन्त्य गरी सामाजिक न्याय तथा मानवअधिकारको सुनिश्चित गर्ने तर्फ प्रदेश सरकार प्रतिबद्ध रहने उल्लेख छ ।
प्रदेश नम्बर सातका सासंद भरतबहादुर खड्काले प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आशलाग्दो नभएको बताएका छन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका खड्काले एमाले र माओवादी मिलेर बनेको प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा भरोसा ल्याउन नसकेको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा पनि आशंका देखिएको बताए ।
वाम गठबन्धनको सरकार भए पनि सबै पक्षलाई समेटेर साथ लिएर अगाडि बढ्न प्रदेश सरकारलाई उनले सुझाब दिए ।