Logo

अब पदाधिकारी चयन गर्न आवश्यक छैन् : चन्द्र भण्डारी



चैत ३०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसको विधानअनुसार केन्द्रिय समिति निर्वाचित भएको दुई महिनाभित्र पदाधिकारी चयन हुनुपर्ने भए पनि दुई वर्षसम्म हुन नसक्नु दुखद भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले अर्को महाधिवेशन गर्ने प्रक्रिया सुरु हुने बेला भइसकेपछि बल्ल पदाधिकारी चयन गर्ने प्रयास गरिनु नेतृत्वको कमजोरी भएको बताए ।

“पदाधिकारी चयन गर्ने समय नै गइसक्यो । पहिले नै गरिदिएको भए हुन्थ्यो । अब अहिले गर्नुको आवश्यकता छैन ।” भण्डारीले भने ।

पार्टीभित्र आफूहरुले सल्लाह र सुझाब दिने गरे पनि नेतृत्वले वेवास्ता गर्दा पार्टी कमजोर बनेको उनको भनाई छ ।

नेता भण्डारीले नेपालमा भ्रष्टाचार मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रसेवक कर्मचारीदेखि जनप्रतिनिधीसम्म सबै राष्ट्रहितमा केन्द्रित हुन नसक्दा भ्रष्टाचार मौलाएको उनले बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि सरकारले चासो नदिएको उनको भनाई छ । केपी ओली नेतृत्वको सरकारले पनि कुरा धेरै काम थोरै गरेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण हुनेमा आशंका व्यक्त गरे ।

समाज र देशका लागिभन्दा पनि आफू कसरी धनी हुने भन्ने कुरामा जिम्मेवार व्यक्तिहरु केन्द्रित हुँदा देशमा परिवर्तन हुन नसकेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्