Logo

संचारजगत कागले कान लग्यो भनेर कागको पछाडि दौडिरहेको छ : निर्वाचन आयुक्त पौडेल



चैत ३०, काठमाण्डौ । सरकारी आय–व्ययको अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रपतिसमक्ष बुझाईको प्रतिवेदनमा अधिकांश सरकारी निकायले जथाभावी खर्च गरेको देखिएको छ भने सेवा सुविधामा चरम लापरबाही गर्ने गरेको भेटिएको छ ।

यस वर्ष सबै तहको निर्वाचन सम्पन्न गरेर स्याबासी पाएको निर्वाचन आयोगले निर्वाचनको नाममा आर्थिक अनियमितता गरेको खुलासा प्रतिवेदनले गरेको छ ।

तर निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले भने प्रारम्भिक प्रतिवेदनका आधारमा जथाभावी आरोप नलागाउन आग्रह गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले महालेखा परिक्षकको प्रतिवेदन राम्रोसँग पढेपछि मात्रै विश्लेषण गर्नुपर्ने बताए ।

“अहिले त मलाई के लाग्यो भने कागले कान लग्यो भनेर कागको पछिपछि दौडिनेको संख्या संचारजगतमा बढेको छ ।” पौडेलले भने ।

प्रतिवेदनले निर्वाचन आयोगमा अनियमितता भएको वा भ्रष्टाचार भएको भनेर कतै पनि उल्लेख नगरिएको उनको भनाई छ ।

“रातदिन बसेर काम गरेका छौँ । ९२ वटा ऐन अरुलाई बनाउन दिएको भए कति खर्च हुन्थ्यो । हामीले रातभरी बसेर बनायौँ । यो देश कस्तो ? निर्वाचन आयोगले यति छोटो समयमा आठवटा चरणको निर्वाचन गर्यो । कसरी गर्यो होला भनेर एप्रिसियट गर्नुको सट्टा निर्वाचन आयोगविरुद्ध सबै मिडिया खनिने ?” उनले भने ।

“तपाईहरुजस्तो मिडियाकर्मीले प्रारम्भिक प्रतिवेदनमा भएका कुरा मात्रै भन्नुपर्यो । न कि यत्तिकै भ्रष्टाचार भयो भनेको भरमा दौडिनुपर्यो ।” पौडेलले भने ।

सबै काम नियमअनुसार मितव्ययी तरिकाले गरेको उनको दाबी छ । निर्वाचनका बेला सबैले देखेजस्तो सहज रुपमा सिमित स्रोत साधनले काम गर्न सकिने अवस्था नरहेको उनले बताए ।

“आयोगले गरेका सबै निर्णय सुरक्षित छ । यदी हामीले अनियमित गरेको भए अनुसन्धान हुन सक्छ । सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै अनुसन्धान गर्न सक्छ ।” पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्