काठमाडौं, ३० चैत । गन्तव्य नेपाल ग्रुपले यो वर्षको पत्रकारिताको वर्ष पुरुषबाट रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ ।
शुक्रबार राजधानीको ठमेलमा नयाँ वर्ष २०७५ सालको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष कार्यक्रममा धमलालाई सम्मान गरिएको हो । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले धमलालाई सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले यो वर्ष पत्रकारितामा धेरै ठूलो काम भएको भन्दै प्रशंसा गरे । उनले भने,‘निर्वाचन सम्पन्न गराउन पत्रकार ऋषिजीले उल्लेखनीय भूमिका खेल्नुभयो, उहाँले विभिन्न माध्यमबाट निर्वाचनविशेष बहस सञ्चालन गर्नुभयो, म उहाँको योगदानको उच्च मुल्यांकन गर्दै खुलेर प्रशंसा गर्न चाहन्छु ।’
थापाले अब समृद्धि र विकासको यात्रा पनि पत्रकार धमलाबाट सुरु हुने विश्वास दिलाए । उनले पछिल्लो समय भाषणमात्रै भैरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘सबै मिलेर चूनौति पार गर्नुपर्छ, नयाँ वर्ष निराशाजनक नहोस् । मेरो यही कामना छ।’
सम्मानित भएसँगै संक्षिप्त प्रतिक्रिया राख्दै पत्रकार धमलाले भने,‘अबदेखि म सकारात्मक सोच राखेर जनसरोकारको विषयवस्तुमा बहस गर्छु । मेरो मान्यता भनेको अब ग्रामिणमुखी पत्रकारिता गर्नुपर्छ, म जनतालाई विकासको मूल प्रवाहमा समेट्नेगरि बहस चलाउँछु ।’
धमलाले सम्पन्न र समृद्धिशाली मुलुक निर्माणको लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको संकल्पको आधारमा अघि बढ्नुपर्ने धारण राखे ।
स्वरसम्राट रोधी क्लबद्धारा पत्रकार धमला सम्मानित
त्यस्तै स्वरसम्राट रोधी क्लबले स्रष्टा सम्मान २०७४ बाट रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ ।
उत्कृष्ट पत्रकारिता गरेबापत धमलालाई सम्मान गरिएको उक्त संस्थाले जनाएको छ । नेपाली पत्रकारितामार्फत देशका जल्दाबल्दा समस्या समाधान गर्न रिपोर्टर्स क्लब र यसका सभापति धमलाले उल्लेखनीय योगदान पुरएको क्लबका प्रबन्ध निर्देशक नविन बुढाथोकीले जनाए । धमलालाई बुढाथोकीले नै खादा तथा ताम्रपत्र दिएर सम्मान गरेका हुन् ।
सम्मानित भएपछि संक्षिप्त सम्बोधन गर्दै पत्रकार धमलाले देशमा विकास र समृद्धिको युग सुरु भएको बताए । धमलाले भने,‘अब मुलुकमा विकासको युग सुरु भयो, हामी सबैले हाम्रा गतिविधिहरुलाई समृद्धि केन्द्रित गर्नुपर्छ, सबैले आ–आफ्नो क्षेत्रबाट ठोस योगदान पुर्याउनुपर्छ।’